१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

गौतमलाई बागलुङको सिर्जनशील पत्रकारिता पुरस्कार

सिर्जनशील पत्रकारिता पुरस्कार म्याग्दीका पत्रकार हरिकृष्ण गौतमलाई प्रदान गरिएको छ। आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङको १५ औं वार्षिक साधारणसभाका अवसरमा उक्त पत्रकारिता पुरस्कार प्रदान गरिएको हो। आदर्श सञ्चारका सह–सम्पादक पत्रकारद्वय सिर्जना पन्त र सन्तोष क्षत्रीले २०७१ सालमा स्थापना गरेको सिर्जनशील पत्रकारिता पुरस्कार नगद १० हजारसहित गौतमलाई सम्मान गरिएको हो।

उक्त पुरस्कार बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेल र आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङका अध्यक्ष हुमाकुमारी जिसीले गौतमलाई प्रदान गरेका हुन्। गौतम नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका उपाध्यक्ष समेत छन्। एक दशकदेखि म्याग्दीबाट पत्रकारितामा सक्रिय गौतमले परोपकारी पत्रकारिताबाट दर्जनौ विपन्न, अभिभावकविहीन बालबालिकालको शिक्षादीक्षा तथा म्याग्दीका धेरै विपन्नको उपचारमा सहयोग जुटाएका छन्। धौलागिरी क्षेत्रकै पहिलो बेनीअनलाइनका संस्थापक सदस्य, बेनी साप्ताहिक समाचारपत्रका प्रधानसम्पादक समेत रहेका गौतमले पत्रकारितामार्फत प्राप्त पुरस्कारलाई विपन्नको उपचार र शिक्षादीक्षामै खर्च गर्ने गरेका छन्।

समाजमा बिद्यमान भड्किलो विवाहका विरुद्ध पत्रकारद्वय सिर्जना पन्त र सन्तोष क्षत्रीले प्रगतिशील विवाह गरेर समाजमा सकारात्मक सन्देश प्रवाह गर्दै आफ्नो विवाह खर्च कटाएर रु. ५० हजार आदर्श सञ्चार सहकारीमा अक्षय कोष स्थापना गरेका थिए।

उक्त कोषको ब्याजबाट आउने रकमबाट हरेक वर्ष धौलागिरीका क्रियाशील र सिर्जनशील पत्रकारलाई पुरस्कृत गरिँदै आइएको छ। अहिले उक्त कोषको रकम रु. एक लाख पुर्‍याइएको छ। पुरस्कार ग्रहणपछि पत्रकार गौतमले पत्रकारिता क्षेलाई थप गतिशील दिन आफूलाई थप उर्जा प्राप्त भएको बताए।

यसैबीच एथ्लेटिक परिवार नेपालले काठमाडाैंमा आयाेजना गरेको युथ एथ्लेटिक च्याम्पियन अन्तर्गत ८०० मिटर दौडमा आदर्श सहकारीका शेयर सदस्य काठेखोला गाउँपालिका–७ रेशन निवासी रनबहादुर कार्कीका छोरा बादल कार्कीलाई सम्मान गरिएको थियो।

प्रकाशित: २७ मंसिर २०७८ १४:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App