coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

बतास र वर्षाले धानबालीमा व्यापक क्षति

तीन दिनदेखि परेको पानीले रौतहटको धानमा व्यापक क्षति पुर्‍याएको छ। पानीसँगै चलिरहेको बतासले धानलाई थप क्षति पुर्‍याएको हो।

वर्षाले धानखेतमा पानी जमेको छ। काट्नलाई तयार भएको धान बतासले जमेको पानीमा ढलेपछि धानखेती गर्ने किसान चिन्तित बनेका छन्। निरन्तर पानी परिरहेकाले पानीमै ढलेको धानलाई स्याहार्न पनि सकेका छैनन्। पानीमा ढलेको धान खेतमै उम्रने डरले किसान चिन्तित छन्।

बाला झुलिरहेका तर नपाकेको धान पनि पानीमा ढलेको देखिएको छ। यसरी धान ढलेपछि वर्षभरिको परिश्रम र लगानी खेर जाने चिन्ताले किसान चिन्तित देखिएका छन्। वर्षा र बतास रोकिएपछि धानलाई ठड्याउँदा पनि पचास प्रतिशतभन्दा बढी धानमा बाला नलाग्ने समस्या हुने हो कि भन्ने चिन्ता किसानलाई लागेको छ।

कतिपय किसानले धान काटेर खेतमै छाडेको अवस्थामा पानी परेपछि झन् धेरै क्षति पुगेको छ। काटेको धानमा पानी पसेपछि खेतबाट बाहिर निकाल्न समस्या देखिएको र पानीबाट मुस्किलले बाहिर निकाले पनि धान उम्रिने समस्या भएको किसानको चिन्ता देखिएको छ।

अझै वर्षा हुने सम्भावना रहेको चेतावनी आइरहेकोले किसान थप चिन्तित देखिएका छन्। रौतहटको दुर्गा भगवती गाउँपलिकाका किसान सुरज साहले वर्षभरिको मिहिनेत र आशामाथि पानी परेर बर्बाद भएको बताएका छन्। अझ वर्षा हुने चेतावनीले किसानहरुलाई झन् तर्साएको साहको भनाइ छ।

यसैबीच नेकपाका नेता प्रभु साहले किसानलाई भएको व्यापक क्षतिबाट जोगाउन क्षतिपूर्ति दिनुपर्ने बताएका छन्।

गौर नगरपालिकाका मेयरका उम्मेदवार तथा युवा समाजसेवी शम्भु साहले सरकारले गरिब किसानलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने माग गरेका छन्। किसानको वर्षभरिको परिश्रम वर्षातले बर्बाद पारेपछि सरकारले क्षतिपूर्ति दिनुपर्ने समाजसेवी साहको भनाइ छ।

प्रकाशित: २ कार्तिक २०७८ १३:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App