१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

जलपन्छीका सूचक प्रजाति गणना गरिँदै

देशभरका जलाशय र सीमसार क्षेत्रमा आगन्तुक जलपन्छी गणना भइरहेका बेला कैलालीको सीमसार क्षेत्र घोडाघोडी तालमा पनि सूचक प्रजाति गणना सुरु भएको छ। सूचक प्रजाति हरेक ६/६ महिनामा गणना हुँदै आएको छ।

घोडाघोडी ताल क्षेत्रमा शनिबारबाट सुरु भएको जलपन्छी गणना दुई दिनसम्म चल्नेछ। चरा संरक्षण नेटवर्क कैलालीले घोडाघोडी ताललगायत छेउछाउमा रहेका सहायक तालमा जलपन्छी गणना सुरु भएको हो। घोडाघोडी तालका मुख्य सूचक प्रजाति हरिहास, मगरगोही र जंगली धान रहेका छन्। चरा संरक्षण नेटवर्क कैलाली विगत लामो समयदेखि घोडाघोडी ताल क्षेत्रमा चराको अध्ययन, अवलोकन, खोजअनुन्साधन गरिरहेको छ। प्रत्येक ६/६ महिनामा आएका धेरै चरा बसाइँसराइ गरेर केही समयका लागि घोडाघोडी ताल क्षेत्रमा आउने गरेका छन्।

घोडाघोडी ताल क्षेत्रमा आगन्तुक चरा उचित आहारविहार र आफूअनुकूल वातावरण पाएर आउने गरेको बताउँदै चरा संरक्षण नेटवर्कका अध्यक्ष दयाराम चौधरीले भने, ‘पछिल्लो समयमा कैलालीको घोडाघोडी ताल चराका लागि महत्वपूर्ण क्षेत्रका रूपमा विकसित भएको छ।’ चरा तथा जैविक विविधताले यहाँ आगन्तुक चरा हरिहास, बगाले सिमकुखुरा, नादुन हाँस अहिले रैथाने चरा भइसकेका छन्। सिमकुखुरा, सिलसिले हास, लामा औले, राजलाहाछे, सुनजुरे हासलगायत चरा घोडाघोडी ताल क्षेत्रमा बचेरासहित देखा परेका छन्।

शनिबार घोडाघोडी तालमा १० जनाको गणना टोलीले गणना गरेको छ। घोडाघोडी तालमा विश्वमा लोपोन्मुख चरा र नेपालमा लोप हुन लागेका धेरै चरा पाइन्छन्। चरा संरक्षण नेटवर्क कैलालीले चरा र जैविक विविधताका क्षेत्रमा काम गर्दै आइरहेको छ। यसले चराको वासस्थान सुधार, चोरीसिकारी नियन्त्रण, संरक्षणका क्रियाकलाप गर्दै विभिन्न देशबाट साइबेरिया, नर्थन पिनटल उत्तरी क्षेत्रबाट चरा जाडो छल्नका लागि आएका चराले घोडाघोडी तालमा उचित वातावरण पाएर बच्चा हुर्काउँदै आएका छन्। गणक टोलीले घोडाघोडी ताललाई तीन खण्डमा विभाजन गरी एकै समयमा गणना गरेको छ। देशभर प्रकृतिप्रेमी जलपन्छी गणना उत्सवको रूपमा पुस १७ गतेदेखि माघ २ गतेसम्म जलपन्छी गणना तथा तिनीहरू वासस्थानको, गुँडका साथै अन्य खोज अनुसन्धान हुँदै आएको छ।

घोडाघोडी ताल क्षेत्रमा मात्रै नभई देशभरका तमाम सीमसार क्षेत्रमा आगन्तुक चराहरू जाडो छल्नका लागि विभिन्न देशबाट नेपाल आउने गरेको चौधरीले बताए। ‘आज पहिलो दिनमै गणनामा हिँड्दा रैथाने तथा आगन्तुक चरा नजिकबाट चिनेने अवसर पाइयो,’ सहभागीमध्येक कृष्ण चौधरीले भने, ‘घोडाघोडी ताल क्षेत्र चरा अध्ययनका लागि एक उत्कृष्ट गन्तव्य नै रहेछ।’

प्रकाशित: १८ पुस २०७८ ०५:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App