१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

नागरिकता नयाँ ढाँचामा

किरण पुन, काठमाडौं, मंसिर २- परिवर्तित नयाँ ढाँचाको नेपाली नागरिकताको प्रमाणपत्र सोमबारदेखि सरकारले ७५ वटै जिल्लाबाट वितरण सुरु गरेको छ।

एउटै सफ्टवेयर प्रयोग गरी कम्प्युटर प्रणालीबाट उपलब्ध गराउन थालिएको कार्यक्रमअन्तर्गत भक्तपुर, ललितपुर, काठमाडौं र काभ्रेबाट कम्प्युटर नेटवर्क जडान गरी नयाँ ढाँचाको नागरिकता वितरण गर्न सकिने व्यवस्था मिलाइएको गृहमन्त्रालयले जनाएको छ।

नाम, जन्ममिति, जन्मस्थान अंग्रेजी भाषामा समेत समाबेस गरिएको परिवर्तित नागरिकताको प्रमाणपत्रको आकार पहिलेको भन्दा केही बढेको छ। भारत जाने यात्रु र त्यहाँ रहेका नेपालीका हितका लागि यस्तो स्वरुपमा ल्याइएको गृहमन्त्रालयको भनाइ छ।
'विशेष गरी नेपालबाट भारत जाने नेपालीले भोग्नुपरेका समस्या बारेमा नेपाली दूतावासले सुझाव दिएपछि अंग्रेजी मिति र भाषा पनि समाबेस गरी यस्तो ढाँचाको दिने व्यवस्था गरेका हौं,' गृह मन्त्रालयका उपसचिव प्रह्लाद पोखरेलले नागरिकसित भने।

जन्ममिति विसंमा र नेपाली भाषामा मात्र हुँदा भारत जाने यात्रु र त्यहाँ बस्ने नेपालीले समस्या झेल्दैआएका थिए। राहदानी नचाहिने सीमाक्षेत्रमा यस्तो समस्या देखिँदैआएको थियो। त्यसलाई हल गर्न भारतस्थित नेपाली राजदूतले पटकपटक अंग्रेजीमा राख्न आग्रह गर्दैआएका थिए।
नयाँ ढाँचाको नागरिकता प्रमाणपत्रमा नाम, जन्मस्थान, स्थायी ठेगाना, जन्ममितिलगायत न्यूनतम सूचना अंग्रेजी भाषामा पनि हुने छ। त्यसलाई नागरिकताको पछाडि बक्समा राखिने छ।

नयाँ ढाँचाको नागरिकताको आकार बढेको छ। यसको आकार ११× ८ इन्च हुने छ। नयाँ स्वरुपको नागरिकतामा टाँसिने फोटोको आकार २.५×३ सेन्टीमिटरको हुने छ।

नयाँ नागरिकतामा नागरिकता लिने व्यक्तिको पुलिंग वा स्त्रिलिंग भनेर खुलाइएको छैन। लिंग भनेर खाली राखिएको छ। दुई लिंगबाहेक अहिले समलिंगी, तेस्रो लिंग भनेर पनि नागरिकता लिन थालेकाले खालि छोडिएको पोखरेले बताए।


यसअघि लिइसकेकाले पनि सम्बन्धित जिल्लाबाट नयाँ नागरिकता प्रतिलिपिको रुपमा लिन सक्ने छन्। सम्बन्धित जिल्लामा जान नसक्ने अवस्थामा काठमाडौंबाट नै लिन सकिने पनि व्यवस्था गरिने उनले बताए। तर अहिले भने पाइने छैन। काठमाडौंबाट लिदा कति थप दस्तुर तिर्ने तय गरिएको छैन। गृह उपसचिव पोखरेलले यसलाई छिटै लागू गर्ने बताए। उनले भने, 'अतिरिक्त दस्तुर तिरेर लिन सकिन्छ, यसको बारेमा अध्ययन गर्दैछौं। स्रोत र प्रविधिले भ्याए छिटै थाल्छौं।'

वंशजको आधारमा दिइने नागरिकता र अंगीकृत नागरिकता स्पष्ट चिन्ने गरी बनाइएको छ, नयाँ ढाँचाको नागरिकताको प्रमाणपत्र। प्रमाणपत्रमै वंशज र जन्मको आधारमा के हो? उल्लेख हुने छ। 'वैवाहिक अंगीकृत नेपाली नागरिकताको प्रमाणपत्र' 'अंगीकृत नेपाली नागरिकताको प्रमाणपत्र'को पछिल्तिर नागरिकता दिने निर्णय कहिले गरेको मितिसमेत उल्लेख गरिने छ।

नयाँ नागरिकतामा नयाँ सूचनासमेत लेखिएको छ। नागरिकताको पछाडिपट्टि 'यो प्रमाणपत्र कसैले फेला पार्नु भएमा नजिकको जिल्ला प्रशासन कार्यालय वा प्रहरी कार्यालयमा बुझाइदिनुहोला' लेखिएको छ।

नागरिकता लिने व्यक्तिले आवेदन फारममा नै स्पष्टरुपमा अंग्रेजीमा लेख्नुपर्ने छ। क्यापिटल लेटरमा नाम, इस्वी संवतमा जन्ममिति लगायतका जानकारी लेख्नुपर्नेछ।

नेपाली नागरिकता सम्मानार्थ, अंगीकृत, वैवाहिक अंगीकृत, जन्म र वंशजको आधारमा नागरिकता दिने प्रचलन छ। सम्मानार्थ नागरिकता अहिलेसम्म एडमण्ड हिलारीलाई मात्र दिइएको छ।

२००९ मा आएको नागरिकता ऐन क्रमशः २०२० र २०६३ मा संशोधन भएको छ। थालनीमा बडाहाकिमले नागरिकता हातले लेखेर दिन्थे। २०४५ सालसम्म नेपाली कागजमा लेखिएको नीलो रंगको बाक्लो कभर भएको सानो बुकलेट जस्तो नागरिकता दिने प्रचलन थियो। '२०६६ साउन १९ गतेको राजपत्रमा प्रकाशित नेपाल नागरिकता नियमावली, २०६३ को अनुसूची १,२, ७ र ८ मा गरिएको हेरफेरसम्बन्धी सूचनाअनुसार थप भएका केही अंग्रेजी विवरणसमेत समाबेस' गरी परिवर्तित नयाँ ढाँचाको नागरिकताको प्रमाणपत्र वितरण थालिएको गृहले जनाएको छ।

मुम्बईमा फिल्मसम्बन्धी अध्ययन गरिरहेका सालिक साहले नयाँ ढाँचाको नागरिकताले आफूहरुलाई राहत दिए पनि पर्याप्त नभएको प्रतिक्रिया दिए। कामको सिलसिलामा राजधानी आएका साहले नागरिकसित यस्तो प्रक्रिया दिएका हुन्।

नागरिकता लिने बेला खिचाएको फोटो ब्ल्याक एण्ड ह्वाइट मात्र होइन टोपी लगाएको राख्नुपर्ने भएकाले पनि आफूहरुले समस्या झेलिरहेको उनको भनाइ छ। नागरिकतामा राखिएको फोटो हेरेर नागरिकतावालालाई नै 'होइन भनेर' दुख दिने गरेको उनले गुनासो गरे।

'नागरिकता लिने बेला खिचेको फोटो ब्ल्याक एण्ड ह्वाइट त्यसमा टोपी लगाएको फोटो हुनाले मेरो नै फोटो हो भनेर पत्याउँदैनन्,' उनले भने।

भारत जाँदा राहदानी चाहिँदैन। तर जहाजबाट जाँदा पासपोर्ट माग्ने गरेको समेत उनले दुखेसो पोखे। उनले भने, 'जहाज चढ्दा भारतमा पासपोर्ट नै माग्छन्।'

प्रकाशित: १ मंसिर २०६६ २२:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App