coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

हिरासतमै आत्महत्या, छानबिन गर्न समिति

जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतभित्रै आइतबार बिहान एक थुनुवाले आत्महत्या गरेपछि पाँच घन्टासम्म इनरुवा तथा आसपासको क्षेत्र तनावग्रस्त बन्यो। 

अभद्र व्यवहार मुद्दामा दुई साताअघि पक्राउ परेका भोक्राहा–नरसिंह गाँउपालिका–५ का २९ वर्षे हकिब मियाँमाथि अनुसन्धान भइरहेको थियो। प्रहरी कार्यालयभित्रको हिरासतमा गम्छाको पासो लाएर आत्महत्या गरेपछि घटनालाई शंकास्पद भन्दै मृतकका आफन्त र गाउँलेले इनरुवा तथा आसपासका क्षेत्रमा गरेको प्रदर्शनले वातावरण तनावग्रस्त बनेको थियो।

भोक्राहा–नरसिंह र इनरुवा क्षेत्रमा आइतबार बिहान ८ बजेदेखि बजार बन्द गरेर पूर्व–पश्चिम राजमार्गसमेत अवरुद्ध गरेर जिल्ला प्रहरी कार्यालयअगाडि प्रदर्शन गर्दा तनावग्रस्त बन्यो। प्रदर्शनकारीले जिल्ला प्रहरी कार्यालयमा अन्धाधुन्ध ढुंगामुढा र लाठी प्रहार गरेपछि भिड तितरबितर पार्न प्रहरीले ३७ राउन्ड अश्रुग्याँस प्रहार गरेको डिएसपी नरेन्द्र कार्कीले बताए। उनका अनुसार प्रदर्शनकारीले प्रहरीलाई अन्धाधुन्ध प्रहार गर्दा १३ प्रहरी घाइते भएका छन्। 

घाइतेको अवस्था सामान्य छ। जिल्ला प्रहरी कार्यालयअगाडि बस चोकसँगै सुनसरी खोला पश्चिमतर्फ दुई स्थान गरी चार स्थानमा अवरोध सिर्जना गरेर प्रदर्शनकारीले आइतबार दिउँसो १ बजेसम्म प्रदर्शन गरे। जिल्ला प्रशासन कार्यालयले सात सदस्यीय छानबिन समिति गठन गर्ने र मृतक युवकका परिवारलाई क्षतिपूर्ति दिलाउने बतापछि प्रदर्शन रोकिएको थियो। घटनाको छानबिन गर्न सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी महेश पोखरेलको नेतृत्वमा सात सदस्यीय छानबिन समिति गठन भएको छ।

छानबिन समितिमा जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी नरेन्द्र कार्की, भोक्राहा नरसिंह गाउँपालिका कार्यवाहक अध्यक्ष पुनम मेहता, इनरुवा–९ का वडाध्यक्ष वसुर मुदिन अन्सारी, भोक्राहा नरसिंह–५ का वडाध्यक्ष वसिर मनसुरी र अन्य दुईजना मृतकका आफन्त रहने सहमति भएको सहायक प्रजिअ पोखरेलले बताए। उनका अनुसार छानबिन अहिलेसम्म सक्ने टुंगो नलागे पनि सोमबार नयाँ प्रजिअ इन्द्रदेव यादव आएपछि टुंगो गरिनेछ।

‘सम्भवतः दसैंपछि देखि छानबिन सुरु हुनेछ,’ पोखरेलले भने। जिल्ला प्रशासन कार्यालयले मृतकका परिवारका लागि क्षतिपूर्ति दिलाउन गृह मन्त्रालयमा सिफारिस गर्ने पनि सहमति भएको छ।  

इनरुवा–९ बबियाकी खत्वे थरकी युवतीसँग प्रेममा परेर फरार भएका हकिबलाई दुई साताअघि प्रहरीले पक्राउ गरेको थियो। सुरुवातमा युवतीका आफन्तले हकिवले आफ्नी छोरीलाई अपहरण गरेर लगेको प्रहरीमा उजुरी गरेका थिए। तर, धनकुटाबाट पक्राउ गरेर दुवै जनालाई ल्याएपछि प्रेम सम्बन्धमा रहेको खुलेको थियो। केटीको उमेर नपुगेकाले गर्दा आफन्तको जिम्मा लगाएर हकिबलाई अभद्र मुद्दा चलाइएको थियो।

हकिव जिल्ला प्रहरी कार्यालयमा रहेका तीनवटा थुनुवा कक्षमध्ये १ नम्बरमा थिए। उनले आइतबार बिहान साढे ३ मा आत्महत्या गरेको खुलेको छ। हकिब रहेको थुनुवा कक्षभित्र १४ जना थिए। हवल्दारको नेतृत्वमा पाँच जना प्रहरीले निगरानी गर्ने गर्छ। तर, उनले आत्महत्या गर्दा थुनुवा र प्रहरी कसैले पनि सुइँको पाएनन्। ‘सिसिटिभीको फुटेजबाट उनले आत्महत्या गर्नुअघि शौचालय गएको स्पष्ट देख्न सकिन्छ,’ डिएसपी कार्कीले भने, ‘शौचालयबाट आएपछि आत्महत्या गरेका छन्।’

मृतक हकिबका बाबु फूलोमहमद मियाँले आफ्ना छोराले राजीखुसीमै केटीलाई चौथो पटक लिएर भागेका थिए। ‘जब मेरो छोरासँग चौथो पटक भागेपछि केटीका बाबुले जसरी पनि केटालाई ठीक लगाएर छाड्ने मलाई नै टेलिफोन गरेर चेतावनी दिएका थिए,’ फुलो महमदले भने। अनुसन्धान टुंगिएर हकिब आइतबार नै छुट्ने तय भएको थियो। 

यसैबीच मृतक पक्षले इनरुवा–९ मा केटी पक्षको गोदाममा आगजनी गरेको छ। आगो नियन्त्रण गर्न गएका इनरुवा–९ का ४५ वर्षे दयान्दन खत्वेलाई पनि प्रदर्शनकारी युवाले भाटाले हानेर गम्भीर घाइते बनाएका छन्। उनको इनरुवा अस्पतालमा उपचार भइरहेको छ।

प्रदर्शनकारीले केटी पक्षको घरमै आगजनी गर्न खोजे पनि बाक्लो सुरक्षाकर्मी परिचालन गरेकाले गर्दा स्थिति नियन्त्रणमा लिएको डिएसपी कार्कीले बताए। 

प्रकाशित: २५ आश्विन २०७८ ०१:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App