१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

चाडवाड नजिकिएसँगै गैरकानुनी गतिविधि बढ्दो

चाडवाड नजिकिएसँगै जिल्लामा गैरकानुनी गतिविधि बढेको छ। यसक्रममा सुरक्षाकर्मीले दिनहुँजसो अवैध ओसारपसार भइरहेका सामान र नगदसमेत बरामद गर्दैछ। भारतबाट अवैध रूपमा ल्याएर लुकाइएको ठूलो परिमाणको औषधि सशस्त्र प्रहरीले नेपाल–भारत सीमा क्षेत्रबाट बरामद गरेको छ। सूर्याेदय नगरपालिका–३, कट्टेबुङबाट सोमबार मध्यराति ४० लाख रुपैयाँभन्दा बढीको औषधि बरामद गरिएको सशस्त्र प्रहरी स्रोतले जनाएको छ।

कट्टेबुङको जंगलभित्र एकान्तस्थलमा रहेको घरबाट भारतीय कम्पनीका औषधि बरामद गरेको हो।सशस्त्र प्रहरीका अनुसार यो औषधि कसले र किन ल्याएको भन्ने खुलेको छैन। प्यारालाइसिसले थलिएका दम्पती बस्ने घरमा ल्याएर लुकाइएको औषधि कसको भन्ने ती दम्पती स्वयंलाई पनि थाहा नभएको सशस्त्रले जनाएको छ। बरामद औषधि मंगलबार पशुपतिनगर भन्सारमा बुझाइएको छ।  

असोज १७ गते साँझ प्रहरीले ११ लाख भारतीय नगदसहित फिक्कलका व्यवसायीलाई मेची राजमार्गको हर्कटेबाट पक्राउ गरेको थियो। फिक्कलबाट झापातर्फ जाँदै गरेको मे १ च ६४२४ नम्बरको कारमा सवार सूर्याेदय नगरपालिका १० फिक्कलका व्यवसायी ३५ वर्षे अनुप अग्रवालको साथमा रहेको भारु नोट बरामद गरिएको प्रहरीले जनाएको छ।

अग्रवाल र कार चालक सूर्याेदय नगरपालिका–८ का ५१ वर्षे कर्ण कठायतसमेत पक्राउ गरेको थियो। प्रहरी इन्स्पेक्टर किशोर तामाङका अनुसार ५ सय दरका २ हजार १ सय ३३, २ हजार दरका १४, २ सय दरका २७ र सय रुपैयाँ दरको एउटा नोट उनीहरूबाट बरामद गरिएको छ। ‘पक्राउ व्यक्ति र बरामद नगद इटहरीस्थित राजस्व अनुसन्धान कार्यालयमा बुझाइएको छ,’ उनले भने।  

असोज १८ मा प्रहरीले मेची राजमार्गको सूर्याेदय नगरपालिका–११, तीनघरेबाट सखुवाको काठ बरामद गरेको छ। पाँचथरबाट झापातर्फ लैजाँदै गरेको ३०.८९ क्युबिक फिट चिरान काठ बरामद गरिएको प्रहरीले जनाएको छ। बरामद काठ र चालक पाँचथरको फिदिम नगरपालिका–९ का गाडी चालक ३३ वर्षे केशव ढुंगानालाई माई सबडिभिजन वन कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।  

गत १४ गते राति काठ तस्करी गर्ने क्रममा सशस्त्र वन रक्षक र तस्करबीच कन्काई खोलामा भिडन्त नै भएको थियो। इलाम र झापाको सीमावर्ती गैंडे सामुदायिक वनमा खोलाबाट काठ (फेन्टा) बगाइरहेका तस्करमाथि चुलाचुली वन सब–डिभिजनबाट गएको वनरक्षक टोलीले हवाई फायरसमेत गरेको थियो। त्यसक्रममा सखुवाको २ हजार ६ सय ५ क्युबिक फिट काठ बरामद गरिएको थियो। त्यसैदिन राति साढे २ बजे पुनः माइखोलामै काठ बगाइरहेका तस्करलाई वनरक्षक टोलीले फेला पारेको थियो। र, वनको टोली देखेपछि तस्करहरू भागेका थिए भने २९ क्युबिक फिट काठ बरामद गरिएको थियो।

प्रहरीले दसैं, तिहार र छठलगायत चाडपर्वलक्षित गरी विशेष सुरक्षा योजना गत ९ गतेयता सञ्चालन गरिरहेको छ। २७ बुँदे सुरक्षा योजना जारी गरिएसँगै अवैध गतिविधिसमेत प्रहरीले नियन्त्रण गर्न थालेको हो।  चाडवाडलाई लक्षित गरी मेची राजमार्ग र भारतीय सीमा क्षेत्रमा १५ तथा भित्री सडकमा २६ चेक पोइन्ट व्यवस्था गरिएको छ। दिनहुँ ४१ गस्ती, ३९ क्विक रेस्पोन्ज टिम, १० मोबाइल सवारी गस्ती, ग्रामीण गस्ती र पिकेटिङको योजना बनाइएको इन्स्पेक्टर तामाङले बताएका छन्। यो योजनाअनुसार राजमार्गमा गुड्ने सबैखाले सवारी साधनको कागजात, यान्त्रिक अवस्था, यात्रु संख्या, भाडादर, ओभर लोड, गाडीको गतिलगायतको विशेष निगरानी गरिँदैछ।  

प्रकाशित: १९ आश्विन २०७८ १४:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App