घटना नं. १ः २०७५ असोज ४ गते भारतीय हतियारधारी समूहले नेपाल आएर सुनसरी हरिनगरको भूटाहाका विद्यालय सञ्चालकलाई हत्या गरे। चार जनाको संख्यामा आएको हतियारधारी समूहले हरिनगर वडा नं. २ का मौलान खुर्सिद आलमको हत्या गरेका थिए। रैरयान नेशनल स्कुलका सञ्चालक तथा प्रिन्सिपल ५० वर्षीय खुर्सिदको हत्या भएपनि अहिलेसम्म दोषी पत्ता लाग्न सकेको छैन।
घटना नं. २ः दस गजा क्षेत्रभन्दा सय मिटरको दूरीमा सुनसरी कोशी गाउँपालिका वडा नं. ८ मा २०७२ मंसिर ९ गते भारतीय सीमा सुरक्षा बल एसएसबीका जवान प्रवेश गरे। एसएसबीका जवानले स्थानीय अशोक यादव, सरोज यादव, नरेश यादव र मनोज यादवलाई ताकेरै गोली हाने। गोली प्रहारबाट उनीहरु घाइते भए।
नेपाली भूभागमा प्रवेश गरि गोली प्रहार गर्ने तत्कालिन सुपौल जिल्लाको शैलेशपुर प्रहरी बिटका बिकान्त सारावतसहित छ जनाको समूहविरूद्ध कारबाहीको माग राखेर चारै जनाले जिल्ला प्रशासन कार्यालय सुनसरीमा किटानी जाहेरी दिए। तर, कारबाहीबारे अहिलेसम्म केही पनि सार्वजनिक गरिएको छैन।
घटना नं. ३ः २०७५ सालकै साउन ९ गते भारतबाट नेपाल खसी ल्याउने क्रममा हरिनगर वडा नं. ७ को सीमावर्ती क्षेत्रमा स्थानीयवासी र सशस्त्र प्रहरीबीच झडप भयो। घुस्की वडा नं. ७ मै घर भएका खसी व्यापारीलले भारतबाट नेपाल ल्याउने क्रममा सशस्त्र प्रहरीले नियन्त्रणमा लिन खोज्दा झडप भएको थियो।
यी माथिका घटना त उदाहरण मात्र हुन्। सीमावर्ती क्षेत्रमा एकपछि अर्को श्रृखलाबद्ध घटना हुँदा स्थानीयवासी जहिल्यै त्राहीमाम हुने गरेका छन्। जसले गर्दा सुनसरी हरिनगर र कोशी गाउँपालिका रहेका इलाका प्रहरी कार्यालयमा प्रहरी निरीक्षकसहित प्रहरी संख्या थप गर्नुपर्ने माग गरिएको छ।
हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अनसारी र कोशी गाउँपालिकाका अध्यक्ष अयूव अनसारीको संयुक्त टोलीले गृहमन्त्री बालकृष्ण खाडसँग भेटेर इलाका प्रहरी कार्यालयमा प्रहरी निरीक्षकको दरवन्दीसहित इलाकालाई ‘क’ वर्गमा सूचिकरण गर्न माग गरेका हुन्। हरिनगर गाउँपालिकामा एक मात्र इलाका प्रहरी कार्यालय हरिनगर छ। कोशी गाउँपालिकाको लौकहीमा पनि एउटा मात्र इलाका प्रहरी कार्यालय छ।
यी दुवै इलाका प्रहरी कार्यालयमा प्रहरी निरीक्षकको दरबन्दीसहित ‘क’ वर्गमा सूचीकृत प्रहरी कार्यालय बनाउन माग गरिएको हरिनगरका अध्यक्ष गफार अनसारीले बताए। उनका अनुसार दुवै इलाकालाई ‘क’ वर्गमा सूचिकरण गर्नका लागि मापदण्ड पूरा भएकोले छिटोभन्दा छिटो प्रक्रिया अगाडि बढाउन माग गरिएको छ।
सीमामा क्षेत्रमा हुने गरेको तस्करी, लागू औषध कारोवार, चोरी, डकैती, सीमा अपराध लगायतका घटना नियन्त्रण गर्न प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी संख्या थप हुँदा सहज हुने कोशी गाउँपालिका अध्यक्ष अयूव अनसारीले बताए। आएपछि न्यूनीकरण हुनेमा विश्वस्त रहेको उनले बताए। सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपालीले सधैभरी स्थानीय प्रहरी–प्रशासनको आडभरोसा खोज्ने गरेका छन्।
प्रकाशित: १४ आश्विन २०७८ १३:२९ बिहीबार