लहान— कात्तिक २७ गते, दिउँसो करिब ११:३० बजे ।
लहान नजिकको खुट्टी खोलाबाट बालुवागिट्टी बोकेर तीव्र गतिमा आइरहेको स१त ९७१ नम्बरको ट्र्याक्टरले आफ्नै घरछेउ सडकमा उभिएका प्रभु पासवानलाई ठक्कर दियो । ट्र्याक्टरको ट्रलीमा टाउको ठोक्किएर उनी त्यहीँ ढले । छेउछाउका सबै बचाउन दौडे। चालक भने ट्र्याक्टर छाडेर फरार भए।
दुर्घटनालगत्तै घटनास्थल पुगेका जिल्ला ट्राफिक प्रहरी कार्यालयका सई लोकबहादुर दियाली र हवल्दार बलराज बस्नेतको टोलीलाई प्रत्यक्षदर्शीले उक्त ट्र्याक्टर त्यही ठाउँका रामदयाल पासवानले चलाएको बताएका थिए । चालकको उमेर अन्दाजी १६÷१७ वर्ष रहेको ट्राफिकको टिपोटमा उल्लेख छ ।
घटनाको यथार्थ टिपोट गरेर ट्राफिक प्रहरीद्वय दियाली र बस्नेत फर्के । दुर्घटनामा परेको ट्र्याक्टर इलाका प्रहरी कार्यालय लहानमा राखियो । तर, न फरार चालक दिनभरि प्रहरी सम्पर्कमा आए, न प्रहरीले खोज्ने सक्रियता देखायो । पछि ट्र्याक्टर साहु देवकुमार साह सम्पर्कमा आए । उनले घाइतेलाई उपचार गराउने सहमति पनि जनाए । यति भएपछि प्रहरीले चालक खोज्नेतर्फ ध्यानै दिएन ।
साँझतिर लहान–१ का रामचन्द्र सदा प्रहरीकहाँ पुगेर 'बिहान दुर्घटना भएको ट्र्याक्टरको चालक मै हुँ' भनेर बयान दिए । 'स१त ९७१ नम्बरको ट्र्याक्टर चालक मै हुँ,' उनले प्रहरी बयानमा भने, 'रामदयाल पासवान खलासीमात्र हुन् । दुर्घटना बेला ट्र्याक्टर मैले चलाएको थिएँ ।'
यही बयानका आधारमा प्रहरीले उनलाई हिरासतमा राख्यो । दुई दिनपछि सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा दर्ता गरियो ।
प्रत्यक्षदर्शीको बयान र सदाको स्विकारोक्ति मेल नखाए पनि प्रहरीले यसमा थप छानबिन गरेन । 'म चालक हुँ भन्दै आएपछि हामीले धेरै सोधिखोजी गरेनौं,' इलाका प्रहरी कार्यालय, लहानका डिएसपी ज्ञानेन्द्र फुयालले नागरिकसँग भने, 'प्रत्यक्षदर्शीले भने उनले नभई अरूले नै चलाएको बताएका छन् ।'
कात्तिक ९ गते सिरहा, चोहर्वा खण्डको नरहाचोक नजिक ज४प १४६१ नम्बरको मोटरसाइकललाई ठक्कर दिने स१त १३१३ नम्बरको ट्र्याक्टर चालक तत्कालै फरार भएका थिए । ठक्करबाट मोटरसाइकल चालक नरहा–८ का ३० वर्षीय दिपेन्द्र यादवको उपचार क्रममा मृत्यु भयो । प्रहरीले चालक खोज्ने सक्रियता देखाएन ।
दुर्घटनाको १९ दिनपछि चन्द्रअयोध्यानगर–९ का २८ वर्षीय प्रकाशकुमार यादव उक्त ट्र्याक्टर आफूले चलाएको भन्दै जिल्ला प्रहरी कार्यालय सिरहामा उपस्थित भए । प्रहरीले उसैलाई चालक मानेर सवारी ज्यानअन्तर्गत मुद्दा चलायो । मुद्दा शाखाका इन्स्पेक्टर राजकुमार शाहीका अनुसार १९ दिनपछि उपस्थित व्यक्तिसँग चालक अनुमतिपत्र नहुने कुरै भएन ।
त्यस्तै, कात्तिक २८ गत्ते राति राजमार्गको कर्जन्हा खण्डमा स१त १६६९ नम्बरको ट्र्याक्टरको ट्रलीले ज५प ३९०३ नम्बरको मोटरसाइकललाई ठक्कर दियो । नियमविपरीत झुन्ड्याइएको ट्रलीमा संकेत बत्ती नभएका कारण विपरीत दिशाको सवारी साधनलाई साइड दिने क्रममा मोटरसाइकलसँग ठोक्किएको थियो । चन्द्रलालपुर–७ का सुरेशकुमार महतोेको घटनास्थलमै मृत्यु भयो । चालक भने तत्काल फरार भए । इलाका प्रहरी कार्यालय मिर्चैयाका इन्स्पेक्टर हरि खतिवडा चालक निगरानीमै रहेको बताउँछन् ।
यी केही यस्ता घटना हुन्, जसले प्रहरीले चाहे दोषी चालकलाई बचाउन सक्छन् भन्ने छर्लंग पार्छ । पीडितलाई अलमल्याएर प्रहरीले सवारी अनुमतिपत्र नै नलिई ट्र्याक्टर चलाउने दोषी चालकलाई उम्काउने र साहुले उपस्थित गराइदिएका लाइसेन्सधारी चालकलाई हिरासतमा राखेर सवारी ज्यानमुद्दाको औपचारिकता पूरा गर्ने प्रवृत्ति यस क्षेत्रमा फस्टाउँदै गएको छ ।
पछिल्लो समय कृषि छुटमा ल्याइएका ट्र्याक्टरको बढ्दो दुरुपयोगसँगै दुर्घटनाको संख्या र मृत्युदर बढेको छ । ट्राफिकको तथ्यांकअनुसार यहाँ सञ्चालित ट्र्याक्टरमध्ये करिब ६० प्रतिशतभन्दा बढीमा अनुमतिपत्र बेगरका चालक छन् । यसले दुर्घटनाको जोखिम बढाइरहेको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीको मुद्दा शाखाका सई होमप्रसाद अधिकारी बताउँछन् ।
हवल्दार बस्नेतका अनुसार जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानले बुधबार यहाँ सातवटा ट्र्याक्टर चालकको लाइसेन्स परीक्षण गर्दा एक जनामात्र लाइसेन्सबाहक फेला परेका थिए ।
लाइसेन्स नभएका चालकबाट सवारी दुर्घटना हुन गए इन्स्योरेन्सले क्षतिपूर्ति बेहोर्दैन । ट्र्याक्टरका हकमा धेरै चालकसँग लाइसेन्स नहुने हुँदा दुर्घटना भइहाले तत्काल घटनास्थलबाट फरार हुन साहुले नै सिकाएका हुन्छन् । पछि साहुले प्रहरीसँग सेटिङ मिलाएर अर्का लाइसेन्सबाहक चालक खडा गर्छन् । यसले इन्स्योरेन्सबाट क्षतिपूर्ति लिन सजिलो हुन्छ । प्रहरीले पनि पीडित पक्षसँग क्षतिपूर्तिमा सहमति हुनेबित्तिकै सवारीको गल्ती कम देखाएर फाइल बुझाएपछि चालकलाई धरौटीमा छुटाउन सजिलो हुन्छ ।
प्रकाशित: ३ मंसिर २०७१ २०:१४ बुधबार





