२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

ट्राफिक प्रहरीको चाँडपर्व लक्षित सुरक्षा योजना

६७ ठाउँमा स्थायी, ५१ ठाउँमा नियमित चेकिङ, १५ वटा मोवाइल गस्ती

गण्डकी प्रदेश ट्राफिक कार्यालयले चाँडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गरेको छ । गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयले चाँडपर्व लक्षित सुरक्षा योजना प्रदेशका ११ वटै जिल्ला ट्राफिक प्रहरी कार्यालयले कार्यान्वयन शुरु गरेको जनाएको हो ।

प्रदेश ट्राफिक कार्यालयले चाँडपर्व लक्षित गरेर प्रदेशका ६७ स्थानमा स्थायी चेकिङ भइरहेको जनाएको छ । त्यसबाहेक ५१ ठाउँमा नियमित चेकिङ शुरु गरिएको गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय गगनगौंडाका प्रवक्ता, प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले जानकारी दिए । जसका लागि ३०३ जना सुरक्षाकर्मी परिचालन हुनेछन् ।

उनका अनुसार प्रदेशको राजधानी कास्कीमा ३२ ठाउँमा स्थायी चेकिङ हुनेछ । त्यस्तै, स्याङ्जामा ४, नवलपरासीपूर्व (नवलपुर)मा ४, तनहुँमा ६, लमजुङमा ४, गोरखामा ३, बागलुङमा ४, म्याग्दीमा २, पर्वतमा ३, मुस्ताङमा ३ र मनाङमा १ स्थानमा स्थायी चेकिङ हुने उनले बताए । गण्डकी प्रदेश ट्राफिक कार्यालयले नियमित ५१ स्थानबाहेक २८ स्थानमा मादक पदार्थ सेवन (मापसे) चेकिङ गर्ने जनाएको छ । त्यसमा आवश्यकता अनुसार चेकिङ थप्न सकिने प्रवक्ता केसीले बताए ।  

नेपालीहरुको चाँड बडादशैं र तिहारका लागि घर फर्किन चाहनेहरुलाई सुरक्षित बनाउन ट्राफिक प्रहरीले २६ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको पनि उनले बताए । जहाँबाट यात्रुलाई परेको समस्या समाधानका लागि सहयोग हुने उनले बताए । ट्राफिक प्रहरीका अनुसार यात्रु सहायता कक्षबाट यात्रुको सामान चोरिएको, यात्रु ठगिएको, अलमलमा परेका, एउटा सिट भनेर अर्को सिटमा यात्रुलाई राखेको, बढी भाडा लिएका यात्रुको गुनासो सुन्ने र तत्काल समाधानका लागि पहल गर्ने काम हुनेछन् ।

यात्रुलाई सुरक्षित बनाउनका लागि १५ ठाउँमा मोवाइल गस्ती र मुख्य राजमार्गमा मात्र १२ वटा राजमार्ग गस्ती टोली खटाइएको जनाइएको छ । त्यस्तै १२ वटा क्वीक रेसपोन्स टीम (क्यूआरटी) टोली खटाइने प्रवक्ता केसीले बताए । प्रदेश ट्राफिक प्रहरी कार्यालय पोखराले सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै तथा कोरोना जोखिम नियन्त्रणका लागि भनेर १२ वटा टोली परिचालन गर्ने जनाएको छ । प्रदेश भित्र ११५ वटा अत्यधिक दुर्घटनाग्रस्त ठाउँ (ब्ल्याक स्पट)को पहिचान गरि त्यहाँ दैनिक २ पटक चेकजाँच शुरु भएको जनाइएको छ । उक्त ठाउँहरुमा विहान ६ देखि मध्यरात १२ बजेसम्ममा दैनिक दुई पटक चेकजाँच हुने प्रवक्ता केसीको भनाई छ ।

सुरक्षा योजनामा खटिएका सुरक्षाकर्मीहरुले क्षमता भन्दा बढी यात्रु तथा मालसामान ओसारपसार हुन नदिने, यात्रु ठगिने, लुटिने सम्भावनालाई न्यून गर्ने, भिभिआईपी, भिआईपीहरुको भ्रमण तथा धार्मिक स्थलहरुमा तीर्थ यात्री र दर्शनार्थीहरुको ब्यबस्थापन गर्ने र कोरोना महामारीको जोखिमबाट सर्वसाधारणलाई सुरक्षित राख्ने र विपद उद्धार गर्ने प्रवक्ता केसीले बताए । 

प्रकाशित: १७ आश्विन २०७८ १२:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App