coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

मदन भण्डारी लोकमार्गः पुल एप्रोचमा कालोपत्रे नहुँदा दुर्घटना बढ्दै

गाईघाट–मुर्कुची खण्डको होक्सेस्थित पुल एप्रोचको अप्ठेरो बाटो सम्याउँदै। तस्बि: महेश्वर/नागरिक

राष्ट्रिय महत्वको गौरव आयोजना ‘मदन भण्डारी लोकमार्ग’मा बनेका पक्की पुलका एप्रोच (पुल अगाडि र पछाडि)को सडकमा कालोपत्रे नहुँदा दिनहुँ सवारी दुर्घटना हुने गरेको छ। सदरमुकाम गाईघाटदेखि पूर्वतर्फ बसाहासम्म र पश्चिमतर्फ गाईघाट–कटारी खण्डमा बनिसकेका दर्जन हाराहारी पुलका एप्रोच सडक कालोपत्रे नहुँदा दुर्घटनाले क्षति बेहोर्नु पर्ने बाध्यता आईपरेको हो।  

लोकमार्ग कालोपत्रे गर्दा पुल बन्न बाँकी खोला खहरेमा अगाडि पछाडि कम्तीमा २ सयदेखि बढीमा ५ सय मिटरसम्म सडक कालोपत्रे गर्न नपाइने नियम छ। सोही अनुसार गाईघाट–बसाहा र गाईघाट–कटारी खण्डमा निर्माण भईसकेका दर्जन हाराहारी पुल एप्रोचमा कालोपत्रे गर्न बाँकी छ। सडक बनाउने निर्माण कम्पनीकै जिम्मेबारी हुने एप्रोच कालोपत्रेको काम पुल बनिसकेको लामो समयसम्म नहुँदा प्रायः त्यस्तै ठाउँमा बढी दुर्घटना हुने गरेको पाइएको छ।  

गाईघाट पूर्र्व भातजोर, देवधार र झोडापाटा खोलामा डेढवर्षअघि नै पक्की पुल बनिसकेको छ। त्यस्तै गाईघाट–कटारी खण्डका सरस्वती, शाही, होक्से, वैजनाथ– १, वैजनाथ–२, भोर्ले, सोमबारे र तावा खोलामा पनि पुल बनेको झण्डै दुईवर्ष बितिसकेको छ। यतिका समय बितिसक्दासम्म पुल एप्रोच सडक कालोपत्रे बनाउनेतर्फ निर्माण कम्पनीले सुरसार देखाएको छैन। पुल बनेलगत्तै एप्रोच सडकमा कालोपत्रे गर्नुपर्ने नियम भए पनि निर्माण कम्पनीले चासो नदिएकाले धेरै चोटी दुर्घटना भएको सवारी चालकहरु बताउँछन्।  

पुल बनिसकेलगत्तै एप्रोच कालोपत्रे गरिहाल्नु पर्ने नियम भए पनि ठेकेदारले काम नगर्दा पटकपटक सवारी दुर्घटना हुने गरेको जिल्ला ट्राफिक कार्यालय उदयपुरले जनाएको छ। पुल बनाउँदा साविक सतहभन्दा अग्लो हुने भएकाले एप्रोच खण्डमा माटो पुरेर पुलसँग जोडिएको हुन्छ। पुरेको माटोलाई वर्षाले बगाउने हुनाले खाल्डाखुल्डी र उकालो ओरालो बन्ने हुँदा एप्रोचक्षेत्र सवारी आवागमनमा अप्ठेरो हुने गर्छ। पुरिएको माटो खासगरी वर्षामा हिलो र हिउँदमा धुलो भएर ग्यागर निस्कदा एप्रोचक्षेत्र कालोपत्रे नभएसम्म सवारी चलाउन निकै जोखिमपूर्ण हुने ट्राफिक प्रहरी प्रमुख सई लिलकुमार श्रेष्ठ बताउँछन्।  

ट्राफिकका अनुसार मदन भण्डारी सडकमा पछिल्लो दुईवर्षयता दुईदर्जनभन्दा बढी दुर्घटना भईसकेको छ। पछिल्लो दर्सैं तिहारयता मात्र आधादर्जन दुर्घटना भईसकेको उनी बताउँछन्। ४ दिनअघि मात्र गाईघाटदेखि रुपाटारतर्फ जाँदै गरेको ट्याक्टर उदयपुरगढी ६ नेपालटारस्थित वैजनाथ–१ पुल एप्रोचमा दुर्घटना हुँदा चालकसहित दुईजनाको ज्यान जानुका साथै १८ जना घाईते भए। पुल एप्रोचको एकातर्फ होचो र अर्कातर्फ अग्लो गरी माटो पुरिएको ठाउँमा विपरित दिसाबाट आएको मोटरसाईकललाई साईड दिँदा ट्याक्टर पल्टेर दुर्घटना भएको प्रहरीले जनाएको छ।  

मदन भण्डारी लोकमार्ग निर्माणको जिम्मा जेडआईईसी/लामा/शर्मा जेवीले लिएको छ। सडक कालोपत्रेको काम समयमै सक्दै आएको जेवीले पुल एप्रोचको काममा भने चासो नदिएको लोकमार्ग आयोजना कार्यालय गाईघाटले जनाएको छ। आयोजना प्रमुख (डिई) गोपाल खकुरेलले सडक कालोपत्रे भईसकेको र पुल बनेको निकै लामो समय बितिसक्दा पनि एप्रोच कालोपत्रे गर्नेतर्फ ठेकदारले ध्यान नदिएको गुनासो गरे।  

‘बनिसकेका ८–१० वटा पुलको एप्रोच कालोपत्रे गर्नेतर्फ निर्माण कम्पनीले अलि कम ध्यान दिएजस्तो लागेको छ’ भर्खरै लोकमार्ग रेखदेखको जिम्मा पाएका खकुरेलले भने ‘एप्रोच सडकमा दुर्घटना भईरहेको खवर आएकाले तत्काल कालोपत्रे गर्न पत्राचार गरिएको छ।’ बसाहादेखि सरदमुकाम गाईघाट हुँदै नेपालटार–कटारीसम्मका दर्जन पुल बनिसकेकाले तत्काल एप्रोच कालोपत्रे गरिहाल्न सके दुर्घटना कम गर्न तथा सवारी आवागमनमा धेरै सहज हुने डिई खकुरेलले बताए।  

जेवीका परियोजना प्रवन्धक (पिएम) द्रोण आचार्यले पुल एप्रोचको कालोपत्रेको काम यही मंंसिरभित्रै सुरु हुने बताए। उनका अनुसार बनिसकेका पुल एप्रोचमा कालोपत्रे गर्ने काम थालिहाल्न खोजेकोमा दसैं, तिहार र छठ जस्ता चाडपर्वले केही ढिला भएको र अव छिट्टै सुरु गर्ने योजना जेवीको छ। बसाहा–गाईघाट–नेपालटार खण्ड मात्र नभएर सिन्धुली–हेटौंडा खण्डका निर्माण भईसकेका पुल एप्रोचमा पनि सँगसँगै कालोपत्रे गर्ने कार्यक्रम रहेको पिएम आचार्यले बताए।

प्रकाशित: ६ मंसिर २०७८ १२:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App