५ वैशाख २०८१ बुधबार
समाज

बाँकेका दुई महिलाको हत्यामा संलग्नलाई तत्काल कारबाही गरिने गृहमन्त्री खाँणको प्रतिबद्धता

गृहमन्त्री बालकृष्ण खाँणले बाँकेका दुई महिलाका हत्यारालाई तत्काल पक्राउ गरी कारबाही गर्ने बताएका छन्। गृहमन्त्री खाँणले बाँकेकी नकुन्नी धोबी र निर्मला कुर्मीको हत्यामा संलग्नहरुलाई तत्काल अनुसन्धान गरी कानुन बमोजिम कडा कारबाही गर्ने बताएका हुन्। 

आईतबार सिंहदरवारमा पुगेर महिला अधिकारकर्मीहरुले सो घटनाका दोषीमाथि कडा कारबाही गर्न गृहमन्त्री खाँणलाई ज्ञापन पत्र बुझाएका थिए। त्यसक्रममा गृहमन्त्री खाँणले पीडितलाई न्याय दिन सरकार प्रतिवद्ध रहेको बताए। उनले भने ‘नेपाली जनताको जीवन रक्षा गर्ने राज्यको दायित्व हो। 

कुनै पनि नेपाली जनताले अनाहकमा जीवन गुमाउन नपरोस् त्यसमा हामी गम्भिर छौं। र जनताको जीवन रक्षाका लागि महिला दिदीबहिनीहरुको रक्षाका लागि राज्य र सरकार गम्भिर छ। यी भएका घटनाहरुको बारेमा तत्काल अनुसन्धान पनि हुन्छ। अव कानुनमा भएको व्यवस्थाको रक्षा गर्ने, कानुनको रक्षा गर्ने दायित्व पनि सरकारको हो । कानुन बमोजिम नै कारबाही हुन्छ।’

गृहमन्त्री खाँणले सरकारले महिलामाथि हुने हत्या, हिंसालगायतका अपराधिक घटना नियन्त्रण गर्न गम्भिर भएर लागिपरेको दावी समेत गरे। त्यसक्रममा महिला अधिकारकर्मीहरुले पीडिताको न्यायका लागि दोषीमाथि कडा कारबाही गर्न सरकारको गम्भिर ध्यानाकर्षण गराएका थिए। महिला सुरक्षा दवाव समूहकी सुशीला श्रेष्ठले दोषीमाथि कडा कारबाही गरी पीडितलाई न्याय दिन सरकारलाई दवाव दिनु परेको बताए। उनले सरकारले सो घटनाको अनुसन्धान गरी दोषीमाथि कारबाही गर्न कुनै चासो नदिएको भन्दै आक्रोश समेत व्यक्त गरे।

महिला अधिकारकर्मीहरुले सो घटनाका पीडितको न्यायको खोजी गर्दै नेपालगंजबाट पैदल यात्रा गरी काठमाडौं आई शान्तिपूर्ण प्रर्दशन गरिरहेका महिला अधिकारकर्मीहरुलाई प्रहरीले बल प्रयोग गरी नियन्त्रणमा लिएको उल्लेख गर्दै तत्काल रिहा गर्न पनि माग गरेका छन्।

प्रकाशित: २४ आश्विन २०७८ १२:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App