coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

गोरखा मालपोत तीन वर्षदेखि प्रमुखविहीन, सुब्बाको भरमा अड्डा

मालपोत कार्यालय गोरखा।

मालपोत कार्यालय गोरखा तीन वर्षदेखि प्रमुख छैनन्। उप–सचिव कार्यालय प्रमुख हुने यस कार्यालय २०७५ देखि अहिलेसम्म पद रिक्त छ। कार्यालय प्रमुख भएर उप सचिव गोरखा मालपोत आउनै खोज्दैनन र आएका पनि छिट्टै सरुवा मिलाएर जान्छन्। सबैभन्दा धेरै सेवाग्राहीको चाप हुने मालपात कार्यालय बिगत तीन महिनादेखि सुब्बाको भरमा चलेको छ।

२०७७ चैत २४ गतेसम्म अधिकृत देबेन्द्र बहादुर थापा निमित कार्यालय प्रमुख रहेका थिए। त्यसयता मालपोत कार्यालयमा अधिकृत पनि छैनन्। अहिले नायब सुब्बा सूर्यप्रसाद पौडेल कार्यालय प्रमुखको भूमिकामा छन्। २६ जनाको दरबन्दी रहेको मालपोत कार्यालयमा अहिले १७ जना मात्रै छन्। उप–सचिव एक र दुई अधिकृतको दरबन्दी लामो समयदेखि रिक्त छ। सेवा प्रबाहमा सहजता नहुनु, काम गर्दा लेनदेन हुनु, सर्वसाधारणले दुःख पाउनु, एकैदिन हुने कामलाई लामो समयसम्म झुलाउनु, लेखनदासमार्फत काम गर्न बाध्य बनाउनु जस्ता गुनासो कर्मचारीकै कारणले आएको सेवाग्राही बताउँछन्।  

‘उप–सचिव हुनुपर्ने ठाउँमा तीन वर्षदेखि छैनन्, अधिकृत पनि छैनन्, फाँटमा काम गर्ने सुब्बाले कार्यालय प्रमुखको पनि काम गरेका छन’, एक सेवाग्राहीले भने, ‘उहाँको फाँटबाट हुने काम भएन भनेर कसरी गुनासो गर्ने ? कर्मचारी छैन, भन्न पनि सजिलो बाहना मिलेको छ।’ प्रत्यक्ष जनताको सेवासँग जोडिएको कार्यालयमा कर्मचारी, प्रमुख ब्यवस्थापनमा स्थानीय, संघ, प्रदेश सरकारले पनि ध्यान दिनुपर्ने सेवाग्राही बताउँछन्। 

प्रमुख जिल्ला अधिकारीले पनि मालपोतमा छिटो सेवा दिन निर्देशन गर्नुपर्ने ती सेवाग्राहीले बताए। कार्यालय प्रमुख एकजना, अधिकृत दुई जना, छ जना नायबसुब्बा, सातजना खरिदार, सात कार्यालय सहयोगी, एकजना कम्प्युटर अपरेटर, एक जना लेखापाल र एक जना टाईपिस्ट गरी २६ जनाको दरबन्दी मालपोत कार्यालयमा छ। अहिले भने सहयोगीसहित जम्मा १७ जना मात्र कार्यरत छन्।  

‘सेवाग्राहीको कामकाज भ्याएपनि आन्तरिक कामहरु पनि उस्तै बाँकी रहेको हुन्छ। कर्मचारी पूर्ण नहुनाले ६ बजेपछि पनि कार्यालयमा काम गरिराख्नुपर्छ’, अहिले प्रमुखको रुपमा काम गरिरहेका नासु पौडेलले भने, ‘सबै बार खुल्ला गरेर झन मान्छेको चाप पनि बढ्यो, कार्यालयमा काम पनि थपियो तर कर्मचारी भने थपिएनन्।’ नासु सूर्यप्रसाद पौडेललाई आफ्नो भन्दा माथिल्लो तीन तहका कर्मचारीको काम स्वयमले गर्नुपर्दा समस्या भएको छ। कर्मचारीको अभावले सेवा ढिलो हुन पुगेको उनले बताए।

प्रकाशित: ८ आश्विन २०७८ ०६:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App