१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

पत्रकार निरौला र पर्यटनविद् शेर्पाले राखे विश्व रेकर्ड

नेपाली रेडियो इतिहासमा विश्वकै लामो रेडियो अन्तरवार्ताको विधाबाट सोलुखुम्बुको हिमाल एफएमका पत्रकार भानुभक्त निरौला र पर्यटनविद् आङफिन्जो शेर्पाले विश्व कीर्तिमान राखेका छन्।

पत्रकार निरौला र पर्यटनविद् शेर्पाले सोलुखुम्बुबाट सञ्चालित हिमाल एफएमबाट २५ घण्टा २६ मिनेट लामो रेडियो अन्तरवार्ता लिएर यसअघि अस्ट्रेलियामा भएको रेकर्ड ब्रेक गर्दै नेपालको तर्फबाट विश्व रेकर्ड कायम गरेका हुन्। ‘पर्यटन र जलवायु परिर्वतनका असर’ विषयमा विश्वकै लामो रेडियो अन्तरवार्ता गएको कात्तिक २२ गते सोमबार बिहान ७ः३५ बजे सुरु भई कात्तिक २३ गते मंगलबार बिहान ९ः१० बजेसम्म लगातार २५ घण्टा २६ मिनेट हिमाल एफएमको शाखा स्टुडियो काठमाडौमा आयोजना गरिएको थियो।

निरौला हिमाल एफएम ९०.२ मेगाहर्जका प्रबन्धनिर्देशक हुन भने पर्यटनविद् शेर्पा एफएम सञ्चालक समितिका उपाध्यक्ष हुन्। निरौला र शेर्पाले पेस गरेको दाबीलाई गिनिज बुक अफ वर्ल्ड रेकर्डले सोमबार मान्यता दिएको हो।

अधिकारिक मान्यता पाएपछि कीर्तिमानी पत्रकार निरौलाले यो कीर्तिमानले नेपाली रेडियो प्रसारणको इतिहासमा विशेष महत्त्व राख्ने भन्दै देशकै लागि एउटा कीर्तिमान थप्न सकेकोमा गौरव महसुस भएको बताए।

आफ्नो पेसाको क्षेत्रबाट देशको नाम राख्न पाउँदा खुशी लागेको उनको भनाइ छ। पर्यटनविद् आङफिन्जो शेर्पाले आफ्नो कोसिसले सार्थकता पाएकोमा खुसी व्यक्त गरे। विश्वको सर्वोच्च शिखर सगरमाथा लगायत महत्त्वपूर्ण पर्यटकीय सम्पदा रहेको नेपालमा ‘पर्यटन र जलवायु परिर्वतनको असर’ विषयमा विश्वकै लामो अन्तरवार्ता मार्फत पर्यटन क्षेत्रलाई चलायमान गराउँदै जलवायु परिर्वतनको न्यूनीकरणमा विश्वको ध्यान आकर्षित गर्ने उद्देश्यले उक्त अन्तरवार्ताको आयोजना गरिएको उनको भनाइ छ।

यसअघि विश्वको लामो रेडियो अन्तरवार्ता सन् २०११ मा अस्ट्रेलियाका पत्रकार रिचर्ड ग्लोभरको नाममा खेल विज्ञ पिटर फिट्ज्मिन्स्सँग रेडियो ७०२ एबिसी सिड्नीमा खेल क्षेत्रको विषयमा २४ घण्टा समयसम्म लिइएको रेकर्ड थियो।

सोलुखुम्बुका पत्रकार निरौलासँग पुर्वाञ्चल विश्वविद्यालयबाट पत्रकारितामा स्नातकोत्तर तह पूरा गरी रेडियो, टेलिभिजन तथा पत्रपत्रिकामा काम गरेको अनुभव छ भने पर्यटनविद् शेर्पाले पर्यटन र वातावरण संरक्षण विषयमा सामाजिक क्षेत्रमा लामो समयको कार्य अनुभव रहेको छ।

प्रकाशित: २८ पुस २०७८ ०२:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App