१७ असार २०८१ सोमबार
image/svg+xml
समाज

आफ्नै स्रोतबाट कटहरिया नपाले गर्‍यो छात्रालाई साइकल वितरण

रौतहटको कटहरिया नगरपालिकाले आफ्नै स्रोतमा छात्रालाई साइकल वितरण गरेको छ। प्रदेश सरकारको लोकप्रिय भनिएको 'बेटी पढाऊ बेटी बचाऊ' कार्यक्रमअन्तर्गत कटहरिया नगरपालिकाको कुनै पनि विद्यालयका छात्राले साइकल नपाएपछि नपाले आफ्नै स्रोतमा छात्रालाई साइकल प्रदान गरेको हो।

कटहरिया नगरपालिकामा पहिलदेखि तीन वटा मात्र माध्यमिक विद्यालय रहेकाका चालू शैक्षिक सत्रदेखि थप दुई वटा विद्यालयलाई स्तरोन्नति गरी माध्यमिक बनाइएको छ। नगरपालिकाले पाँचवटै माध्यमिक विद्यालयका छात्रालाई साइकल प्रदान गरेको हो।

भसेढवा, कटहरिया र बगहीमा पहिलेदेखि नै संचालनमा रहेका माध्यमिक विद्यालयको कक्षा १० मा अध्ययनरत सबै छात्रालाई साइकल प्रदान गरिएको छ। यसैगरी बलिरामपुर र जमुनियामा यसै शैक्षिक सत्रदेखि माध्यमिक तह संचालनमा आएकाले कक्षा ९ मा अध्ययनरत सबै छात्रालाई साइकल प्रदान गरिएको छ।

कटहरिया नगरपालिकाको शिक्षा शाखाका संयोजक अनिलकुमार निधिले नगरभित्रका माध्यमिक तहमा अध्ययनरत छात्रामध्ये माथिल्लो कक्षाका छात्रालाई नगरपालिकाको स्रोतबाट साइकल प्रदान गरिएको बताएका छन्। नगरपालिकाका २३२ छात्रालाई साइकल प्रदान गरिएको संयोजक निधिको भनाइ छ।  

नगरपालिकामा संचालित माध्यमिक तहका सबै विद्यालयमा नै पुगेर नगर प्रमुख तथा प्रशासकीय अधिकृत र शिक्षा शाखा प्रमुखसमेतको टोलीले अभिभावक र शिक्षकहरुको उपस्थितिमा साइकल प्रदान गरेको हो।

कटहरिया नगरपालिकाका नगर प्रमुख सियाराम कुशवाहाले प्रदेश सरकारले कटहरिया नगरका विद्यालयमा पढ्ने छात्राहरुसित विभेद गरेकोले नगरपालिकाको कोषबाट छात्राको लागि साइकल किनेर वितरण गरेको बताएका छन्। कतिपय विद्यालयमा दुई पटकसम्म प्रदेश सरकारले साइकल वितरण गर्दा पनि कटहरियाका छात्रामाथि विभेद गरेकोले नैतिक दबाबमा परेर र छात्राहरुको भावनालाई सम्मान गर्दै साइकल प्रदान गरेको मेयर कुशवाहाको भनाइ छ।

कटहरिया नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साहले नगरपालिकाको स्वास्थ्य क्षेत्रमा पर्याप्त सुधार भएको र अबको समयमा शिक्षामा नगरपालिकाले लगानी बढाउँदै जाने बताएका छन्। छात्रालाई साइकल प्रदान गरेर छात्राको शिक्षामा साइकलले केही गुणस्तर बढाउने विश्वास लिएको बताएका छन्।

घरको काम गरेर छात्रालाई विद्यालय जानुपर्ने भएकोले घरदेखि विद्यालय जाने समयमा साइकलले बचत गर्ने र बाटोमा पनि छात्रालाई सुरक्षाको अनुभूति हुने विश्वास नगरपालिकाले लिएको मेयर कुशवाहाको भनाइ छ। कटहरिया नगरपालिकाले शिक्षाको क्षेत्रमा अब परिवर्तन भएको महसुस हुने कार्यक्रमहरु ल्याउन थालेको मेयर कुशवाहाको दाबी रहेको छ।

प्रकाशित: २० मंसिर २०७८ १३:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App