१५ चैत्र २०८० बिहीबार
समाज

राष्ट्रिय भूमि आयोग गठन

सरकारले राष्ट्रिय भूमि आयोग गठन गरेको छ। साथै आयोगका अध्यक्ष र उपाध्यक्षसमेत नियुक्त गरेको छ। आयोगको अध्यक्षमा केशव निरौला र उपाध्यक्षमा नहेन्द्र खड्कालाई नियुक्त गरिएको छ। 

प्रधानमन्त्री तथा विभागीय मन्त्री शेरबहादुर देउवाले बुधबार प्रधानमन्त्री कार्यालय सिंहदरवारमा आयोगका अध्यक्ष निरौलालाई सथप खुवाएका थिए। त्यसपछि अध्यक्ष निरौलाले उपाध्यक्ष खड्कालाई सपथ खुवाएका थिए। निरौला नेपाली कांग्रेसनिकट हुन भने खड्का माओवादी केन्द्रनिकट हुन्। निरौला यसअघि नेपाली कांग्रेसनिकट नेपाली शिक्षक संघका अध्यक्षसमेत थिए। खड्का भने माओवादी केन्द्र निकट शिक्षक संघमा आवद्ध थिए।

भूमि व्यवस्था मन्त्रालयका प्रवक्ता जनक जोशीले सरकारले राष्ट्रिय भूमि आयोग गठन गरेको बताए। तत्कालीन केपी ओली नेतृत्व सरकारले गठन गरेको भूमिसम्बन्धी समस्या सामधान आयोगलाई देउवा सरकारले विघटन गरेको थियो। टेकनारायण पाण्डे भूमि व्यवस्था सचिव भएको बेला भूमि व्यवस्था मन्त्रालयले राष्ट्रिय भूमि आयोग गठन प्रस्ताव मन्त्रिपरिषद्मा लगेको थियो। यसअघि, ओली नेतृत्व सरकारले केन्द्र र ७७ वटै जिल्लामा सुकुमबासी आयोग गठन गरेको थियो।  

सुकुमबासीको नाममा अहिलेसम्म धेरैपटक आयोग गठन भएका छन्। तर दलहरूले आयोगलाई राजनीतिककरण गर्ने गर्छन्। आयोगमा आफूनिकट कार्यकर्ता भर्ना गर्न पुरानो आयोग विघटन गर्ने र नयाँ आयोग गठन गर्ने परम्परा जस्तै भएको छ।

प्रकाशित: ३१ भाद्र २०७८ ०१:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App