१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

जनशक्तिको अभावमा सरकारी कार्यालयको कामकाज प्रभावित

रौतहटका विभिन्न सरकारी कार्यालयमा जनशक्तिको अभाव हुँदा कामकाज नै प्रभावित हुँदै आएको छ। दरबन्दी अनुसार कर्मचारी नहुँदा जिल्लाका विभिन्न सरकारी कार्यालयको कामकाज प्रभावित हुँदै आएको देखिएको हो।

जिल्लाको मुख्य र व्यवस्थित अस्पताल भनिएको गौर अस्पतालमा कर्मचारीको अभावमा भेन्टिलेटर तथा आइसियु कक्ष संचालनमा आउन सकेका छैनन्। जिल्ला अस्पतालमा ९ जना विशेषज्ञको दरबन्दी रहेको भए पनि एक जनासम्म विशेषज्ञ चिकित्सक नहुँदा अस्पतालको काम निकै प्रभावित भएको देखिएको छ। दरबन्दी हुने तर कर्मचारी नहुने रोगले ग्रस्त जिल्ला अस्पताल गौरका प्रमुख डा. कृष्ण साहले दरबन्दीको अभावमा अस्पतालको कामकाज निकै धेरै प्रभावित भएको स्वीकार गर्दछन्।

अस्पतालको ल्याबमा पनि कर्मचारीको अभाव छ। चिकित्सकको अभावमा अस्पताल चलिरहेको छ। बिरामीलाई बाहिर पठाउनु पर्ने बाध्यात्मक अवस्था छ। यस विषयमा जति धेरै ताकेता गर्दा पनि सम्बन्धित निकायले दरबन्दी अनुसार चिकित्सक तथा अन्य कर्मचारी उपलब्ध गराउन नसकेको डा. साहको भनाइ छ।

जिल्ला अस्पताल मात्र होइन। जिल्लाका अन्य सरकारी कार्यालयमा पनि कर्मचारीको अभाव रहेको छ। कर्मचारीको अभावमा सरकारी कामकाज प्रभावित हुँदै आएको छ। सेवाग्राहीलाई मर्का पर्दै आएको रौतहटमा कम्तीमा तीस प्रतिशत कर्मचारीको अभाव रहेको एक तथ्यांकले बताएको छ। जति हुनुपर्ने हो त्यत्ति आवश्यकताअनुसार कर्मचारीको दरबन्दी नहुनु र दरबन्दी हुँदा पनि दरबन्दी बमोजिक कर्मचारी नहुनुले सेवाग्राही मर्कामा पर्दै आएका छन्।

जिल्लाका सरकारी कार्यालयहरुको पनि कार्यालय मानिने जिल्ला प्रशासन कार्यालय रौतहट गौरमा पनि कर्मचारीको अभाव रहेको छ। लामो समयदेखि सहायक प्रमुख जिल्ला अधिकारी एक, प्रशासकीय अधिकृत एक, नायब सुब्बा चार र खरिदार दुई जनाको दरबन्दी खाली रहेको छ। जिल्लाभरका सरकारी कार्यालयमा कर्मचारीको अभाव रहेको रौतहटका प्रमुख जिल्ला अधिकारी कृष्णबादुर शाही बताउँछन्।

कर्मचारी सरुवा भएर पनि जिल्लामा आउन नमान्ने गरेको एउटा समस्याको रुपमा रहँदै आएको छ। रौतहट लगायत अन्य जिल्लामा पनि धेरथोर यस्तो किसिमको समस्या रहेको छ तर रौतहटमा भने दरबन्दी अनुसारको कर्मचारी नहुँदा कामकाजमा निकै समस्या हुने गरेको देखिएको छ।

जिल्ला १८ स्थानीय तह छन् तर १८ ओटा पालिकामा उपसचिवको अभाव छ। दरबन्दी छ तर उपसचिव छैनन्। यसैगरी जिल्लाको खानेपानी, सिँचाइ, सडक, कारागार, ईलाका प्रशासन लगायतका कार्यालयहरुमा एक वर्षभन्दा बढी समयदेखि दरबन्दी अनुसारका कर्मचारीहरु नहुँदा सधै गुनासो आउने गरेको प्रमुख जिल्ला अधिकारी शाही बताउँछन्।

दैनिक सेवाग्राहीको भिड लाग्ने जिल्ला मालपोत कार्यालयमा अधिकृत ३ र नायब सुब्बा ५ जना छैनन्। कर्मचारी नहुँदा सेवाग्राहीले सास्ती भोग्नु परेको कार्यालय प्रमुख रामकृण उप्रेती बताउँछन्। आफूहरुले चाहेर पनि सेवाग्राहीलाई सन्तुष्ट पार्ने गरी सेवा दिन नसकेको दुःखेसो उप्रेतीको रहेको छ।

डिभिजन वन कार्यालयमा १ सय १० जनाको दरबन्दी रहेकोमा ९० कर्मचारी मात्र छन्। वनरक्षक र सशस्त्र वन रक्षक नभएकाले समस्या आएको सहायक वन अधिकृत रामप्रसाद साह बताउँछन्। कर्मचारीको अभावमा वनको काम पनि प्रभावित हुँदै आएको साहको भनाइ छ।

दरबन्दी भए पनि कर्मचारीको अभावमा समस्या झेल्दै आएका कार्यालयले मन्त्रालय र विभागमा बारम्बार ताकेता गर्दै आएका छन्। जति धेरै ताकेता गरे पनि दरबन्दीमा कर्मचारी नपठाएको कार्यालय प्रमुखहरुको गुनासो रहेको छ। कार्यालय प्रमुखहरुले आखिरमा कर्मचारीको माग गर्ने विभाग र मन्त्रालयमा नै हो तर सम्बन्धित निकायले समस्या नबुझिदिएपछि सेवाग्राहीको समस्या समाधान नहुनुका साथै कार्यालयको आन्तरिक काममा पनि समस्या हुने गरेको कार्यालय प्रमुखहरुको भनाइ छ।

प्रकाशित: २७ मंसिर २०७८ १३:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App