२३ भाद्र २०८१ आइतबार
image/svg+xml
समाज

जुम्लाको गुठिचौर गाउँपालिकामा एकल पुरुषलाई विदुर भत्ता

जुम्लाको गुठिचौर गाउँपालिकाले एकल पुरुषलाई विदुर भत्ता दिने भएको छ। गाउँपालिका भित्रका ४१ वर्षदेखि ५९ वर्षसम्मका एकल पुरुषलाई विदुर भत्ता दिने भएको हो। चालु आर्थिक वर्ष २०७८/०७९ देखि विदुर भत्ता दिने निर्णय भइसकेको अध्यक्ष हरीबहादुर भण्डारीले जानकारी दिए।

एकल पुरुषलाई मासिक २ हजार रुपैयाँ विदुर भत्ता दिने निर्णय गरिएको उनले बताए। गाउँपालिकाले विदुर भत्ताको लागि ७ लाख रुपैयाँ बजेट विनियोजन गरिएको हो। बजेट अपुग भएको खण्डमा निर्णय गरेर थप्ने छौँ, उनले भने।

गाउँपालिकाले विदुर भत्ता दिने निर्णयको एकल पुरुषले स्वागत गरेका छन्। उनीहरुले समाजमा एकल पुरुष पनि साहराविहीन हुने गरेका बताएका छन्। यो भत्ताले थोरै भएपनि राहत दिने विश्वास गरिएको छन्।

सरकारले ६० वर्षमाथिका ज्येष्ठ नागरिक, एकल महिला, बालबालिका र अपाङता भएका व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता दिँदै आएको छ। गुठीचौर गाउँपालिकाले यसबाहेक थप एकल पुरुष भत्ता वितरण गर्न थालेको प्रमुख प्रशासकीय अधिकृत मदन देवकोटाले बताए।

उनले भने,‘अहिले गाउँपालिका भित्र रहेका एकल पुरुषको तथ्यांक संकलनको काम शुरु भएको छ। तथ्यांक गाउँपालिकामा आउने वित्तिकै विदुर भत्ता दिन शुरु हुनेछ।’

एकल पुरुषको तथ्यांक संकलनका लागि प्रत्येक वडालाई सर्कुलर गरिएको छ। गाउँपालिकाले गर्भवती तथा सुत्केरी महिलालाई पोषिलो खाना हर्लिक्स, कुखुरा र अन्डा वितरण गर्दै आएको छ। हिमाली जिल्लामा ६० वर्षदेखि माथिकालाई सरकारले सामाजिक सुरक्षा भत्ता दिने भएकोले त्यो भन्दा तल ४० वर्षभन्दा माथिका एकल पुरुषलाई विदुर भत्ता दिन थालिएको हो।

गाउँपालिका महिला, बालबालिका, एकल पुरुष, एकल महिला, असाहय, अपाङगता भएका व्यक्तिको हितका लागि संवेदनशिल रहेको अध्यक्ष भण्डारीले बताए। गाउँपालिकाले यसअघि एकल पुरुषले भोग्नु परिरहेको समस्याका बारेमा अध्ययन गरेको थियो। समाजमा एक पुरुषको अवस्था पनि दयनीय भएकोले उनीहरुको अवस्थामा सुधार ल्याउन र जीवनयापनमा सहजता ल्याउनको लागि विदुर भत्ता दिने निष्कर्षमा पुगेको थियो।

पछिल्लो समयमा यहाँ छोराले बुहारी ल्याउने वित्तिकै बुढाबुढीलाई अलग्गै राख्ने प्रचलन बढेको छ। जसले उनीहरु बिचल्लीमा परेको देखिन्छ। अहिले एकल महिला संगै एकल पुरुषले पनि समस्या भोगिरहेका छन्। अध्यक्ष भण्डारीले भने,‘एकल पुरुषका समस्या बुझेर विदुर भत्ता उपलब्ध गराउन थालिएको हो।’

प्रकाशित: ११ कार्तिक २०७८ १४:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App