८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

नेपालगन्ज विमानस्थलमा बँदेल आतंक, सिता एयरको जहाजमा ठोक्किए तीनवटा बँदेल

सिता एयरको जहाज नेपालगन्ज विमानस्थलमा ठूलो दुर्घटना हुनबाट जोगिएको छ। नेपालगन्जबाट हुम्ला, सिमकोटका लागि उड्न  लागेको ९एन-एएचबी नम्बरको जहाजसँग तीन वटा बँदेल ठोक्किएका छन्। जहाजमा ठोक्किएका बँदेल टुक्राटुक्रा भएका छन्।

नेपालगन्ज विमानस्थल कार्यालयका प्रमुख सुवास झाका अनुसार मंगलबार बिहान ७ बजेतिर चालक दलका सदस्यसहित १७ जना सवार उक्त जहाज हुम्लाका लागि उड्ने तयारीमा थियो। धावन मार्गमा गुडिरहेका बेलामा जहाजको चक्कामा समस्या आएको जस्तो भएपछि पाइलटले जहाजलाई उड्नबाट रोकेका थिए।

जहाज रोकेर हेर्दा घटनास्थलमा तीन वटा बँदेल टुक्राटुक्रा अवस्थामा फेला परेको प्रमुख झाले बताए। बँदेलको मासु धावन मार्गभरि छरिएका कारण केहीबेर नेपालगन्ज बिमानस्थलको उडान केहीबेर बन्द गरिएको थियो।

अहिले विमानस्थलको धावन मार्गमा रहेको मासु पखाल्ने काम भइरहेको त्यहाँ खटिएका एक सुरक्षाकर्मीले बताए। उक्त जहाजलाई अहिले पार्किङ गरेर राखिएको छ भने यात्रु आफ्नो घरतिर लागेको झाले बताए। विमानस्थलमा धेरै झाडी र बुट्यान भएका कारण बेलाबेलामा बँदेल जहाजसँग ठोक्किने घटना दोहोरिदै आएको छ। क्याप्टेन समीर मनास्केले कुशलतापूर्वक जहाज नियन्त्रण गरेर यात्रुलाई जोगाएका थिए।

प्रकाशित: १६ कार्तिक २०७८ ०२:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App