१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

महागुरु फाल्गुनन्दको १३७ औं जन्मजयन्तीमा ताप्लेजुङमा विभिन्न कार्यक्रम

किराँत धर्मका महागुरु फाल्गुनन्द लिङ्देनको १३७ औं जन्मजयन्तीका अवसरमा बिहीबार ताप्लेजुङमा विभिन्न कार्यक्रम भएका छन्। १६ औं राष्ट्रिय विभूति तथा समाज सुधारक महागुरु फाल्गुनन्दको जन्मजयन्तीका अवसरमा किराँत धर्म तथा साहित्य उत्थान संघ ताप्लेजुङले सदरमुकाम फुङ्लिङमा प्रर्दशन गर्यो।

र्यालीका सहभागीले समाज सुधारका लागि महागुरु फाल्गुनन्दका योगदानहरुको स्मरण गरेका थिए। फुङ्लिङ नगरपालिका वडा नं ६ काहुलेस्थित किराँत हाङ्सम माङ्दिमको प्रांगणमा विश्व शान्ति, मानव एकता र सकल प्राणीको रक्षार्थ येत् ताम्धुङ लाधुङ् सेमी सेवा अर्थात् अष्ट महायज्ञ कार्यक्रम गरिएको किराँत धर्म तथा साहित्य उत्थान संघ ताप्लेजुङका अध्यक्ष कर्ण पालुङ्वाले जानकारी दिए। तत्कालीन अवस्थामा धर्म संस्कार र संस्कृतिको रुपमा देखिएका विकृति विसंगति र कुरीतिहरुलाई संशोधन गरी राम्रो रीति रिवाजको संरक्षण साथै खराब कुराहरुलाई सच्याउनुपर्ने अभियन्ताका रुपमा लिङ्देन उदाएका थिए।

उनले विक्रम सम्वत १९८८ वैशाख २५ गते तत्कालिन १० लिम्बुवान १७ थुमका सामाजिक व्यक्तित्वहरुको सहभागितामा भेला आयोजना गरी पाँचथरको फाल्गुनन्द गाउँपालिकास्थित लब्रेकुटीमा धर्म संस्कार र संस्कृतिमा देखा परेका विकृति, कुरीति र कुसंस्कारको  विरुद्ध  १० बुँदे सत्य धर्म मुचुल्का तयार गरी प्रचारप्रसारका साथै लागू गरेको मानिन्छ। ताप्लेजुङस्थित कुम्भकर्ण हिमश्रृङ्खलालाई किराँतीहरुको पवित्र धार्मिकस्थल तथा तीर्थस्थलको रुपमा समेत उनैले सुरुवात र विकास गरेको किराँत धर्मका जानकारहरु बताउँछन्।

सोही अनुरुप अहिले पनि किराँत धर्मावलम्बीहरुले कुम्भकर्ण अर्थात् फक्ताङ्लुङलाई पवित्र धार्मिक स्थलको रुपमा लिई हरेक वर्ष सेवा (पूजापाठ) गर्दै आएका छन्। अनेकौं समाज सुधारका कार्य गरेका कारण स्वर्गीय लिङ्देनलाई सरकारले २०६६ मंसिर १६ गते राष्ट्रिय विभूति घोषणा गरेको थियो। फाल्गुनन्द जयन्तीका दिन प्रदेश १ सरकारले प्रदेशभरी सार्वजनिक बिदा समेत दिएको छ।

प्रकाशित: २५ कार्तिक २०७८ १०:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App