६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

बस्तीमा वन्यजन्तुको त्रास: निकुञ्जसँग छैन बस्ती जोगाउने योजना

असोज पहिलोसाता राप्तीसोनारी गाउँपालिका–१, कुसुमस्थित गाभारमा ४५ वर्षीय पुरुषलाई पाटेबाघले खायो। साँझपख जंगल नजिकै रुखमुनि बसेका उनलाई बाघले खाएपछि स्थानीय त्रसित भए। त्यस घटनापश्चात् पटकपटक बाघ गाउँ वरिपरि घुमिरहँदा गाउँले शान्तसँग हिँड्डुल गर्न पाएनन्। साँझ ढुक्कका साथ सुत्नै सकेनन्। यो घटना निकुञ्ज आसपास भएको पहिलो भने होइन, यसभन्दा पहिला पनि यस्ता घटना घटेका छन्। तर पटकपटक बाघ बस्ती वरिपरि घुम्दा पनि बाँके राष्ट्रिय निकुञ्ज नागरिकलाई सचेत गराउँदैन।

वन्यजन्तुले निकुञ्ज आसपासका बस्तीमा पटकपटक क्ष्यति गर्दा पनि बाँके राष्ट्रिय निकुञ्जले बस्ती जोगाउन दीर्घकालीन योजना अघि सारेको देखिँदैन। बस्तीलाई सुरक्षित राख्न नसक्दा बेलाबेला वन्यजन्तु गाउँ छिरेर क्ष्यति गर्ने गरेको स्थानीयको भनाइ छ। बाघले मान्छे खाँदासमेत बाँके राष्ट्रिय निकुञ्जले वन्यजन्तुबाट बस्तीलाई सुरक्षित राख्ने क्रियाकलाप नगरेको स्थानीय बताउँछन्। 

सामान्य सरसफाइले मात्रभन्दा पनि वन्यजन्तुबाट बस्ती बचाउन दीर्घकालीन योजना निर्माण गर्नुपर्ने स्थानीयहरुको भनाइ छ। तर निकुञ्जले बस्ती जोगाउन खासै योजना अगाडि सारेको देखिँदैन। बस्तीमा बाघ आएको सूचना निकुञ्जले नगर्दासम्म गाउँमा जोखिम हुने स्थानीयको भनाइ छ। बस्ती आसपास सिसी क्यामेरा जडान गरेर गाउँलेलाई पूर्व जानकारी गराउँदा जोखिम कम हुने स्थानीय झुपबहादुर विष्टले जनाए। बाघ जतिबेला पनि बस्तीमा छिर्न सक्ने सम्भावना हुँदा सीसी क्यामेराबाट निगरानी बढाउनु पर्ने उनले बताए।  

कतिबेला बाघ बस्ती तथा बस्ती वरिपरि आउँछ थाहा हुँदैन,’ उनले भने, ‘पछिल्लो समय बाघ बस्ती नजिक आउन थालेको छ।’ यस्तो अवस्थामा कसरी जोखिम कम गर्न सकिन्छ उपाय अवलम्बन गर्नुपर्ने उनको भनाइ छ। ‘बाघ कतिबेला आउँछ भन्ने डरले दैनिक कामकाज प्रभावित भएका छन्,’ स्थानीय रणबीर थारुले भने, ‘एक्लै हिँड्डुल गर्न र काममा निस्कन सकिएको छैन।’ बाघ भदौ २९ गते गाभार नजिकै जंगलमा देखिएको थियो। त्यसयता बाघ नदेखिए पनि सडक ओहोरदोहोर गरिरहेका हुन सक्ने स्थानीयको आँलकन छ। ‘  

शसिला खत्रीले भनिन्, ‘बाघ र अन्य वन्यजन्तु निकुञ्जबाट मानव बस्तीमै प्रवेश गर्न थालेपछि सुरक्षा चुनौती थपिएको छ।’ मानव बस्तीमा बाघ तथा वन्यजन्तु प्रवेश गरेर धनजनको नोक्सानी गरिरहँदासमेत सम्बन्धित निकायले उचित व्यवस्थापनमा चासो नदिएको उनको भनाइ छ। निकुञ्ज आसपासमा रहेका पानी प्रदूषण भएका कारण पनि खतरा बढ्दै गएको छ। खोला तथा तलाउमा प्रदूषण बढ्दा वन्यजन्तुमा प्रत्यक्ष असर पर्दै गएको र उनीहरु बस्ती वरिपरि आउने थालेको सामुदायिक वन उपभोक्ता महासंघ बाँकेका अध्यक्ष सावित्रा पुनले बताइन्। चुरे क्षेत्रमा पानीको मुहान सुक्दै जाँदा वन्यजन्तु बस्ती नजिक आउने गरेको उनको भनाइ छ। 

खोला र नदीको पानी सफा हुँदा त्यो वरपर सबैको वातावरण राम्रो हुने, पानीका स्रोतहरु स्वच्छ हुने भएकाले यस विषयमा सबै पक्षको सचेतना आवश्यक रहेको उनले बताइन्। फोहोर र प्रदूषित पानी बग्ने खोला र नदी वरपर अन्य स्रोतको पानी पनि दूषित हुने भएकाले पानी खान वन्यजन्तु बस्ती नजिक आउने गरेको उनले जनाइन्।

पछिल्लो समय जंगलका बीचबीचमा सडक, बाटा र खोलामा पक्की पुल बनाइन थालेका कारण वन्यजन्तुमा असर पर्दै गएको छ। निकुञ्जभित्र ठूला सडक, पुललगायत भौतिक संरचनाले वन्यजन्तुको बासस्थान, आहार र समग्र जैविक–विविधतामा असर पार्न सक्ने वातावरणविद्हरुले जनाएका छन्। राजमार्गको दुवैतिर वनजंगल भइ पाटेबाघलगायतका हिंस्रक वन्यजन्तु ओहोरदोहोर गर्नुको साथै बस्तीमा समेत निस्किने सम्भावना भएको, यस्ता वन्यजन्तुले मानिसलाई आक्रमण गरी घाइते बनाउने तथा मार्ने सम्भावना भएको हुँदा सर्वसाधारणहरु सचेत हुनेपर्ने बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार साहले जनाए। 

वन्यजन्तुबाट मानव तथा घरपालुवा जनावर बचाउन खासै क्रियाकलाप नभएको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत साहले जनाए। ‘बस्ती बचाउन खासै नयाँ योजना अवलम्बन भएका छैनन्,’ उनले भने, ‘पहिलादेखि नै तारजाली लगाउने प्रचलन छ। सोहीलाई निरन्तरता दिएका छौं।’ गत वर्ष ६ किलोमिटर निकुञ्ज क्षेत्रमा तारजाली लगाइएको थियो भने यस आर्थिक वर्षमा चार किलोमिटर चारजाली लगाउने योजना छ। निकुञ्जले प्रभावकारी भूमिका खेल्न नसकेको बाहिरी गुनासो सामान्य भए पनि गुनासो गरेजस्तो समस्या नभएको उनी बताउँछन्। 

‘कतिपय मान्छेको तत्कालै घरमा कर्मचारी आइदियोस् भन्ने हुन्छ,’ उनी भन्छन्, ‘तर कर्मचारी तयारी अवस्थामा छ छैन, बोलाइएको स्थानमा आउन कति समय लाग्छ भन्ने पनि जानकारी राख्न जरुरी छ।’ बस्ती नजिकै सीसी क्यामेरा राख्दा भने मानव र वन्यजन्तुबीचको द्वन्द्व घटाउन सकिने उनी बताउँछन्। ‘सीसी क्यामेराबाट वन्यजन्तु बस्ती प्रवेश गर्न लागे नलागेको कुरा थाहा हुन्छ,’ उनले भने, ‘यदी बस्ती प्रवेश गर्न लागे वन्यजन्तुलाई नियन्त्रण गर्ने वा बस्तीका मानिसलाई सुरक्षित स्थानमा सार्न सकिन्छ।’

बाँके राष्ट्रिय निकुञ्जले अहिले सडक क्षेत्र र निकुञ्ज क्षेत्रभित्र मात्र केही स्थानमा सीसी क्यामेरा जडान भएको छ। उक्त क्यामेरा मानव बचाउनभन्दा भएका दुर्घटना जानकारी लिन जडान गरिएको बाँके राष्ट्रिय निकुञ्जले जनाएको छ।  

निकुञ्जले जंगलमा बाघका लागि आवश्यक आहारा, पानीका लागि पर्याप्त कुँवा निर्माण गरेको जनाएको छ। तर स्थानीयका अनुसार वन्यजन्तुका लागि आवश्यक आहार र पानी नहुँदा बाघ बस्ती नजिक आउने गरेको छ। पछिल्लो समय मानव–वन्यजन्तु द्वन्द्व बढ्दै जाँदा निकुञ्ज पहिला मानव बचाउने की वन्यजन्तु भन्ने विषयमा अन्योलमा छ। पर्यावणीय हिसाबले निकुञ्ज वन्यजन्तु संरक्षणमा लागेकाले निकुञ्ज वन्यजन्तुमैत्री हुने बाँके राष्ट्रिय निकुञ्जले जनाएको छ।

प्रकाशित: १८ कार्तिक २०७८ ०४:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App