१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

नेपालगन्ज विमानस्थलको सुरक्षामा गम्भीर लापर्बाही: जहाजसँग पटकपटक ठोकिन्छन् वन्यजन्तु

नेपालगन्जबाट हुम्लाको सिमकोटका लागि उड्न लागेको सिता एयरको ‘९एन–एएचबी’ जहाजसँग मंगलबार तीन वटा बँदेल एकैपटक ठोकिए। जहाजमा चालक दलका सदस्यसहित १७ जना सवार थिए। धावनमार्गमा तीव्र गतिमा गुडिरहेका बेला जहाजको चक्का अनियन्त्रित हुन खोजेपछि पाइलटले जहाज उडाएनन्।

जहाज रोकेर हेर्दा धावनमार्गमा तीन वटा बँदेल मरेका थिए। जहाजमा रहेका चालक दलका सदस्यसहित सबै यात्रु सकुशल रहे। जहाजको अगाडिको भागमा मात्र सामान्य क्षति भयो। धावनमार्गमा बँदेलको मासु छरिएका कारण बिहान करिब डेढ घण्टा विमानस्थल बन्द गरिएकोे थियो।

केही दिनअघि पनि बुद्ध एयरको ‘एटिआर–७२’ जहाजसँग दुम्सी ठोकिएको थियो। जहाज पार्किङस्थलमा आउँदै गर्दा दुम्सी ठोकिएको थियो। उक्त घटना भने सार्वजनिक भएन।

गत वर्ष पनि बुद्ध एयरकै एटिआर–७२ जहाजसँग धावनमार्गमा बँदेल आएर ठोक्किएको थियो। जहाजको पछाडिको पांग्रामा ठोक्किदा बँदेल मरेको थियो भने पाइलटको सावधानीका कारण जहाज थप क्षति हुनबाट जोगिएको थियो। गत वर्ष नै विमानस्थलको रनवेमा यती एयरको जहाजसँग पनि बँदेल ठोक्किएको थियो। बँदेल ठोक्किए पनि पाइलटको सावधानीले जहाजमा ठूलो क्षति हुन पाएन।

यी त केही प्रतिनिधिमूलक घटना मात्र हुन्। नेपालगन्ज विमानस्थलको सुरक्षा लापर्बाहीले गर्दा पटकपटक यस्ता जोखिमको बेहोर्नुपरिरहेको छ।

विमानस्थलको हाल १७ सय मिटर लामो धावनमार्ग छ। धावनमार्ग वरिपरि बाक्लो मात्रामा झाडी र बुट्यान छन्। त्यहाँ बँदेल, खरायो, निलगाई, दुम्सी, स्याल लगायत वन्यजन्तुले बासस्थान नै बनाएका छन्।विमानस्थलबाट नेपालगन्ज–काठमाडौं रुटमा मात्र दैनिक आधा दर्जनभन्दा बढी उडान हुन्छन्।

यसका साथै पहाडी तथा हिमाली जिल्लामा पनि दैनिक रूपमा दर्जनौं उडान हुने गर्छन्। तर, विमानस्थलको धावनमार्गमा बढेको वन्यजन्तुको आतंकका कारण प्रायः जहाजले जोखिमपूर्ण उडान भर्नु परेको छ।

विमानस्थलमा पटकपटक जहाजसँग वन्यजन्तु ठोक्किने घटना दोहोरिँदा विमान कम्पनीहरूले नेपाल नागरिक उड्डयन प्राधिकरण नेपालगन्ज विमानस्थल कार्यालयलाई लिखित र मौखिक रूपमा ध्यानाकर्षण गराइसकेका छन्।

तैपनि कार्यालयले सुरक्षा लापर्बाहीलाई सुधार गर्न सकेको छैन। ‘नेपालगन्ज विमानस्थलको सुरक्षामा धेरै नै लापर्बाही छ, हप्ता दश दिनमा कुनै न कुनै जहाजसँग वन्यजन्तु ठोक्किरहेका छन्,’ विमान कम्पनीका एक कर्मचारीले नागरिकसँग भने ‘धावनमार्गमा झाडी र जंगल मात्रै छ। बेलाबेलामा झाडी र जंगल सफाइ गर्नुपर्ने हो तर नागरिक उड्डयन प्राधिकरणले मतलव नै गर्दैन।’  

कैयौं पटक लिखित र मौखिक रूपमा अनुरोध गर्दा पनि कार्यालयले सुनुवाइ नगरेको विमान कम्पनीको गुनासो छ। ‘जहाजले प्रयोग गर्ने धावनमार्ग सुरक्षित हुनुपर्ने हो तर नेपालगन्जको धानवमार्ग कत्ति पनि सुरक्षित छैन। एकदमै लापर्बाही भइरहेको छ,’ ती कर्मचारीले भने ‘यथाशीघ्र झाडी र बुट्यान काट्ने व्यवस्था गरिदिनुपर्यो। यसमा खेलाँची गरे भोलिका दिनमा दुर्घटना निम्तिन सक्छ।’

प्राधिकरणले विमानस्थलको धावनमार्गलाई सामान्य तारबार मात्र गरेको छ। विमानस्थलको उत्तरमा मानव बस्ती र पूर्वी–दक्षिण क्षेत्रमा सामुदायिक वन छ। कतिपय स्थानमा तारजाली नै जीर्ण भइसकेको छ। ती स्थानबाट वन्यजन्तु मात्र नभएर पशु चौपाया र सर्वसाधारण समेत पस्ने गर्छन्।

विमानस्थल वरिपरिको तारबार प्रभावकारी नहुँदा भरपर्दो सुरक्षा व्यवस्थापन हुन नसकेको यहाँ कार्यरत सुरक्षाकर्मी बताउँछन्। ‘विमानस्थलको धावनमार्गलाई सामान्य तारबार गरिएको छ। कतिपय ठाउँमा त तारबार नै गायव छ। यसले गर्दा पनि वन्यजन्तु धावनमार्गको झाडीमा आएर बस्ने गर्छन्,’ एक सुरक्षाकर्मीले भने।

नेपाल नागरिक उड्डयन प्राधिकरण नेपालगन्ज विमानस्थल कार्यालयका प्रमुख सुवाश झा विमानस्थलको धावनमार्गमा पटकपटक वन्यजन्तु ठोक्किने क्रम दोहोरिएको बताउँछन्। ‘विमानस्थलको धावनमार्ग वरिपरि झाडी र बुट्यान छन्। त्यहाँ वन्यजन्तु आएर बस्दा रहेछन्,’ उनले भने ‘हामीले विमानस्थलको तारबार र सुरक्षामा धेरै सावधानी अपनाउँदा पनि घटना दोहोरिरहेका छन्।’ 

प्रकाशित: १७ कार्तिक २०७८ ०३:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App