२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सीमा नाका खोल्न आनाकानी

कोभिड–१९ महामारीलाई लक्षित गरेर बन्द गरिएको सीमा नाका खोल्न बाँके प्रशासनले आनाकानी गरेको छ। कोरोना महामारीका कारण बन्द गरिएका सीमानाका खोल्ने निर्णय सरकारले एक साताअघि गरेको थियो। निर्णय कार्यान्वयन गर्न बाँके प्रशासनले आनाकानी गरेको हो।  

गृह मन्त्रालयले असोज ७ गते पत्र लेखी आदेश कार्यान्वयन गर्न सबै जिल्ला प्रशासनलगायतका निकायलाई निर्देशन दिएको थियो। 

मन्त्रालयका शाखा अधिकृत सुमन पण्डितले हस्ताक्षर गरेको उक्त पत्रमा भनिएको छ, ‘नेपाल सरकार मन्त्रिपरिषद्बाट स्वीकृत विदेशबाट नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुको यात्रा व्यवस्थापनसम्बन्धी आदेश २०७८ यसैसाथ संलग्न छ, उक्त आदेशको तहाँ र मातहतका कार्यालयहरूसँग सम्बन्धित विषयहरू कार्यान्वयन गर्ने व्यवस्था मिलाउनुहुन आदेशानुसार अनुरोध छ।’

सीमानाका नखुल्दा नेपाल र भारतका सुरक्षाकर्मीले आवत–जावतमा कडाइ गरिरहेका छन्। इलाका प्रहरी कार्यालय जमुनाहा बाँकेले पनि सीमानाका खोल्ने विषयमा माथिबाट कुनै निर्देशन नआएको बताएको छ। नाकामा पहिलेको जस्तै सवारीसाधन आवत–जावतमा कडाइ गरिएको छ। स्वीकृति लिएका एम्बुलेन्स, पेट्रोलियम ट्यांकर र भारतीय मालवाहक ट्रकबाहेक अन्य सवारीसाधनहरूलाई नेपालबाट भारत जान दिइएको छैन।

यस्तै भारतबाट पनि त्यहाँका सुरक्षाकर्मीले एम्बुलेन्स, पेट्रोलियम ट्यांकर र मालवाहक सवारीसाधनलाई मात्र नेपाल आउन दिइरहेका छन्। सीमा नखुल्दा भारतबाट निजी सवारीसाधन लिएर नेपाल आउने र नेपालबाट भारत जाने सर्वसाधारण मर्कामा परेका छन्।

‘नाका खोल्ने विषयमा मन्त्रालयले एउटा मापदण्ड बनाएको छ, सोही मापदण्डअनुसार हामीले आवत–जावत व्यवस्थापन गरेका छौं,’ प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले मंगलबार नागरिकसँग भने।

अत्यावश्यक सवारीसाधनहरू एम्बुलेन्स, पेट्रोलियम ट्यांकर र मालवाहक ट्रकबाहेक अन्य सवारीसाधन आवतजावत गर्न नपाउने मापदण्डमा उल्लेख भएको उनले बताए। ‘स्थलमार्ग व्यवस्थापनसम्बन्धमा गृह मन्त्रालयले पत्र पठाएको हो तर मन्त्रालयले हामीलाई सीमानाका पूरै खोल्नु भनेको छैन,’ प्रजिअ गेलालले थपे। 

सर्वसाधारणको हकमा आवत–जावत गर्न रोक नलगाइएको उनले बताए। विदेशी नागरिकको सम्बन्धमा उनीहरूले ७२ घण्टाअगाडिको पिसिआर रिपोर्ट पेस गर्नुपर्ने हुन्छ,’ उनले भने।

प्रकाशित: १३ आश्विन २०७८ ०४:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App