६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

टनेल शैलीमा सजाइँदै ‘एयरपोर्ट रोड’

विराटनगरको कञ्चनवाडीस्थित विराटनगर विमानस्थल जाने सडक सौन्दर्यकरण गरिने भएको छ। विराटनगर—धरान ६ लेन सडकदेखि विमानस्थलसम्म पुग्ने उक्त सडकमा प्लाष्टिकका ब्लक हालेर टनेल शैलीमा सौन्दर्यकरण गर्न लागिएको हो।

साँझपख पारिवारिक रुपमा घुम्न र रमाउन चाहने नगरवासीलाई लक्षित गरी सडक सजावट गर्न लागिएको हो। यतिमात्रै हैन विराटनगर प्रदेश १ कै राजधानी र विराटनगर विमानस्थल विस्तार गरेर अन्तर्राष्ट्रिय स्तरको बनाउने तयारी पनि भइरहेकाले विमानथल जाने सडक सौन्दर्यीकरण गरेर चिटिक्क पार्न लागिएको सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष पुण्य भट्टराईले बताए। उनका अनुसार विराटनगरमा पारिवारिक रुपमा केही बेर घुम्ने स्थान पनि नभइरहेकाले यो सडकलाई सुन्दर बनाएर साँझपख बालबालिका र परिवार रमाउने स्थानको रुपमा विकास गर्न लागिएको हो।

सडक सौन्दर्यकरणको काम पुसको पहिलो साताबाटै सुरू गर्ने तयारी भइरहेको भट्टराईले बताए। उनले भने, ‘पुसको पहिलो साताबाटै निर्माणको काम सुरू गर्ने तयारी गरेका छौं।’ विराटनगरलाई चिटिक्क पार्ने अभियानको सुरूवात पनि यही सडकबाट हुन लागेको भट्टराईको दाबी छ।

विराटनगरका स्थानीय र पर्यटन व्यवसायीहरूले बारम्बार विराटनगरमा घुमफिर गर्न  सुन्दर सडक र पार्क निर्माण गर्न महानगरपालिकासँग माग गर्दै आएका थिए। विराटनगर आउने पर्यटकलाई केहीबेर अलमल्याउने ठाउँसमेत नहुँदा यहाँ आउने पर्यटकहरू निराश हुने गरेका छन्।

एयरपोर्ट रोडलाई सुन्दर बनाउन महानगरपालिकाले डिपीआर तयार गरिसकेको छ। एयरपोर्ट रोडलाई सौन्दर्यकरण गर्न तीन चरणमा काम हुने उपभोक्ता समिति अध्यक्ष भट्टराईले बताए। पहिलो चरणमा टनेल, लाइटिङको काम गरिनेछ  भने दोस्रो चरणमा  आकर्षक पेटी निर्माण गर्ने , तेस्रो चरणमा रंगरोगन गर्ने योजना रहेको भट्टराईले जानकारी दिए।

उनले सडक निर्माण नभई सजावट गर्न मात्रै लागिएकाले ३ देखि ४ महिनाभित्रै सबै काम सम्पन्न  गरिने छ। महानगरपालिकाले उपभोक्ता समितिमार्फत सडक निर्माण गर्न लागेकाले सडक सौन्दर्यकरणमा स्थानीयको पनि सहयोग रहने भट्टराईले बताए। उनले सडक सौन्दर्यकरणका लागि करिब साढे ३ करोड रुपैयाँ खर्च हुने जानकारी दिए।

उपभोक्ता समितिले काम सुरू भएको बढीमा ४ महिनामा सम्पन्न गर्ने भट्टराईले दाबी गरे। उनले बैशाख १ गते उद्घाटन गर्ने गरी काम गरिने जानकारी दिए।

विराटनगरस्थित ६ लेन सडकदेखि विमानस्थल सम्मको करिब ५ सय मिटर सडकलाई सौन्दर्यीकरण गरेर व्यवस्थित बनाएपछि अन्य सडकलाई पनि व्यवस्थित र आकर्षक बनाउने योजना महानगरपालिकाको छ। विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले एयरपोर्ट रोडमात्रै नभई विराटनगरकै सबैभन्दा व्यस्त सडक हिमालय रोडलाई पनि व्युटिफिकेसन गर्न लागिएको जानकारी दिए। उनले भने, ‘विराटनरलाई व्यवस्थित र सुन्दर बनाउने अभियानअन्तर्गत  विराटनगरस्थित एयपोर्ट रोड र हिमालय रोड गरी दुईवटा रोडको कामअघि बढाइसकेका छौं।’  

यी दुईवटा रोडलाई सुन्दर बनाएपछि अन्य सम्भावना भएका सडकहरूमा पनि सौन्दर्यकरण गर्ने योजना महानगरपालिकाको छ।

प्रकाशित: २३ मंसिर २०७८ १२:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App