२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

मधेसमा अवैध हतियारको त्रास

पुस १८ गते महोत्तरीको लोहारपट्टी नगरपालिका–९ पिपराडिबाट सशस्त्र प्रहरीले पेस्तोलसहित सोही ठाउँका २४ वर्षीय मोहम्मद राजा कवाडीलाई पक्राउ गर्‍यो।

मेड इन युएसए लेखिएको एक नाले पेस्तोल र लागुऔषधसहित उनलाई आवश्यक कारबाहिका लागि नेपाल प्रहरीलाई बुझाइएको थियो। पुस ११ गते बाराको परवानीपुर गाउँपालिका–४ चैनपुरका २४ वर्षीय सनोर देवानलाई प्रहरीले लक्ष्मी नारायण दुर्गा मन्दिर परिसरबाट १ थान कटुवा पेस्तोलसहित पक्राउ गर्‍यो।

पुस १५ गते बाराबाटै सशस्त्र प्रहरीले हतियारसहित दुई भारती युवालाई पक्राउ गर्यो। भारत बिहार राज्यको पूर्वी चम्पारण मोतिहारी डेका ग्रामपंचायत–१३ का २१ वर्षीय चन्दन राम र २० वर्षीय अभिषेक कुमारलाई बाराको सिम्रौनगढ नगरपालिका–८ नहरको बाटो हुँदै भारतबाट नेपाल आउँदै गर्दा पक्राउ परेका हुन।

उनीहरू बीआर–५०५ एजे ४४२०९ नम्बरको भारतीय नम्बर प्लेटको मोटरसाइकलमा पारिबाट वारि आएका थिए। उनीहरूलाई अटोमेटिक युएसए लेखेको १ थान पेस्तोल, ७.६५ एमएमको २ राउन्ड गोली, त्यसमा प्रयोग हुने एकवटा म्याग्जिन, चक्कु, लागुऔषध गाँजा दुई सय ग्रामसहित पक्राउ परेका गरिएको थियो। सशस्त्र प्रहरी प्रदेश २ का प्रमुख डिआइजी गणेश ठाडाका अनुसार पक्राउ परेकाहरूलाई आवश्यक कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाइएको छ।

सीमापारिबाट साना हतियार प्रदेश २ मा मात्र नभई प्रदेश १ को सीमावर्ती जिल्लमा समेत भित्री रहेको पाइएको छ। सुनसरी कोसी गाउँपालिका–१ लौकहीबाट दुई साताअघि स्वचालित पेस्तोलसहित दुई भारतीय नागरिक पक्राउ परे।

हतियारसहित भारत अररिया जिल्ला वासमतिया–६ का ३५ वर्षीय विद्यानन्द राम र सोही ठाउँका ३१ वर्षीय हसिम अन्सारी पक्राउ परेका थिए। उनीहरूको साथबाट प्रहरीले दुई नाल पेस्तोलको साथमा चारवटा म्यागजिन र तीन राउन्ड गोली समेत वरामद गरेको थियो।

गत कात्तिक ११ गते सिरहाको विष्णुपुर गाउँपालिका–२ राजपुरका किसन धामीको गोली हानी हत्या भयो। मंसिर १६ गते प्रहरीले धामी हत्यामा संलग्न रहेको आरोपमा सोही गाउँका सुशील यादव र प्रमोद यादवलाई पक्राउ गर्‍यो।

प्रहरीले उनीहरूविरुद्ध कर्तब्य ज्यानको कसुरमा मुद्दा दर्ता गर्यो। यादवद्वय जिल्ला अदालतको आदेशमा पूर्व पक्षका लागि जेल चलान भए। धामी हत्यमा साना हतियारकै प्रयोग भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी सुभाष बुढाथोकीले बताए।

अवैध हतियारको बिगबिगीका कारण सीमावर्ती गाउँसहरमा हत्या हिंसाका घटना बढ्ने क्रममा छन्। सामान्य झगडा र लेनदेन विवादमा अवैध हतियार प्रहार गर्ने र ज्यानै लिनेसम्मका घटनामा ‘स्वचालित’ पेस्तोल प्रयोग भएको पाइन्छ।

प्रदेश २ का ८ वटै जिल्ला र प्रदेश १ का सुनसरी, मोरङलगायतका जिल्ला भारतसँग जोडिएका छन्। खुला सिमानाका कारण सीमा वारपारको उठबस र सम्बन्धले आपराधिक गतिविधिलाई पनि मलजल गरेको प्रहरी अधिकारीहरू बताउँछन्। प्रहरीले बेलाबेला बरामद गरेका साना हतियार सीमापारि भारतबाट भित्र्याएको पाइएको छ।

प्रदेश प्रहरी कार्यालय जनकपुरका अनुसार प्रदेश २ का ८ जिल्लामा आर्थिक वर्ष २०७५/७६ मा ४५ थान अवैध हतियार बरामद भएका थिए भने त्यसमा संलग्न ५७ जना पक्राउ परेका थिए।

आर्थिक वर्ष २०७६/७७ मा ७१ थान अवैध हतियार बरामद भएको थिए भने त्यसमा संलग्न ९२ जना पक्राउ परेको प्रहरी तथ्यांक छ। गत वर्ष ५३ थान अवैध हतियार बरामद भएको र त्यसमा संलग्न ६८ जना पक्राउ परेको प्रहरीले जनाएको छ। चालु आर्थिक वर्षको मंसिरसम्म १२ थान हतियार बरामद भएका छन् भने त्यसमा संलग्न रहेका १९ जनालाई प्रहरीले पक्राउ गरेको छ।

अवैध हतियार नियन्त्रणमा नेपाल–भारत खुला सीमा मुख्य चुनौती रहेको प्रहरी अधिकारीहरू बताउँछन्। नेपाली–भारतीय अपराधीहरूबीच रहेको सञ्जालका कारण साना हतियार नियन्त्रण सीमावर्ती जिल्लाहरूमा चुनौतीपूर्ण बनेको छ। पारिका अपराधिबाट वारिकाले स्वचालित र अर्धस्वचालित हतियार भाडामा ल्याएर समेत अपराध कर्म गरेको पाइएको छ। यहाँको समाजमा एउटा प्रवृत्ति के देखिएको छ भने घरमा अवैध हतियार राख्दा त्यस्तो हतियार राख्नेले छरछिमेकमा गर्व अनुभव गर्छन्।

मान्छे मार्नभन्दा पनि तर्साउन अवैध हतियार घरमा लुकाएर राख्ने गरेको उनीहरूको भनाइ छ। लुकाउन सजिलो भएकाले साना अवैध हतियार नियन्त्रण उति सजिलो नभएको प्रहरी अधिकारीको अनुभूति छ। करिब चार सय ६४ किलोमिटर खुला सीमा नाका रहेको प्रदेश २ मा हरप्रहर निगरानी राख्न पनि कठिन छ। अर्को समस्या घरघरमा साना अवैध हतियार खानतलास गर्न कानुनी झन्झट पनि छ। प्रहरीको सक्रियाताले हतियार र हतियारधारी व्यक्ति पक्राउ पर्ने क्रम बढेको देखिन्छ।

प्रकाशित: २८ पुस २०७८ ०४:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App