बन्दका कारण सदरमुकम गाईघाट भित्रने तथा बाहिरिने सम्पूर्ण साना ठूला सवारीसाधनमा विहान ६ बजेदेखि नै रोक लगाइएपछि यातायात ठप्प छ। बजारका सबै पसलहरु बन्द गरिएका छन्। बजारका चोक चोक र बसपार्क नाका त्रियुगा पुलमा ठूलो झुण्ड भएर मजदुरहरु बन्दमा उत्रिएका छन्। प्रहरी र सशस्त्र टोलीले बन्द खुलाउन आग्रह गरे पनि मजदुरले मानिरहेका छैनन्। पत्रकार, एम्बुलेन्स्, औषधि पसल र बारुण यन्त्रलाई भने बेरोकटोक चल्न दिइएको छ।
जिल्ला प्रहरी प्रमुख एसपी अजय भट्टराईले बन्द अहिलेसम्म शान्तिपूर्ण भएको र सहयोग माग्ने यात्रुलाई स्कटिङ गरेर जान दिइएको बतए। उनले सदरमुकामबाहेक अन्यत्र भने खुल्ला रुपमा यातायात सञ्चालन भइरहेको पनि बताएका छन्।
बन्दकर्ता नेपाल बिजुली, पेन्टर, प्लम्बर तथा निर्माण मजदुर युनियन (क्युपेक नेपाल) र नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) उदयपुर शाखाले संयुक्त आब्हानमा आइतबार एकदिन बन्द गरेका हुन्। मजदुरहरुले शनिबार साँझ गाईघाटमा मसाल जुलुस पनि प्रदर्शन गरेका थिए। यसअघि क्युपेकले स्थानीयस्तरमा बालुवा, गिट्टी र ढुङ्गा उत्खनन र प्रयोग गर्न पाउनुपर्ने, ठेक्का प्रबृत्तिको अन्त्य गरी मनपरी उत्खनन र जिल्लाबाहिर निकासी रोक्नुपर्नेलगायत माग गर्दै गरेको दुई चरणको शान्तिपूर्ण विरोधको सुनुवाई नगरेकाले बन्दजस्तो अप्रिय निर्णय गर्न बाध्य भएको क्युपेकका अध्यक्ष करिबहादुर मगरले बताए। उनले एकदिने बन्द सांकेतिक मात्र भएको भन्दै यसबाट पनि सरकरको आँखा नखुले सशक्त थप आन्दोलन गर्न बाध्य हुने चेतावनी पनि दिएक छन्।
मजदुरहरुले पहिलो चरणमा जिविस, नगरपालिका र प्रशासनमा ज्ञापनपत्र बुझाएर ध्यानाकर्षण गराएकेमा वेवास्ता गरेका भन्दै दोस्रो चरणमा तीनै निकायमा धर्ना दिने तथा र्याली र कोणसभा गरे पनि सरकारले वास्ता नगरेको आरोप क्युपेकका केन्द्रीय सदस्य चन्चलाल बोटले लगाए। उनले सरकारको निर्णयले देशभरका ४० लाख मजदुर प्रभावित भएको र उदयपुरका मात्र २० हजार मजदुर र तिनका परिवार भोकभोकै बस्नुपरेको अवस्था रहेकेा पनि बताए।
प्रकाशित: ७ भाद्र २०७१ २३:५१ शनिबार