१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

किन हुन्छन्, चाडपर्वमा ठूला सडक दुर्घटना?

फाइल तस्बिर

दसैंको फूलपातीको दिन अर्थात् असोज २६ गते नेपालगन्जबाट मुगु जाँदै गरेको यात्रुवाहक गाडी दुर्घटनामा पर्यो। परिवारबीचमा खुसीका साथ दसैं मनाउने योजनामा हिँडेका ३२ जना यात्रुको मृत्यु भयो भने दर्जन बढी घाइते भए। सोही दिन सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीबाट बाजुराका लागि छुटेको बस डडेल्धुरामा दुर्घटनामा पर्याे। उक्त दुर्घटनामा परेको चारजना घाइते भए। यतिमात्र होइन, दसैंका बेला देशका अन्य जिल्लामा साना तथा ठूला दुर्घटना भए। यी दुर्घटना दसैंतिहार जस्ता चाडपर्वमा अझ बढी हुने गरेका छन्।

यी सबै दुर्घटनाका प्रमुख कारण हुन, ‘क्षमताभन्दा धेरै यात्रु, एकअर्काे गाडीबीच प्रतिस्पर्धा, गन्तव्यमा पुग्ने हतारो,  तिव्र गति र जीर्ण सडक ।’ पश्चिम नेपालका तीन (लुम्बिनी, कर्णाली र सुदूरपश्चिम) प्रदेशमा दसैंका बेलामात्र चार दर्जन बढी सडक दुर्घटना भए। उक्त दुर्घटनामा ६७ जनाको ज्यान गयो भने एक सय २४ जना घाइते भएका छन्। यी प्रदेशमध्ये कर्णालीमा सबैभन्दा बढी सडक दुर्घटना भएका छन्। कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता माधव श्रेष्ठका अनुसार कर्णालीमा २१ वटा सडक दुर्घटना भए। जसमा ३७ जनाको मृत्यु भएको छ भने ६४ जना घाइते भएका छन्। सुदूरपश्चिम प्रदेशमा १५ वटा सडक दुर्घटना भएको प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। जसमा ११ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन्। घाइतेमध्ये १८ जनाजतिको अवस्था गम्भीर भएको प्रदेश ट्राफिक कार्यालय सुदूरपश्चिमका प्रमुख तथा एसपी बामदेव गौतमले जनाए। यता लुम्बिनी प्रदेश प्रहरी कार्यालयका अनुसार लुम्बिनीमा साना ठूला सडक दुर्घटनामा १८ जनाको मृत्यु भएको छ भने ३८ जना घाइते भएका छन्।

‘धर्म, संस्कार, संस्कृतिअनुसार चाडपर्वमा सामान्य मादक पदार्थ सेवन गर्ने प्रचलन छ,’ प्रदेश ट्राफिक कार्यालय सुदूरपश्चिमका एसपी गौतमले भने, ‘खाएपछि उत्तेजनामा आउने र जोखिमपूर्ण ठाउँमा पनि सवारी चलाउँदा दुर्घटना हुने गरेको छ।’ क्षमताभन्दा बढी यात्रु, तिव्र गति र एकअर्काेठाउँ नियमित यात्रा गर्नुपर्दा चालकको थकानले पनि दुर्घटनाको जोखिम बढ्देको उनले जनाए।

केही सवारी चालकले मादक पदार्थ सेवन गर्दा पनि सडक दुर्घटना हुने गरेको ट्राफिक प्रहरीको भनाइ छ।  सचेतना अभाव, दयनीय पूर्वाधार र सहकार्य नहुँदा सडक दुर्घटना हुने जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख तथा प्रहरी निरीक्षक ऐनबहादुर मल्लले जनाए। ‘कस्तो सडकको कति गति दिने भन्ने सचेतना दिन जरूरी छ,’ उनी भन्छन्, ‘सडकको पूर्वाधार सुधारसँगै पुराना गाडीमा पनि रोक लगाउनुपर्छ।’ धेरै वर्ष सञ्चालन भएका गाडी सञ्चालन हुँदा पनि अहिले सडक दुर्घटना हुँदै आएको छ। समयमै ब्रेक नलाग्दा अधिकांश दुर्घटना हुन्छन्। ‘पछाडि गाडी पाइँदैन, अहिले नै कोचाकोच गरेर गइहाल्छु भन्ने यात्रुको मानसिकता पनि दुर्घटनाको अर्काे जोखिम हो,’ उनी भन्छन्, ‘सुरक्षित यात्राका लागि हतारो गर्नुहुँदैन।’

दुर्घटनाका मुख्य कारण जीर्ण सडक, क्षमताभन्दा बढी यात्रु, तिव्र गतिमा, लामो दुरीमा एउटै चालक हुँदा चालकलाई थकाइ लाग्नु, क्षमताभन्दा बढी यात्रु राख्दा यात्रु ओरालेर सुरक्षित अर्काे गाडीमा यात्रा गराउनुको साटो ट्राफिक प्रहरीले जरिवाना असल्नु, पुराना सवारीसाधन, सवारीसाधनबीच प्रतिस्पर्धा हुनु रहेको सर्वसाधारणहरू बताउँछन्। ‘दसैंतिहार लगायतका चाडपर्वमा मान्छेलाई घर जान हतार हुन्छ,’ सुर्खेतस्थित नागरिक समाजका अगुवा खिम रेग्मीले भने, ‘यात्रु गाडीको अवस्था बुझेर र बसको सिट क्षमताअनुसार यात्रु छन् छैनन् भनेर हेर्दैनन्, जसले दुर्घटना निम्त्याउँछ ।’ यात्रुहरू पनि कोचाकोच गरेर यात्रा गर्दा दुर्घटनाको जोखिम हुने गरेको उनी बताउँछन्। ‘लामो दुरीमा चलेको गाडी एक ठाउँबाट अर्काे ठाउँ जाँदा मर्मत गरेर चलाउनुपर्ने हो,’ उनी भन्छन्, ‘तर यातायात व्यवसायीले त्यसै गर्दैनन्, मर्मत नगरी गाडी चलाउँछन्, उनीहरूलाई सुरक्षित यात्राभन्दा बढी पैसाको माया हुन्छ।’

चाडपर्वका बेला यात्रुको चाप बढेपछि लामो दूरीका सवारीसाधन पनि नरोकी सञ्चालन हुन्छन्। व्यवसायीलाई गाडीको मर्मत सम्भार गर्ने समयमै हुँदैन। सवारीसाधनको नियमित परीक्षण र मर्मत सम्भार नहुँदा गाडी दुर्घटना हुने गरेको बाँके सुकराति भगवानले बताए। अरूबेला पाँच दिनमा १ दिन पालो पाउने सवारीसाधनले चाडपर्वका बेला हरेक दिन गुड्नुपर्छ। त्यसकारण गाडीको इन्जिन र मेसिनरी सामानहरूमा क्षति पुग्छ। निरन्तर गाडी गुड्दा दुर्घटना हुने भन्दै उनले भने, ‘चाडवाडका बेलामा सरकारले गाडीको उचित व्यवस्था गर्नुपर्छ।’

प्रकाशित: ३ कार्तिक २०७८ १०:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App