वैशाख महिनाभित्र मात्रै सुर्खेतमा ६३ वटा सवारी दुर्घटना भएका छन्। ती दुर्घटनामा परी एक जनाको ज्यान गएको छ भने १ सय १८ जना घाइते भएका छन्।
जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका अनुसार अधिकांश दुर्घटना चालकको लापरबाहीका कारण भएको निष्कर्ष निकालिएको छ। कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार करिब ९३ प्रतिशत दुर्घटना चालकको असावधानी, तीव्र गति, ओभरटेक तथा ट्राफिक नियम उल्लंघनका कारण भएको देखिएको हो।
ट्राफिक प्रहरीले वैशाख महिनाभर ९ सय ५० स्थानमा सवारी चेकजाँच अभियान सञ्चालन गरेको जनाएको छ। अभियानका क्रममा ट्राफिक नियम उल्लंघन गर्ने १ हजार ४ सय ८० वटा सवारी साधनलाई कारबाही गरिएको थियो। उक्त कारबाहीबाट १२ लाख ९२ हजार रुपैयाँ राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
त्यसैगरी, मोडिफाइ गरी नियम विपरीत सञ्चालन गरिएका १८ वटा सवारी साधनमाथि पनि कारबाही गरिएको छ। ती सवारीबाट मात्रै ८५ हजार रुपैयाँ राजस्व उठाइएको प्रहरीले जनाएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख रोहित कुमार शाहीका अनुसार दुर्घटना न्यूनीकरणका लागि जनचेतनामूलक कार्यक्रमलाई पनि प्राथमिकता दिइएको छ। एक महिनाको अवधिमा ४ सय ४० वटा ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गरिएको उनले बताए।
ट्राफिक प्रहरीले चालक, सहचालक तथा यात्रुहरूलाई ट्राफिक नियम पालना गर्न, सवारी चलाउँदा सतर्क रहन र सडक सुरक्षामा ध्यान दिन आग्रह गरेको छ।
प्रकाशित: ४ जेष्ठ २०८३ १३:५१ सोमबार





