coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

कडा बन्दै सडक सुरक्षा अभियान

जुम्लामा सडक अतिक्रमणले सडक यात्रा जोखिम बन्दै गएपछि सडक सुरक्षा अभियान थालिएको छ। पहिलो चरणमा सडक अतिक्रमण गरेर बनेका संरचना हटाउनको लागि आग्रह गरिएको भएपनि अटेर गरेपछि अहिले सडकमै बनेका घर, टहरा र पर्खाल भत्काउन थालिएको हो।

मनपरी रुपमा सडक अतिक्रमण बढ्न थालेपछि सडक हडपेर बनेका संरचना भत्काउने, सडकमा राखिएका निर्माण सामाग्री हटाउने कार्य भएको हो। पहिलो चरणमा सडक अतिक्रमणका कुनै क्रियाकलाप नगर्न सुचित गरिएको थियो। तर सहज तरिकाले हटाउन नमानेपछि बाक्लो सुरक्षाकर्मीसहित कर्णाली राजमार्गको जुम्ला खण्डमा सडक अतिक्रमण गरी बनाइएका घर, टहरा, पर्खाल, होटल लगायतका संरचना भत्काउन थालिएको हो।

सडक डिभिजन जुम्लाले एक महिना पहिलेदेखि सडक सुरक्षाअभियान थालेको थियो। अहिले यो अभियानलाई सडक डिभिजन, प्रहरी प्रशासन, चन्दननाथ नगरपालिका र नागरिक समाज सबैले साथ दिएका छन्। पहिलो चरणमा चन्दननाथ नगरपालिकाको बसपार्क क्षेत्रमा सडक अतिक्रमण गरेर बनाइएका संरचना हटाइएको छ।

नागरिक समाजका अध्यक्ष राजबहादुर महत सडक अतिक्रमणले यात्रा निकै जोखिम भएको बताउँछन्। उनले भने, ‘सडक अतिक्रमण तीब्र बढिरहेको थियो। सडकमा सवारी साधनमा यात्रा गर्न निकै डर लाग्थ्यो। कतै निर्माण सामाग्रीले सडक पुरिहेको थियो। त कतै सडकमै संरचना बनेर सडक निकै साँघुरो बनेको थियो। अहिले चलेको सडक सुरक्षा अभियानले राम्रो काम गरिरहेको छ।’ सडक अतिक्रमण हटाउनको लागि प्रमुख जिल्ला अधिकारी बिजयाकुमारी प्रसाई आफै सडकमा निस्केकी छिन्।

नागरिक समाजका अध्यक्ष महतले भने, ‘वर्षौं पहिलेदेखि नागरिक समाजको अगुवाईमा सडक अतिक्रमण हटाउन पहल भइरहेको थियो। नागरिक समाजको एक्लो प्रयत्नले सफल हुन सकेनौँ। अहिले सडक डिभिजनले कडा कदम चाल्यो, प्रहरी प्रशासनले साथ दिएर अतिक्रमण हटाउने अभियान शुरु भएको छ। यो कार्यले जुम्लाबासी निकै खुसी छन्। अब सडकमा देखिएको अतिक्रमण हटेर सुरक्षित सडक बनाउन सबैले सहयोग गर्नुपर्छ।’

अहिले अतिक्रमण क्षेत्रमा चिन्ह लगाउने र डोजर प्रयोग गरेर भत्काउने काम भइरहेको छ। सडक डिभिजन जुम्लाका प्रमुख राजिव श्रेष्ठले सडक अतिक्रमण हटाउन अभियान चलेको बताउँछन्। पहिलो चरणमा बसर्पाक क्षेत्रको निर्माण सामाग्री र अतिक्रमण हटाएका छौं। नापी गरी सकेपछि मात्रै सडक अतिक्रमण गरी बनाएका संचरना भत्काउने तयारी छ।’

नगरपालिकाको मापदण्ड अनुसार सडक १५ मिटर चौडा हुनुपर्छ। एक मिटर फुटपाथका लागि छुटाइएको हुनुपर्छ। तर अहिले फुटपाथ समेत अतिक्रमण गरेर घर टहरा,होटल बनेका छन्। ‘सडक क्षेत्र पूरै खाली गर्न नापी गरेर आफै व्यवस्थापन गर्न सूचित गरिरहेका छौँ’, प्रमुख श्रेष्ठले भने, ‘अटेरी गरे एकहप्ताभित्रै डोजर प्रयोग गरेर संरचना भत्काउन बाध्य हुनेछौँ।’ पटकपटक सडक अतिक्रमण हटाउनको लागि निर्णय भएपनि कार्यान्वयन हुन सकेको छैन।

सदरमुकाम खलंगासँगै तातोपानी, लिताकोट, कुडारी, रारालिही क्षेत्रमा सडक अतिक्रमण गरेर संरचना बनाउने काम भइरहेको छ। यो सडक अतिक्रमण हटाउने अभियानलाई गाउँ गाउँ सम्म लैजाने सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ।  

प्रमुख जिल्ला अधिकारी बिजयाकुमारी प्रसाईले सडकलाई सुरक्षित र जोखिममुक्त बनाउनको लागि अतिक्रमण हटाउनुको विकल्प नभएको बताइन्।  सडकमा घरटहरा बनाउने  पहुँचवालालाई छोड्ने र सामान्य नागरिकको संरचना भत्काउने भन्ने हुँदैन। सबैलाई एकैनासको कार्बाही हुन्छ। सडक अतिक्रमण गरेर भत्काइएका संरचना सबै भत्काइन्छ।’

डोजर प्रयोग गरेर भत्काइने घरको आँगन, पर्खाल तथा निर्माण सामाग्री हटाइएको छ। केहि स्थानीयले विरोध गरेका छन्। अतिक्रमण भएको जग्गा छोड्न तयार भएको तर नापी नक्सा गरेर मात्रै छोड्ने स्थानीयको माग छ। हाल निर्माण सामाग्री मात्रै हटाएको र अबको सात दिनभित्र अतिक्रमित सडक खाली नभए कार्यालयले आफ्नै तरिकाले हटाउने र त्यसबाट पर्न जाने क्षतिप्रति कार्यालय जवाफदेही नहुने समेत चेतावनी दिइएको छ।

साथै संरचना हटाउँदा लाग्ने खर्च समेत सार्वजानिक सडक ऐन २०३१ को दफा १९ (३) बमोजिम सम्बन्धीत व्यक्तिबाटै असुल उपर गरीने छ।

प्रकाशित: २२ पुस २०७८ १२:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App