रसुवामा आएको बाढी तथा पहिरोपछि मधेस प्रदेशका विभिन्न जिल्लाबाट रसुवा पुगेका ६७ जना सम्पर्कविहीन रहेको विवरण सार्वजनिक भएको छ। मधेस प्रदेश प्रहरी कार्यालय, जनकपुरले परिवार तथा आफन्तबाट प्राप्त सूचनाका आधारमा उनीहरूको विवरण सार्वजनिक गरेको हो।
प्रहरीका अनुसार रोजगारी, जलविद्युत् आयोजना, निर्माण तथा अन्य कामका सिलसिलामा रसुवा पुगेका व्यक्ति तथा गोसाइँकुण्ड भ्रमणमा गएका व्यक्तिसमेत बाढीपहिरोपछि परिवारको सम्पर्कमा आउन सकेका छैनन्। सडक तथा सञ्चार सम्पर्क अवरुद्ध हुँदा उनीहरूको अवस्थाबारे परिवारमा चिन्ता बढेको छ।
सूचीमा परेका केही व्यक्ति भने उद्धारपछि वा आफैंले सम्पर्क गरेपछि परिवारको सम्पर्कमा आइसकेका छन्। प्रहरीले प्राप्त नयाँ सूचनाका आधारमा विवरण निरन्तर अद्यावधिक भइरहेको जनाएको छ।
कुन जिल्लाका कति जना ?
प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार सम्पर्कविहीन भनिएका व्यक्तिहरूको सूचीमा मुख्यतः निम्न जिल्लाका नागरिक छन् :
पर्सा : १० जना
बारा : १३ जना
रौतहट : ११ जना
सर्लाही : ११ जना
महोत्तरी : १० जना
धनुषा : ४ जना
सप्तरी : २ जना
मकवानपुर : ४ जना
सिन्धुली : २ जना
तर प्रहरीको प्रारम्भिक विवरणमा जिल्लागत वर्गीकरणमा केही असंगति देखिएको छ। सार्वजनिक सूचीमा सिरहाको उल्लेख रहे पनि छुट्टै नाम समावेश छैन। त्यसैले सम्बन्धित निकायले विवरण थप प्रमाणीकरण र अद्यावधिक गरिरहेको जनाएको छ।
जलविद्युत् आयोजना र निर्माण क्षेत्रमा कार्यरत धेरै
सूचीमा रहेका अधिकांश व्यक्ति अपर त्रिशूली–१, त्रिशूली–३ ए, त्रिशूली–३ बी, हाइड्रोपावर आयोजना तथा निर्माण क्षेत्रमा कार्यरत रहेको विवरण छ। केही व्यक्ति रसुवागढी क्षेत्रमा व्यवसाय तथा रोजगारीमा संलग्न थिए।
रौतहटबाट सम्पर्कविहीन भनिएका व्यक्तिमध्ये अपर त्रिशूली–१ जलविद्युत् आयोजनामा कार्यरत गौरव राउत र सुधिर कुमार साह, सानो भोटेकोशी जलविद्युत् आयोजनामा कार्यरत हरेराम खा तथा त्रिशूली आसपास व्यवसाय गर्दै आएका व्यक्तिहरू रहेको विवरणमा उल्लेख छ।
त्यस्तै, सर्लाहीका केही व्यक्ति त्रिशूली जलविद्युत् आयोजनामा कार्यरत रहेको र महोत्तरीका व्यक्तिहरू पनि विभिन्न जलविद्युत् आयोजना तथा निर्माण क्षेत्रमा काम गरिरहेको प्रहरीको विवरणमा छ।
गोसाइँकुण्ड पुगेका तीन जना सकुशल
धनुषाबाट रसुवाको गोसाइँकुण्ड दर्शनका लागि गएका तीन जनाले आफूहरू सकुशल रहेको जानकारी गराएका छन्। उनीहरूले गोसाइँकुण्ड पुगेको र सुरक्षित रहेको फोनमार्फत जानकारी दिएपछि उनीहरूको विवरण सम्पर्कविहीन सूचीबाट अद्यावधिक गर्न लागिएको प्रहरीले जनाएको छ।
यसैगरी, सर्लाहीका केही व्यक्तिसँग पनि पछिल्लो समयमा सम्पर्क स्थापित भएको छ। उद्धारपछि सम्पर्कमा आएका व्यक्तिहरूको विवरणसमेत प्रहरीको सूचीमा अद्यावधिक गरिएको छ।
परिवारलाई नयाँ सूचना प्रहरीमा दिन आग्रह
मधेस प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एसएसपी प्रभु प्रसाद ढकालले परिवार तथा आफन्तबाट प्राप्त सूचनाका आधारमा सम्पर्कविहीन व्यक्तिहरूको विवरण संकलन गरिएको बताए।
उनका अनुसार नयाँ सूचना प्राप्त हुने र सम्पर्क स्थापित हुने क्रमसँगै सूची अद्यावधिक हुँदै जानेछ। रसुवामा बाढीपहिरोपछि सडक तथा सञ्चार सम्पर्क प्रभावित भएकाले प्रभावित क्षेत्रमा रहेका व्यक्तिहरूको अवस्था यकिन गर्न चुनौती रहेको प्रहरीले जनाएको छ।
प्रहरीले सूचीमा रहेका व्यक्तिबारे कुनै नयाँ जानकारी प्राप्त भए सम्बन्धित जिल्ला प्रहरी कार्यालय वा नजिकको प्रहरी इकाइमा जानकारी गराउन परिवार तथा आफन्तलाई आग्रह गरेको छ। सम्पर्कमा आइसकेका व्यक्तिका परिवारले समेत प्रहरीलाई जानकारी गराए खोजी कार्य र विवरण अद्यावधिक गर्न सहज हुने प्रहरीले जनाएको छ।
रसुवामा बाढीपहिरोबाट ठूलो क्षति भएपछि बाहिरी जिल्लाबाट रोजगारी तथा विभिन्न परियोजनाका लागि पुगेका श्रमिक, कर्मचारी, प्राविधिक तथा पर्यटकको खोजीलाई तीव्र बनाउन सम्बन्धित निकायसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ।
उद्धार गर्न ६९ पटक उडाइयो हेलिकप्टर
रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीपछि प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यलाई तीव्र पारिएको छ । विपद्मा परेका नागरिकको रक्षाका लागि गृह प्रशासनले १३ हजार २९५ जना सुरक्षाकर्मी परिचालन गरेको छ ।
बाढीग्रस्त क्षेत्रमा उद्धार कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन नेपाल प्रहरीका ७ हजार २५० जना, नेपाली सेनाका चार हजार २०० जना र सशस्त्र प्रहरी बल नेपालका १ हजार ८४५ जना सुरक्षाकर्मी प्रत्यक्ष रूपमा खटिएका छन् ।
सडक सञ्जाल अवरुद्ध भएका कारण उद्धार टोलीहरूले हवाई र पैदल दुवै मार्गबाट कार्य अघि बढाएका छन् ।
स्थलगत पहुँच कठिन भएका स्थानहरूमा हवाई मार्गबाट द्रुत उद्धार गरिएको छ । नेपाली सेना र निजी हवाई कम्पनीका हेलिकप्टरहरूले ६९ पटक उडान भरेर जोखिमपूर्ण स्थितिमा थुनिएका ३५१ जना नागरिकलाई सुरक्षित स्थानमा पुर्याएका छन् ।
प्रतिकूल मौसम र नदीको तीव्र बहावका बाबजुद सुरक्षाकर्मीहरूले आफ्नै ज्यान जोखिममा राखेर निरन्तर उद्धार गरिरहेका छन् । स्थानीय प्रशासन र सुरक्षा निकायले बाँकी क्षेत्रमा पनि खोजी र राहत वितरणको कार्यलाई अझ बलियो र विस्तृत बनाउँदै लगेका छन् ।
प्रकाशित: ११ भाद्र २०८३ १९:३१ बिहीबार





