coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

सर्लाहीमा हतियारसहित एकजना पक्राउ

सर्लाहीको बलरामा हतियारसहित एक जना पक्राउ परेका छन्। बलरा नगरपालिका ३ लक्ष्मीपुरका नवनीत झा हतियारसहित पक्राउ परेका हुन्।

स्थानीय विनय झासँग नवनीत झाको सामान्य झगडा हुँदा नवनीत झाले पेस्तोल निकालेपछि गाउँलेहरुले झाबाट पेस्तोल खोसेका थिए। खोसिएको पेस्तोल र पेस्तोल निकाल्ने झालाई गाउँलेहरुले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए।

इलाका प्रहरी कार्यालय बलराका प्रहरी नायब निरीक्षक मोहन कटुवालले गाउँको सामान्य विवादमा पेस्तोल निकाली गाउँलेलाई ताक्ने नवनीत झालाई पेस्तोल र मैग्जिनसहित नियन्त्रणमा लिइएको जानकारी गराएका छन्।

पक्राउ परेका झालाई जिल्ला प्रहरी कार्यालय मलंगवा पठाइएको कटुवालले जानकारी गराए।

नवनीत झासित गाउँमा झगडा परेका विनय झा चितवनको नारायणघाटमा व्यापार व्यवसाय गर्दै आएका छन्। विनय झाले आगामी स्थानीय तहको निर्वाचनमा वडाध्यक्ष पदमा चुनाव लड्ने घोषणा गरिसकेका छन्।

गाउँमा निकै सक्रिय तथा लोकप्रिय समाजसेवीको परिचय बनाइसकेका विनय झाको बढ्दो लोकप्रियताबाट त्रसित भएर प्रतिशोध लिन नवनीत झाले हतियार ताकेको हुन सक्ने बताइएको छ।

गाउँमै रहने नवनीत झा पनि चुनावको तयारीमा रहेको बुझिएको छ। लोकप्रिय प्रतिद्वन्द्वीलाई तह लगाउन हतियार ताकेको हुन सक्ने स्थानीयको भनाइ छ।

भारतको सीतामढी जिल्लासित सिमाना जोडिएको बलरा नगरपालिकामा नेपाल–भारत आवागमन निर्वाध हुने गरेको छ।

प्रकाशित: ३० आश्विन २०७८ ०९:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App