विश्वव्यापी बनेको कोरोना महामारीको कारण धरासायी भएको नेपालको पर्यटन उद्योगलाई माथि उठाउने प्रयास स्वरुप नेपालका साइक्लिष्टहरु यो वर्ष पनि जुर्मुराएका छन्।
विश्व साइकल यात्री तथा सगरमाथा आरोही पुष्कर शाहको नेतृत्वमा ५० जनाको साइक्लिष्टहरुको टोली इलामको श्रीअन्तुदेखि मुगुको रारा तालसम्मको साइकल यात्रामा निस्किएका छन्। पूर्वको प्रमुख पर्यटकीय क्षेत्र अन्तुदेखि सुदूरपश्चिमको रारासम्मको यो साइकल यात्राले आन्तरिक पर्यटनलाई प्रवर्द्धन गर्ने र पर्यटकीय गतिविधिहरुको पुनः सुरुवात हुनेमा पर्यटनकर्मीहरु आशावादी छन्। विश्व साइकल यात्री शाहले गत वर्षदेखि यो अभियान सुरुवात गरेका थिए। त्यसैको दोस्रो सँस्करण शनिबारबाट सुरु भएको हो।
पहिलो दिन झापाको धुलाबारी बसेका साइकल यात्रीहरु दोस्रो दिन आइतबार इटहरीको पर्यटकीयस्थल तालतलैयामा बास बसेका थिए। सोमबार उनीहरुलाई धरानमा भव्य स्वागत गर्दै उदयपुरतर्फ विदाई गरिएको थियो। सोमबार उनीहरु उदयपुरको गाइघाटमा बास बस्नेछन्। यो टोलीले २८ जिल्ला हुदै ४ हप्तामा रारा ताल पुग्ने लक्ष्य राखेको छ। यो अवधिमा १८ सय किलोमिटरको दूरी पार गर्नेछन्।
‘सम्बन्ध जोडौ, देश घुमौ’ भन्ने सन्देश दिदै साइकल यात्रामा निस्किएको विश्व साइकल यात्री शाहले बताए। उनले कोरोनाले थला परेको पर्यटन क्षेत्रलाई उकास्नको लागि गत बर्षदेखि देश घुम्ने अभियान सुरुवात गरिएको बताए। ‘यात्राकै क्रममा सामाजिक कार्यहरु पनि गछौ, मुख्य उद्देश्य चै आन्तरिक पर्यटनको प्रवर्द्धन, देश घुमौ भन्ने नै हो,’उनले भने,‘सुर्खेतमा राउटे समुदायलाई खाद्यान्न पनि सहयोग गछौं।’ उनले धरानका मेयर तिलक राईलाई जुम्लाको चन्दननाथ नगरपालिकाकोतर्फबाट उपहार दिँदै घुम्न आउने निम्तो पनि गरे।
धरानका साइकल यात्री उमेश भण्डारीका अनुसार यात्राको क्रममा विभिन्न जिल्लामा छोटो दूरीको यात्राको लागि थप ५ सय जना जोडिने बताए। ‘पूर्वदेखि पश्चिमसम्म सम्पूर्ण नेपालीहरुलाई साइकलको माध्यमबाट जोड्ने अभियान हो। स्वास्थ्यको हिसाबले मात्र होइन, साइकलले खेल र पर्यटनको माध्यमबाट पनि नेपालको प्राकृतिक सुन्दरतालाई विश्वभरि प्रवर्द्धन गर्न सकिन्छ,’उनले भने।
धरानका पर्यटनकर्मी एवं सेक्ष ट्राभलिङका सञ्चालक वासुदेव वरालले कोरोना महामारीको कारण ध्वस्त भएको पर्यटन क्षेत्रलाई उठाउनको लागि साइक्लिष्टहरुको महत्वपूर्ण अभियान भएको प्रतिक्रिया दिए। नेपाल पर्यटन बोर्डले प्रदेश १ मा गठन गरेको पर्यटन पुनरुत्थान समितिका सहसंयोजकसमेत रहेका वरालले भने,‘अन्तुदेखि रारासम्मको साइकल टुर फन मात्र होइन, कोभिडको कारणले ध्वस्त भएको पर्यटनलाई उठाउनको लागि डोजको काम गर्छ,’उनले भने,‘यो यात्रा नेपालको महत्वपूर्ण गन्तव्यहरुलाई छुदै जान्छ, जसले गर्दा त्यहाँका पर्यटनकर्मी, आन्तरिक पर्यटकहरुलाई उर्जा मिल्छ। सबैले यस्ता गतिविधिहरुलार्य समर्थन र सहयोग गर्नुपर्छ।’
प्रकाशित: २८ भाद्र २०७८ १४:२६ सोमबार





