पछिल्ला आठ वर्षमा सरकारले विभिन्न देशबाट नेपाल आई अवैध रूपले बसोबास गरिरहेका र गैरकानुनी गतिविधिमा संलग्न ३ हजार १ सय ३० विदेशी नागरिकलाई निष्कासन गरेको छ।
अध्यागमन विभागको तथ्यांकअनुसार सो अवधिमा १ हजार ५ सय १३ चिनियाँ नागरिकलाई निष्कासन गरिएको छ। त्यसैगरी २ सय १४ अमेरिकी नागरिक नेपालबाट निकालिँदा १ सय १८ जना बंगलादेशी,१ सय ४ बेलायती र ७४ पाकिस्तानी नागरिकलाई आफ्नो देशमा पठाइएको छ।
त्यसैगरी ८५ रसियाली,५२ इरानी, ४७ क्यानाडेली, ४६ जर्मनेली र ३६ फ्रान्सेली नागरिक पनि नेपालबाट निष्कासित भएका छन्।विभिन्न अपराधमा संलग्न भएका,भिसाको म्याद गुज्रिसकेका(ओभरस्टे) र शंकास्पद राहदानी राखेका कारण उनीहरूलाई नेपालबाट निकालिएको अध्यागमन विभागले जनाएको छ।
‘विभिन्न अपराधमा संलग्न हुनेदेखि ओभरस्टेलगायत कसुरमा विदेशीहरू पक्राउ पर्ने गरेका छन्,’अध्यागमन विभागका प्रवक्ता झंकनाथ ढकालले भने,‘पक्राउपछि त्यस्ता नागरिकलाई सम्बन्धित देशमा बुझाउने सन्धि नगरेको हुँदा देशबाट निकाल्नुको विकल्प छैन। यो वर्ष मात्र भिसा सकिएर नेपालमा बस्ने सयभन्दा बढी विदेशी नागरिकलाई देशनिकाला गरिएको छ।
नेपालमा चिनियाँ नागरिकको आवागमन बढेसँगै भिसाविपरीतको गतिविधि ह्वात्तै बढेको छ। १ सय ५० दिन उनीहरू बिनाशुल्क नेपालमा बस्ने गरेका छन्। जसका कारण अपराधसमेत बढेको छ।’ विभागको तथ्यांकअनुसार यस वर्ष १ सय ४१ विदेशीलाई नेपालबाट निष्कासन गरिएको छ। त्यसमा सबैभन्दा धेरै चिनियाँ र अन्यमा अमेरिकी,बेलायती,जर्मनेली र फ्रान्सेली नागरिक रहेको जनाइएको छ।
विभागका अनुसार पाँच वर्षयता चिनियाँ नागरिकबाट हुने अपराधको दर बढेको छ। ओभरस्टेबाहेक भिसाविपरीत कार्यदेखि मानव बेचबिखन तथा ओसारपसार र संगठित अपराधमा उनीहरूको संलग्नता सक्रिय रूपमा देखिएको छ। विभिन्न अपराधमा संलग्न तथा भिसासम्बन्धी समस्या भएका २ हजार ९ सय ८९ विदेशी नागरिकलाई उनीहरूकै देशमा फर्काएको छ।
तीमध्ये ओभरस्टे,जाली भिसा, भिसाविपरीत कार्य, भिसासँग सम्बन्धित समस्याका कारण नेपालबाट निकाल्नुपर्नेको संख्या मात्रै १ हजार ६ सय ४ जना रहेको छ। त्यसबाहेक लागूऔषध, बैंकिङ कसुर, खोटा चलन, यौन दुराचार,तस्करी,ठगी र अपहरणलगायत अपराधमा संलग्न रहेकाहरू छन्। नेपाल प्रहरीको तथ्यांकअनुसार पछिल्ला वर्षहरूमा आपराधिक गतिविधिमा चिनियाँ नागरिकको संलग्नता बढ्दै गएको छ।
गत वर्ष विभिन्न अपराधमा संलग्न ७ सय ३३ विदेशी नागरिक पक्राउ परेका थिए। उनीहरू ज्यान,चोरी,संगठित तथा आर्थिक अपराध, सामाजिक, महिला तथा बालबालिका, सवारी र विविधसम्बन्धी अपराधमा पक्राउ परेका थिए।
सामाजिक अपराधअन्तर्गत सार्वजनिक हित स्वास्थ्य,सुरक्षा र सुविधाविरुद्धको कसुरमा २ सय ६३, सामाजिक शान्तिविरुद्धको कसुरमा ६६, चोरीमा ६१, बैंकिङ कसुरमा २० र जबर्जस्ती करणीमा १९ विदेशी पक्राउ परेका थिए।
त्यसबाहेक केही विदेशी नागरिक डाका चोरी, कर्तव्य ज्यान,जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने मुद्रासम्बन्धी कसुर, सवारी ज्यान,हातहतियार खरखजना, जबरजस्ती करणी उद्योग,बालयौन दुराचार,अपराध वा शरीर बन्धक, ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ,नापतौल, नागरिकता, सवारी अंगभंग,चिट्ठा र बहुविवाहसम्बन्धी कसुरमा समेत पक्राउ परेका थिए।
‘आपराधिक घटनामा विदेशी नागरिकताको संलग्नता बढ्दै गएको छ,’ उनले भने, ‘विभिन्न प्रकृतिका अपराधका घटनामा भारतीय र चिनियाँ नागरिकहरूको तुलनात्मक रूपमा धेरै पक्राउ पर्ने गरेका छन्।
सार्वजनिक हित,स्वास्थ्य, सुरक्षा र सुविधासम्बन्धी कसुरमा पक्राउ पर्ने विदेशीको संख्या धेरै छ।’ कारागार व्यवस्थापन विभागको तथ्यांकअनुसार हालसम्म देशभरका १ हजार ३ सय १५ जना विदेशी कैदी छन्।
प्रकाशित: ६ मंसिर २०७८ ०१:५१ सोमबार