७ वैशाख २०८१ शुक्रबार
समाज

सडेको चामल बिक्री प्रकरणः खाद्य कम्पनीका प्रमुखसहित चारजनामाथि भ्रष्टाचार मुद्दा

कार्यालय प्रमुख, लेखा प्रमुख र दुई मिल संचालक

धान चामल खरिदमा कमिसन लिई भ्रष्टाचार गरेको पुष्टि गर्दै अख्यिारले नेपाल खाद्य संस्थान शाखाका लहानका प्रमुख, लेखा अधिकृत तथा दुई जना मिल संचालकमाथि विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको छ।

नेपाल खाद्य संस्थान शाखा लहानमा ०७५ सालमा नियम विपरित ७० हजार क्विन्टल धान खरिद गर्दा कमिसन लिई भ्रष्टाचार गरेको भन्दै अख्यिारले संस्थानका तत्कालिन प्रमुख गंगाप्रसाद साह, लेखा प्रमुख सुनिताकुमारी यादवसहित निलकमल सेलर मिलका सञ्चालक अशोककुमार अग्रवाल र गिरीधारी खाद्य उद्योगका संचालक लालुप्रसाद अग्रवालविरुद्ध अख्तियारले विशेष अदालतमा आरोप पत्र दायर गरेको छ।

गुणस्तरहीन धान खरिद गरी सडेको चामल बिक्री गरेको उजुरी उपर अनुसन्धान हुँदा साविक नेपाल खाद्य संस्थान मुख्य शाखा कार्यालय, लहानका कर्मचारी र मिल संचालक समेतको मिलमत्तोमा बद्नियतपूर्ण तरिकाले खरिद व्यवस्या निर्देशिका विपरित भुक्तानी दिइएको पाइएको अख्तियारले जनाएको छ। ९७ लाख  २ हजार ७ सय ८४ रुपैयाँ २८ पैसा हानिनोक्सानी पुर्‍याएको पुष्टि भएको अख्तियारले जनाएको छ। 

यस कसुरमा संलग्न देखिएका खाद्य व्यवस्था तथा व्यपार कम्पनी लिमिटेड मुख्य शाखा लहानका तत्कालीन प्रमुख गंगाप्रसाद साह र लेखा प्रमुख सुनिताकुमारी यादवबाट ९७ लाख २ हजार ७८४ रुपैयाँ २८ पैसासहित भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १७ को प्रावधान बमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) बमोजिम सजाय र सोही ऐनको दफा १७ बमोजिम विगो असुलउपरका लागि माग दावी गरिएको छ।

निलकमल सेलर मिलका संचालक अशोककुमार अग्रवालबाट ७ लाख ५१ ह्जार १ सय ५३ रुपैयाँ ६० पैसा विगो दावी गर्दै भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८ को उपदफा (४) बमोजिमको कसुरमा सोही दफा बमोजिम विगो जफतका लागि माग दावी गरिएको छ।

गिरीधारी खाद्य उद्योगका संचालक लालु प्रसाद अग्रवालबाट ५८ लाख ७५ हजार ६ सय १२ रुपैयाँ १६ पैसा विगो दावी गर्दै भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८ को उपदफा (४) बमोजिमको कसुरमा सोही दफा बमोजिम विगो जफतका लागि मागदावी गरिएको छ।

प्रकाशित: ४ आश्विन २०७८ १५:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App