अधिकांश मानिसहरु दशैँको किनमेलमा व्यस्त भइरहँदा लहानका रामबाबु भने भगवान बनाउन व्यस्त हुन्छन्। भगवान अर्थात् भगवानका मूर्ति। लहान नगरपालिका–७ स्थित दुर्गा मन्दिरका लागि उनी प्रत्येक वर्ष विशेष मूर्ति बनाउँछन्। यस मन्दिरमा विगत आठ वर्षदेखि दुर्गा पूजाका लागि भगवानको मूर्ति बनाउँदै आएका छन्। यसअघि उनका पुर्वजले पनि यसै मन्दिरका लागि मूर्ति बनाउँथे।
प्रत्येक वर्ष दुर्गा पूजामा भगवानको मूर्ति बनाउने रामबाबुलाई मूर्तिकार भन्दा पनि भगवान बनाउने मान्छेका रुपमा चिन्छन्, यस भेगका मानिस माझ। कारण उनी माटोको अन्य भाँडोभन्दा भगवान बनाउनमै पोख्त छन्। माटोको अन्य भाँडो बनाउनै नआउने चाहिँ होइन। तर, उनको रुची भने भगवान बनाउनमै छ। त्यही भएर उनी भगवान बनाउने मान्छेको रुपमा परिचित छन्।
उनले भारतको कलकत्ताबाट मूर्तिकला सम्बन्धी विषेश सीप सिकेका छन्। सीप सिकेर धेरै वर्ष उत्तै(कलकत्ता) मूर्तिकारको रुपमा काम गरेर सात्त वर्षअघि घर फर्केका हुन्। भारतमा कर्मथलो बनाउँदा आम्दानी राम्रै हुन्थ्यो। तर, सधैँभरी घर छोडेर बस्न कहाँ सकिन्छ र, उनले सुनाए । माटोको भाँडो बनाउने पुख्र्यौली पेशालाई निरन्तरत्ता दिँदै उनी घर फर्केर मूर्तिकला पेशालाई अघि बढाएका छन्। रामबाबुले भारत र नेपालमा थुप्रै भगवानका मूर्ति बनाएका छन्।
घर फर्केपछि पहिलो मूर्ति दुर्गा पूजाको अवसरमा लहानमै बनाएको रामबाबु बताउँछन्। सुरुवात भगवानकै मूर्ति बनाएर गरे उनी भन्छन्,‘अन्तिमसम्म भगवानकै मूर्ति बनाउने धोको छ।’ उनको मूर्ति बनाउने शिलसिला लहानबाट सुरु भई कलकत्तामा निखारिएर पुनः लहानमै फर्केको छ। नवदुर्गाको मूर्ति बनाउने थालेका रामबाबु घरमा अन्य मूर्तिहरुको कालिगडी गर्छन्।
लहानको दुर्गा मन्दिरमा रामबाबुले बनाउदै आएको नवदुर्गा माताको मूर्तिको निर्माण कार्यमा दुर्गा मन्दिर पूजा समितिले आर्थिक सहयोग गरिरहेको छ। यो मूर्ति निर्माण सहयोग स्वरुप रामबाबुले एक लाख रुपैयाँ पारिश्रमिक लिन्छन। उनी भन्छन्,‘यस्तो मूर्ति अरु ठाउँ बनाएको भए चार लाख लिन्थे।’ यो मूर्ति सप्तमीदेखि पूर्णिमासम्म प्रर्दशनमा राखिन्छ। पूर्णिमाको भोलिपल्ट मूर्तिलाई जलाशयमा लगेर बिसर्जन गरिन्छ।
यो वर्षको दुर्गा पूजाका लागि रामबाबुले दुर्गा, लक्ष्मी, गणेश, सरस्वती, कार्तिक, पार्वती आदिको मूर्ति निर्माण गरेका छन्। चिप्लो माटो, पराल आदिबाट मूर्ति तयार गरिन्छ। मूर्ति बनाउनका लागि आवश्यक सामग्री माटो, रंग र कपडाहरु आवश्यक पर्ने उनी बताउँछन्।
भदौको अन्तिम सातादेखि रामबाबु र परिवारका तीन सदस्य दिनरात लगाएर मूर्ति निर्माणलाई अन्तिम रुप दिएका हुन। माटोमै जन्मिए हुर्किएकाले माटोको काममा पोख्त नहुने कुरै भएन उनले भने। कलकत्ताबाट मूर्ति बनाउने विशेष कला सिकेकोले हामीकहाँ मूर्ति बनाइदिन भन्न आउने झुमिन्छन्। मधेसमा मनाइने अन्य पूजा भन्दा दुर्गापूजाका लागि बनाइने मूर्तिमा मेहनत बढी लाग्ने उनको अनुभव छ। अरु पूजाका लागि घरमै मूर्ति बनाउँछौं उनले भने,‘घरबाटै कनेर लग्छन्।’
मुर्ती बनाउन बाँस, सुतली, पराल, मसिनो लकडी, काँटी, माटो, सनपाट र भुस(धानको पिना) आवश्यक पर्ने उनी बताउँछन्। यी समग्रीले मूर्तिको आकार तयार हुन्छ। त्यसपछि रंगरोगन, कपडा र गहना चाहिन्छ। मूर्ति बनाउने काम खुट्टाबाट सुरु हुन्छ। पराल र सुतलीलाई सँगै बाध्दै पहिला खुट्ट तयार पारिन्छ। त्यसपछि शरिरको बीचको भाग तयार पारिन्छ। र, अन्तमा टाउँका र हात्तहरु तयार पार्ने काम हुन्छ। सुतली र परालले मूर्तिको आकार तयार पारेपछि भुस मिसाईएको माटोले आकार भर्ने काम गरिन्छ। माटो सुकेपछि सनपाट मिसिएको माटो लगाएर फेरि सुक्न छोडिन्छ। त्यसपछि चिप्लो माटोले मूर्तिलाई पूर्ण आकार बनाईन्छ।
पूर्ण आकारको मूर्ति तयार भैसकेपछि रंगरोगन, पहिरन र सिंगारका काम हुन्छ। रंग र पहिरन छनौटमा धेरै समय खर्च हुने रामबाबु बताउँछन्। दुर्गा पूजाका लागि मूर्ति तयार पार्न झण्डै एक महिना खर्चिनुपर्ने उनले भने। मूर्ति अवलोकन दर्शन गर्न आउनेको भिंड बाक्लो हुने भएकोले कुशल कला देखाउने चुनौती हुन्छ। दुर्गा पूजामा मूर्ति पैसाको लागि भन्दा पनि प्रचारका लागि बनाउँदै आएको उनले भने। मंगलबार निशापूजापछि भगवानको छोपिएको अनुहार उघार्ने पूजा समितिले जनाएको छ।
०४५ सालमा ९ सय रुपैयाँमा दुर्गा पूजामा मूर्ति बनाएको लहान– ८ का बेचन पण्डितले सुनाए। बेचन रामबाबुका पीता हुन। यो परिवार जिल्लाभरी दुर्गा पूजाको मूर्ति बनाउने काम गर्छन्। हाम्रो कालिगडी लहानमा मात्र सीमित छैन् रामबाबुले भने,‘ सप्तरी र धनुषाका केहि क्षेत्रमा समेत हाम्रा स्टाफहरु मूर्ति बनाउँछन्। उनी भन्छन्,‘दुर्गा पूजाको रौनक बढ्नेनै माटोको मूर्तिले हो।’ मूर्ति जति आकर्षक हुन्छ भक्तजन उतीनै हेर्न झुमिन्छन्। दुर्गा पूजामा माटोको मूर्तिलाई धार्मिक रुपमा शुद्ध मानिन्छ। सात पूर अर्थात गाउँको अन्तरमा पूर जोडिएको सात ठाउँको माटोबाट मूर्ति बनाउँदा शुद्ध हुने धार्मिक विश्वास रहिआएको छ। लहानको दुर्गापूजामा खुट्टी खोलाको माटोले मूर्ति तयार पारिन्छ। यो खोलामा कैयन ‘पूर’को माटो बगेर आएको मान्छिन्।
प्रकाशित: २९ आश्विन २०७८ १२:४९ शुक्रबार