१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

आगलागी हुँदा करोडौँको क्षति

रौतहटको गरुडामा एक पसलमा आगलागी हुँदा करोडौँको क्षति भएको छ। गरुडा नगरपालिका ४ गरुडा बजारमा रहेको नवलकिशोर साहको छोरा शशीभूषण साहको घरमा शुक्रबार बिहान आगलागी हुँदा करोडौँको क्षति भएको छ।

मेसिनरीको थोक बिक्रेता रहेको साहको मूल पसलमा आगलागी हुँदा १० करोड जति क्षति भएको बुझिएको छ। मध्यरातपछि आगलागी भएको र शुक्रबार बिहान गस्तीमा रहेको प्रहरीको टोलीले ४ः४० मा घरबाट बाहिर आगलागीको राप बाहिर आएको देखेपछि नियन्त्रणको प्रयास गरेको थियो।

आगलागी नियन्त्रण गर्न इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी श्रीराम भन्डारीको नेतृत्वमा धेरै संख्यामा प्रहरी परिचालन भएको थियो। नेपाल प्रहरीका साथै सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले पनि आगलागी नियन्त्रणका लागि प्रयास गरेको थियो। गौर र चन्द्रनिगाहपुरबाट आएका दमकलहरूले बिहान ६ बजेसम्म आगलागी नियन्त्रणमा लिन सफल भएको थियो।

घटनास्थलको रौतहटका प्रमुख जिल्ला अधिकारी, सशस्त्र प्रहरी रौतहट प्रमुखलगायतले पनि निरीक्षण गरेका छन्।

समयमा दमकल आउन सकेको भए बढी क्षति हुनबाट जोगाउन सकिने पीडितले बताएका छन्। कम्तीमा बीस किलोमिटर टाढाबाट दमकल आउन केही ढिला हुँदा धेरै क्षति पुगेको पीडित साहको भनाइ छ। घरभित्रका मेसिनरी पार्ट्स, मोबिलका साथै दुई तल घर पनि काम नलाग्ने भएको पीडितको भनाइ छ।

आगलागीको कारणबारे यकिन हुन नसके पनि बिजुली सर्ट भई आगो लागेको हुन सक्ने अनुमान गरिएको छ।

प्रकाशित: १२ कार्तिक २०७८ ०४:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App