१२ श्रावण २०८१ शनिबार
image/svg+xml
समाज

दुर्घटना न्यूनीकरण गर्न प्रदेश १ मा ट्राफिक सप्ताह सुरु

प्रदेश १ मा बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्न प्रदेश सरकारले आइतबारदेखि प्रदेशभर ट्राफिक सप्ताह सुरु गरेको छ। आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेशका जिल्ला प्रहरी कार्यालय र ट्राफिक कार्यालयको सहकार्यमा सप्ताहव्यापी ट्राफिक जनचेतना मूलक कार्यक्रम आयोजना गरी मनाउने भएको हो। 

प्रदेशका १४ जिल्लामा आइतबारदेखि एकैसाथ सुरु भएको ट्राफिक सप्ताहको उद्घाटन विराटनगरमा आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले गरे। सप्ताहको उद्घाटन गर्दै मन्त्री कार्कीले प्रत्येक व्यक्ति सचेत भए मात्र सवारी दुर्घटना न्यूनीकरण हुने भएकाले यस्ता अभियानलाई निरन्तार दिनुपर्ने बताए। 

सार्वजनिक सवारीमा सिट क्षमताभन्दा बढी यात्रु चढाउनाले दुर्घटना बढेको र यसलाई नियन्त्रण गर्न यातायात व्यवसायी सचेत हुनुपर्नेमा जोड दिए। ट्राफिक नियम उल्लंघन गर्नेलाई कारबाही नगरी कसैको सोर्समा त्यसै छाड्ने गर्दा थप जोखिम बढ्ने हुँदा त्यस्तो कार्य नगर्न प्रहरीलाई निर्देशन दिए।  

‘दुर्घटना न्यूनीकरणका लागि प्रदेश सरकारले मुख्य लोकमार्गअन्तर्गत मेचीदेखि कोसी र विराटनगरदेखि धरानका सडकमा सिसी क्यामेरा जडानको प्रक्रिया अघि बढाइसकेका छौं,’ मन्त्री कार्कीले भने, ‘यसबाट केही जोखिम कम हुनेछ। ट्राफिक सप्ताह मात्रै मनाएर दुर्घटना न्यूनीकरण कम हुँदैन। यसपछि आउने प्रतिक्रियालाई हेर्नुपर्छ।’ 

विराटनगर प्रदेशको राजधानी भएकाले सडकमा पार्किङ जथाभावी गर्ने र ट्राफिक प्रहरीले ताला लगाउँदैमा समस्या समाधान नहुँने बताउँदै, कार्कीले भने, ‘यसका लागि प्रदेश सरकार र महानगरपालिकाबीच सम्झौता भई बजार क्षेत्रमा व्यवस्थित पार्किङ स्थलको निर्माण चाँडै हुनेछ।’

कार्यक्रममा प्रदेश १ का डिआइजी अरुणकुमार बिसीले प्रदेश १ मा सवारी दुर्घटना भयावह बन्दै गएको बताए। सडकको अवस्था, भौगोलिक कारण, सवारीसाधनको अवस्था, ट्राफिक नियमको उल्लंघन, मौसमलगायतका कुरामा ध्यान नदिँदा बढी दुर्घटना हुने गरेको छ। पैदल यात्री जथाभावी बाटो काट्ने, चौपाय छाड्ने जस्ता कुरा थप दुर्घटना बढेका कारण जनचेतना जगाउँदै दुर्घटना न्यूनीकरण गर्न ट्राफिक सप्ताह सुरु गरिएको डिआइजी जिसीले बताए।  

प्रदेशमा आर्थिक वर्ष २०७५÷७६ मा ३ सय ७३ जनाले सवारी दुर्घटनामा ज्यान गुमाउनु परेको छ। २०७६÷७७ मा ३ सय ३२ जना २०७७÷७८ मा ४ सय ४४ जना र चालु आर्थिक वर्षको मंसिरसम्ममा २ सय १४ जनाले ज्यान गुमाइसकेका प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।  

यस्तै सप्ताहअन्तर्गत पैदल यात्रीलाई सडक पेटी तथा जेब्राक्रसबाट हिँड्न सिकाउने, सवारीसाधनको गतिकम गर्न प्रेरित गर्ने तथा जेब्राक्रसमा पैदल यात्रीलाई प्राथमिकता दिने, पार्किङ एवं सडक पेटी व्यवस्थित गर्दै ट्राफिक सचेतनासम्बन्धी पर्चा र पम्प्लेट वितरण गर्ने, विद्यार्थीलाई ट्राफिक नियमको प्रशिक्षण दिनेलगायतका कार्यक्रम रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख ट्राफिक प्रहरी निरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए।

प्रकाशित: ४ पुस २०७८ १२:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App