१२ श्रावण २०८१ शनिबार
image/svg+xml
समाज

समृद्धिको संभावना बोकेको थारमारे दिलौरी सडक

जुम्ला तातोपानी गाउँपालिका ५ का गम्ब डाँगी गत साता गाडी चढेर दिलौरी लेकमा पुगे। उनी यसअघि हिँड्दै पुग्ने गरेका थिए। समय निकै धेरै लाग्थ्यो। उकालो भएकोले सहजै रुपमा पुग्न पनि सकिँदैनथ्यो। तर यो पटक उनी बोलेरो जीप चढेर लेकमै पुगे। उनले थारमारे हुँदै दिलौरी लेक सम्मको सडक बन्ने कल्पना समेत गरेका थिएनन्।

उनले भने, ‘दिलौरी लेक भनेको सिँजा गाउँपालिकासँगको सीमाना हो। यहाँसम्म गाडी चढेर पुग्ने कुनै कल्पना थिएन। तर गाउँमा पुगेको सिहंदरबारको सक्रियताले सडक लेकसम्म पुग्यो। सडकसँगै सवारी पुगे। अब घाँस दाउरा, स्याउ, अन्नबाली बोकेर लिनु पर्दैन। मालबहाक गाडी ल्याएर सहजै रुपमा लेकको उत्पादन घरसम्म लैजाने सकिने भयो। यो चानचुने उपलब्धि होइन।’

तातोपानी गाउँपालिका हुदै सिँजा जोड्ने थारमारे दिलौरी सडक १५ किलोमिटर खनि सकिएको छ। त्यहाँसम्म सवारीसाधन सहजै पुग्ने गरेका छन्। तातोपानी गाउँपालिका र प्रदेश सांसद विकास कोषको रकमले १५ किलोमिटर सडक बनेको हो। अहिले खनिएको स्थान दिलौरीसम्म एम्बुलेन्स र गाडी पुग्छन्। गाडी लेकसम्म पुग्न थालेपछि स्थानीय उत्साहित छन्।

स्थानीय सुय डाँगीले यो सडकले समृद्धि ल्याउनेमा दुईमत नभएको बताए। उनले भने, ‘सडक पुगेपछि लेकाली क्षेत्रमा स्याउका बगैँचा बनाउन थालिएको छ। आलु, सिमी, फापर खेति गर्न थालिएको छ। जंगलमा काठदाउरा बेचेर भएपनि स्थानीयले गुजारा चलाउन सक्छन्।’

यो सडक तातोपानी ५ का स्थानीयका लागिमात्र लाभदायक छैन। सिँजा क्षेत्रका बासिन्दाको लागि पनि राम्रो संभावना बोकेको छ। सिँजा क्षेत्रमा उत्पादित बस्तु सहजै रुपमा बजारमा ल्याउन लैजान सकिने अवस्था भएको छ। सिँजा क्षेत्रका बिरामी ओसारपसार गर्न सहज बनेको छ।

सबै घरधुरीमा खानेपानी, खेतीयोग्य जमिनमा सिँचाइ र अन्तरपालिका जोड्ने सडक पुगेपछि संघीयता आएको अनुभुति भएको स्थानीय बताउँछन्। जुम्ला सदरमुकामबाट जाने छोटो मार्गको रुपमा रहेको यो सडक एक करोड ४५ लाख रुपैयाँ लागतमा निर्माण भएको वडाध्यक्ष हरिबहादुर डाँगी बताउँछन्।

वडाध्यक्ष डाँगीले अब चार सय मिटर सडक खनिएमा सिञ्जा गाउँपालिका र दिलौरी काँध सहजै रुपमा जोडिने छ। उनले भने, ‘कम लागतमा धेरै सडक खनिएको छ। यो सडकले समृद्धि ओसार्ने अपेक्षा पनि गरिएको छ।’  

थारमारे दिलौरी सडक अनुगमनका लागि गाडी लिएर कर्णाली प्रदेशका पूर्वमन्त्री तथा कर्णाली प्रदेशसभा सदस्य नरेश भण्डारी, तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपाने, चन्दननाथ नगरपालिकाका उपप्रमुख अप्सरादेवी न्यौपाने र तातोपानी ५ का वडाध्यक्ष हरीबहादुर डाँगी दिलौरी लेकसम्म पुगे। पहिलोपटक लेकसम्म गाडीका लस्करै लागेर जान देखेपछि स्थानीय उत्साहित बने।

पूर्वमन्त्री तथा सांसद नरेश भण्डारीले थारमारे दिलौरी सडक संघीयताको उपहार भएको बताए। वडाको पहलमा यति ठूलो सडक निर्माण हुनु निक्कै ठूलो बिषय भएको बताउँदै उनले सडकलाई गन्तव्यमा पुर्याउन आफूले थप सहयोग गर्ने प्रतिबद्धता जनाए।

प्रकाशित: ४ मंसिर २०७८ १०:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App