७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

भारी हिमपातले हिमाली जिल्लामा सकस

मनाङ र मुस्ताङ ठप्प

मनाङको सदरमुकाम चामेमा भएको हिमपात। तस्बिर सौजन्यः लेखनाथ गौतम

सिजनको पहिलो हिमपातले हिमाली भेगको जनजीवन प्रभावित भएको छ। सबैजसो उच्च हिमाली भेगमा भीषण हिमपात भएको त्यहाँका स्थानीयले बताएका छन्। हिमपात र वर्षाका कारण ती ठाउँमा चिसो पनि अधिक बढेको छ। हिमाली जिल्ला मनाङ र मुस्ताङ सहित गोरखा, कास्कीको माथिल्लो भेगमा पनि हिमपात भएको स्थानीयले बताएका छन।

मनाङमा समुन्द्री सतहको २ हजार मिटर माथि हिपमात भएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मनाङका संरक्षण अधिकृत लेखनाथ गौतमका अनुसार मंगलबार बेलुकीदेखि हिउँ पर्न थालेको हो। बुधबार दिउँसोसम्म करिब डेढफिट हिउँ जमिसकेको गौतमले जानकारी दिए । हिमपातले मनाङका गाँउ सुनसान बनेको उनले बताए।  

हिमपातपछि मनाङको तापक्रम पनि निकै नै तल ओर्लेको छ। गौतमका अनुसार बुधबार दिउँसोको तापक्रम माइनस १५ डिग्रीमा झरेको छ। रातीको तापक्रम पनि माइनस २० डिग्रीमा झर्ने उनले बताए। ‘अधिक चिसोले गर्दा जनजीवन साह्रै प्रभावित भएको छ। घरबाहिर पनि निस्कन सकिने अवस्था छैन,’ उनले भने। सदरमुकाम चामे पनि हिमपात पछि सुनसान बनेको छ। सरकारी कार्यालय खुलेको भएपनि सेवाग्राही कम हँुदा सदरमुकाममा पनि खासै चहलपहल हुन सकेको छैन।  

‘अबका केहीदिन निकै नै कठिनपूर्ण अवस्था हुनेछ। किनकी अहिले परेको हिउँ पग्लिन केहीदिन लाग्छ। यो भन्दा बाक्लो हिउँ परेमा त महिनादिनसम्म पनि पग्लिन पाउँदैन,’ उनले भने, ‘हिउँ परेको दिनमा बरु हिडडुल गर्न सकिन्छ। अबका केहीदिन अझै बढी सकस हुनेछ।’  

उनका अनुसार खोलानालाको पानी पनि जमेको छ। पछिल्लो एकसातादेखि नै पानी जम्न थालेको थियो। हिउँ परेपछि त झनै पानी जमेको छ। सबैतिरका डाँडा सेताम्य देखिएका छन्। चिसो बढेसँगै हिमाली जिल्लाका बासिन्दा जाडो छल्न तल (पोखरा, चितवन, काठमाडौं) झर्छन। स्थानीयले घर छाडेपछि हिमाली जिल्लाका गाउँबस्ती पनि सुनसान छन। कात्तिक लागेसँगै तल झर्ने गाउँले फागुनमा मात्र घर फर्किन थाल्छन। घर कुर्नका लागि केही मान्छे गाउँमा रहेपनि हिमपातले बाहिर निस्कन सक्ने अवस्था नरहेको गौतमले बताए।  

मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले कतिपय ठाउँमा त दुईफिटसम्म हिउँ जमिसकेको छ। मंगलबारदेखि हिउँ पर्न थालेकोले हिउँ थुप्रिएको उनले जानाकारी दिए। ‘हिमपातले यहाँ सबैतिर सुनसान बनाएको छ। गाउँमा पनि मान्छे छैनन,’ आचार्यले भने, ‘गाउँमा पनि घरकुरुवा मात्र छन। परिवारका अरु सदस्य जाडो छल्न तल झरिसकेकोले गाउँ पनि रित्ता छन।’ घरकुरुवाले आफुलाई चाहिने दाउरा र अन्नपातको व्यवस्था गरेको उनले बताए।  

म्ुस्ताङको लोमान्थाङमा हिउँ फाल्दै स्थानीय। तस्बिर सौजन्यः राम गुरुङ

‘पर्यटकीय सिजन पनि नपर्ने भएकोले खासै चहलपहल छैन। आन्तरिक पाहुना पनि कोही छैनन। हिउँ खेल्न आउन पनि सहज छैन,’ आचार्यले भने, ‘वर्षेनी हिमपात हुने भएकोले यहाँका बासिन्दा अभ्यस्त छन। तर, बाहिरबाट आएर काम गर्नेलाई केही समस्या छ।’ जिल्लामा रहेका बासिन्दा कोही बिरामी परेमा मात्र समस्या हुने उनले बताए। गाडी चल्न पनि नसक्ने र मौसम खराबी हुँदा हेलिकप्टर आउन नसक्ने अवस्था आउने हुँदा बिरामी परेमा मात्र समस्या हुने उनले बताए । ‘हामीले सबैलाई सचेत रहन भनिसकेका छौ,’ उनले भने।

अर्काे हिमाली जिल्ला मुस्ताङमा पनि भारी हिमपात भएको छ। हिमपातले मुस्ताङ सदरमुकाम जोमसोम र आसपासका क्षेत्र सेताम्य भएका छन। बाक्लो हिमपातले चिसो ह्वात्तै बढाएको छ। एक्याप मुस्ताङका संरक्षण अधिकृत ऋषि बरालका अनुसार मंगलबार बेलुकीदेखि हिमपात सुरु भएको हो। बुधबार दिउँसोसम्म पनि हिमपात निरन्तर भईरहेको उनले बताए। मंगलबार बेलुकी पाँचबजेबाट हिउँ पर्न थालेकोमा बुधबार बिहानपछि झनै भीषण हिमपात भएका उनले बताए।

सदरमुकाम जोमसोमको तापक्रम माइनस २ मा झरेको छ। रातीको तापक्रम माइनस १० सम्म झरेको थियो। मार्फा र लेते खण्डमा झनै धेरै हिमपात भएको बरालले बताए। ‘अत्यावश्यक काम बाहेक मान्छे घरबाहिर निस्कन सकेका छैनन,’ उनले भने, ‘बाक्लो हिमपातले चिसो पनि बढाएको छ भने गाडी पनि चल्न सकेका छैनन।’  

माथिल्लो मुस्ताङको लोमान्थाङ क्षेत्रमा पनि बाक्लो हिमपात भएको एक्याप लोमान्थाङका कर्मचारी राम गुरुङले जानकारी दिए। उनका अनुसार स्थानीयले घरको छानामा संकलन भएको हिउँ फ्याक्न थालेका छन। ‘सबैतिर सेताम्य हिउँ परेको छ,’ उनले भने, ‘चिसो पनि अधिक छ। चिसोका कारण सबैतिर अप्ठेरो पारेको छ।’

प्रकाशित: १४ पुस २०७८ ०७:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App