१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

‘मोहम्मद डे’ का अवसरमा नेपालगन्जमा बृहत र्‍याली

इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदको १४९६ औं जन्मोत्सव अर्थात् ‘मोहम्मद डे’ का अवसरमा नेपालगन्जमा मंगलबार बृहत र्‍याली निकालिएको छ। उक्त पर्वका अवसरमा मुस्लिम समुदायले र्‍याली निकाल्नुका साथै मस्जिदमा कुरान पाठ गर्ने, हजरत मोहम्मदका उपदेश स्मरण गर्ने, सामूहिक भोजन गर्ने र एकअर्कामा शुभकामना साटासाट गर्ने प्रचलन छ।  

मोहम्मद डेका अवसरमा स्थानीय फैजुनब्बी जामा मस्जिदबाट सुरु भएको बृहत र्‍याली वडा प्रहरी कार्यालय रोड, एमपी स्कुल, त्रिभुवन चोक, विपी चोक, घरबारीटोल हुदै पुनः गौसिया मस्जिदमा पुगेर समापन भएको थियो। र्‍याली सुरु हुनुअघि जामा मस्जिद क्षेत्रमा आयोजित कार्यक्रममा लुम्बिनी प्रदेशका वन मन्त्री सुरेन्द्र हमाल, पूर्व शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राई, लुम्बिनी प्रदेशका सांसद मोहम्मद याकुव अन्सारी, संविधान सभा सदस्य अब्दुल हमिद सिद्धिकी, जिल्ला प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारी, नेपाली सेनाका कर्णेल, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी, निर्वतमान अध्यक्ष नन्दलाल बैश्य लगायतले शुभकामना आदान प्रदान गरेका थिए।  

मोहम्मद डेलाई ईद मिलादुननबी र १२ रबिउल अब्बल पनि भन्ने गरिन्छ। नेपाली मुस्लिम समुदायले यस पर्वलाई मोहम्मद जयन्ती भनेर पनि मनाउने धार्मिक अगुवा बताउँछन्। मोहम्मद डेका अवसरमा मुस्लिम समुदायहरु गरिब तथा विपन्न, असक्त, अनाथलाई दान दिने, घर–आँगन सरसफाई गर्ने, घरमा इस्लामिक झण्डा फहराउने, दिप–प्रज्ज्वलन गर्ने लगायत क्रियाकलाप गर्छन्। 

प्रकाशित: २ कार्तिक २०७८ ०८:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App