ललितपुरको ठैबमा पुग्दा चार पाँच जना युवाहरु काममा व्यस्त देखिन्थे। उनीहरुले जीविकोपार्जनको लागि काम गरिरहेको जस्तो देखिएता पनि उनीहरु आफ्नै काम गरिरहेका जस्ता थिए।
उनीहरुको आँखामा बेग्लै चमक र काममा उत्साह थियो। ती सशक्त युवाहरुको बारेमा बुझ्दै जाँदा उनीहरु लागु पदार्थको कुलतमा फसेर पुनर्स्थापना केन्द्रमा आएका रहेछन्।
२०६८ सालमा कुलतमा फसेर निको भएका मानिसहरुले यो पुनर्स्थापना केन्द्र संचालनमा ल्याएका हुन्। हालसम्म यहाँबाट धेरै जना रिकभर भएर फर्केको नशा रहित समाज नेपाल पुनर्स्थापना केन्द्रका उपाध्यक्ष सुमन थापा बताउँछन्।
गाउँ समुदायको सहयोगमा संचालन भइरहेको उक्त पुनर्स्थापना केन्द्रमा देशभरिबाट आउने गरेका छन्। १८ वर्षदेखि ६५ वर्ष उमेरसम्मका मानिसहरु उक्त स्थानमा पुगेका छन्।
त्यस स्थानमा विशेषगरी ललितपुर आसपासमका मानिसहरु छन् भने हेलम्बुबाट पनि आफूलाई मान्छे बनाउनका लागि यहाँ पुगेका छन्। उनीहरु पूरै पारिवारिक वातावरणमा रमाएर बसेका छन्।
आफ्ना परिवारका सहयोगमा यहाँ आउने मानिसहरु आएको केही हप्तासम्म गाह्रो हुने र बिस्तारै सहज हुँदै जाने अनुभव सुनाउँछन्।
‘मैले पहिला जे कुरा पनि उल्टो गरेर बुझ्थेँ, जे काम पनि भोलिबाट गर्छु भन्थेँ, तर आज मैले सोच्ने तरिका फरक छ। भोलि होइन आज नै गर्नु पर्छ भन्छु,’ यी यस्तै सकारात्मक विचारहरु ललितपुरका विश्व सुवेदीलाई आउँछ।
चार महिनादेखि नशा रहित समाज नेपाल पुनर्स्थापना केन्द्रमा रहेका सुवेदी अहिले बाहिरका होस् या भित्रका जो सुकै आए पनि उनले आफूमा आएको सकारात्मक विचारलाई साझा गर्न छाड्दैनन्। १६/१७ वर्षको उमेरमा सुवेदी कूलतमा फसे। कुलतमा फसेको बेलामा उनलाई लाग्थ्यो म यो नशाबाट निस्कन चाहन्छु यो क्षेत्र मेरो लागि ठिक छैन। भोलि छोड्छु भन्दाभन्दै उनले नशामा १५/१६ वर्ष बिताए।
उनलाई घर परिवार छोराछोरी सबैको माया लाग्थ्यो जब उनले आफ्नो परिवार सम्झन्थे उनका गह भरिन्थे तर नशा भने छोड्न सक्दैनथे।
सुवेदी जस्तै, कुलतबाट मुक्ति पाउन इमाडोलबाट आएका विवेक कार्की अहिले २४ वर्षका भए। नशामा फस्दा उनको उमेर १७ वर्षको थियो। उनी आफ्नो वरपरको वातावरण र साथीसँगीको प्रभावमा परेर नशामा परेको बताउँछन्। त्यो बेला उनी प्लस टु मा पढ्थे। काठमाडौँमा घर भएका कारणले उनलाई कुनै पनि समस्या थिएन।
आफ्नो नशा पूरा गर्नका लागि उनले आफूले प्रयोग गर्दै आएको मोवाइल समेत बेचेको कुरा सुनाए। कलेज नपढ्ने विद्यार्थी उनीसँग प्रशस्त खर्च गर्नका लागि पैसा हुँदैनथ्यो त्यसकारण बाबाआमाले थाहा नपाउने गरी पैसा समेत चोरेको तितो अनुभव उनी सुनाउँछन्। जब उनी बाबाआमाको पैसा चोर्थे उनको छाती चर्किन्थ्यो। उनलाई लाग्थ्यो मैले यस्तो काम गर्नु हुन्न। फेरि उनको दिमागले अर्कै सोचिदिन्थ्यो। उनलाई आफ्नो दिमागले नै शरीर चलाएजस्तो लाग्थ्यो र फेरि नशामा फस्थे। यसो गर्दागर्दौ उनलाई सात आठ वर्ष बिताएको थाहै भएन। उनी नचाहँदानचाहँदै यो नरकमा फस्न पुगे।
यो पुनर्स्थापना केन्द्रमा आइपुगेपछि उनको जीवनप्रतिको दृष्टिकोण बिल्कुलै बद्लिएको छ। अब उनी सुध्रिए र राम्रो काम गर्न चाहान्छन्।
यस्तै, अर्का महेश्वर कार्की जो हाल ३३ वर्षका भए। १५/१६ वर्षको उमेरमा उनी कुलतमा फसेका थिए। उनका दुई जना सन्तान पनि छन्। उनकी श्रीमती बाबाआमाले उनलाई सुधार्नका लागि कुनै पनि कसर बाँकी नरहेको उनले बताए। जब उनी आफ्ना सुन्दर बच्चाहरुलाई देख्थे उनको आँखामा मायाको सागर छल्किन्थ्यो तर उनी केही पनि गर्न सक्ने अवस्थामा थिएनन्।
आफ्नो श्रीमती र बच्चाहरुलाई देखेपछि उनलाई थप तनाव र पिरचिन्ता हुन्थ्यो र त्यहीं पिर भुलाउनकै लागि भएपनि नशामा भुलिन्थे, उनी। जब उनी नशाबाट बाहिर निस्कन्थे तब आफ्नो परिवारलाई देखेर उनको मन झनै दुख्थ्यो। तर केही गर्न सक्दैनथे।
उनले आफूलाई त्यो अवस्थाबाट निस्कनका लागि धेरै प्रयास समेत गरेका थिए तर सफल भएनन्। पुनर्स्थापना केन्द्रमा आएपछि भने आफूमा निकै सुधार आएको उनी बताउँछन्।
झण्डै १५ वर्षदेखि कुलतमा फसेकाले अहिले उनलाई निकै पछुतो लाग्छ। हुन त उनले चाहेर पनि त्यो दिन फर्काउन सक्दैनन् तर आगामी दिन सुन्दर बनाउने उनको दृढ संकल्प छ।
यी यस्तै अनुभव र परिवर्तन गर्न थालेका छन् नशा रहित समाज नेपाल पुनर्स्थापना केन्द्रमा रहेका मानिसहरु। २०६८ सालमा स्थापना भएको यस पुनर्स्थापना केन्द्रले नशा र कुलतमा फसेका मानिसहरुलाई नयाँ जीवन दिने काम गर्छ। आफू पनि कुलतमा हुँदाका दिनहरु सम्झँदै केन्द्रका उपाध्यक्ष थापाले भने, ‘म पनि कुलतमा थिएँ, म सुध्रिसकेको छु, म नशा गर्दिन तर म जसरी नशाबाट मुक्त भएँ त्यसरी नै मेरा दाजुभाइहरुलाई नशाबाट मुक्त गराउँछु।’
सात जनाले चलाइरहेको यो पुनर्स्थापना केन्द्रले घरदैलो गरेरै खर्च टार्ने गरेको छ। कुलतमा फसेका करिब ३० जना मानिसहरु यहाँ बसिरहेका छन्। यी मानिसहरुले नै पुनर्स्थापना केन्द्रको सबै काम गर्छन्। जसले गर्दा उनीहरुलाई तनाव र नशाबाट राहत पाउने थोरै भएपनि माध्यम बन्न पुगेको छ।
आर्थिक रुपमा एकदमै दयनीय अवस्था झेलिरहेको यो पुनर्स्थापना केन्द्रले टोल, छिमेकमा गई पुराना लत्ताकपडा, खाद्यान्न, ओढ्ने ओछ्याउने र भाँडावर्तन मागेरै चलेको छ।
यस पुनर्स्थापना केन्द्रमा निम्न वर्गीय मानिसहरु आउने गरेका छन्। जसबाट केन्द्रले एक पैसा पनि नलिएर उनीहरुको निःशुल्क उपचार गर्ने गरेको छ।
मानिसले किन गर्छन् त नशा? भन्ने प्रश्नमा पुनर्स्थापना केन्द्रका उपाध्यक्ष थापा भन्छन्, ‘हाम्रो समाज, घरपरिवार, साथीभाइ र आफूलाई कसैले नराम्रो भन्दै गाली गरेको सुन्दा उत्पन्न हुने तनावलाई कम गर्न नशाको सहारा लिन्छन्।’
उनले आफ्नो विगत सम्झँदै सुनाए, ‘म मर्नु पर्ने मान्छे जिउँदो भएको छु।’ त्यसैले म यस पुनर्स्थापना केन्द्र दुःखसुख गरेरै भएपनि अगाडि चलाउँछु’, उनले भने, ‘यहाँबाट कुलतमा फसेका मानिसमा सकारात्मक परिवर्तन गराएर मात्र विदा गर्छु।’
आफूले भविष्यमा पनि कुलतमा फसेका मान्छेकै लागि काम गर्ने उनको योजना साझा गरे। यहाँ आउने सबै मानिसहरुले यहाँ आएपछि आफूमा सकारात्मक सोचको विकास भएको बताए। यस पुनर्स्थापना केन्द्रमा महिनामा प्रायः जसो २८ या ३० जनाको संख्यामा नयाँ बिरामीहरु आउने गरेका छन्।
खर्चको मुख्य स्रोत नहुँदा कहिलेकाहीं असहज परिस्थितीको पनि सामना गर्नु परेको छ, यस पुनर्स्थापना केन्द्रलाई। स्थानीय तहबाट सहयोगको याचना गर्दा समेत बेवास्ता गरेको दुखेसो उपाध्यक्ष थापाले व्यक्त गरे।
भाडामा घर लिएर पुनर्स्थापना केन्द्र सन्चालन गर्दै आएका थापाले आफूहरुलाई आर्थिक सहयोग तथा नयाँ पुराना लुगा, फर्निचर तथा खाद्य सामग्री जस्तैः चामल, पिठो, चिनी, तेल, चियापत्ति आदि दिएर पनि मद्दत गर्न सकिने बताए।
प्रकाशित: २८ मंसिर २०७८ १४:४५ मंगलबार