६ वैशाख २०८१ बिहीबार
समाज

सूर्याेदयका सवारीमा जिपिएस

‘यता हेर्नुस् त, उपमेयरज्यू अहिले वडा नं. ४ कार्यालय छेउ पुग्नुभएछ, नगरका १ हुल कर्मचारी साथीहरू चढेका गाडी कन्याममा गुड्दैछ,’ सूर्याेदय नगरपालिकाका मेयर रणबहादुर राई आइतबार कार्यकक्षकै कम्प्युटरको मोनिटर नियाल्दै अरूलाई पनि देखाउँदै थिए, ‘एउटा गाडी ३५ र अर्काे प्रतिघण्टा ४० किलोमिटरको गतिमा गुड्दैछन्।’ 

उनले नगरपालिकाका करिब ३ दर्जन सवारी साधन ठीक यो बेला कहाँ र कस्तो अवस्थामा छन् भन्ने पनि कार्यकक्षबाटै हेर्न सकिने बताए। ‘कुन गाडी कहाँनिर गुड्दैछ, कुन गाडीको पाटपुर्जा मर्मत गर्ने बेला भयो भन्ने पनि यहींबाट थाहा पाउन सकिन्छ,’ उनले सुनाए, ‘नगरका सवारी साधनको अवस्था अब मोबाइलमा पनि हेर्न सकिन्छ।’ 

नवीन विकास र प्रविधिमा पाइला उक्लिरहेको सूर्याेदय नगरले सम्भवतः स्थानीय तहमध्ये देशमै पहिलोपटक सवारी साधनमा ग्लोबल पोजिसनिङ सिस्टम (जिपिएस) जडान गरेको छ। जिपिएस जडानपछि नगरअन्तर्गतका सबै सवारी साधनबारे थाहा पाउन सकिने भएको छ। सरकारी सवारी साधनको दुरुपयोग र अनियमितता नियन्त्रण गर्न नगरले सवारीमा जिपिएस जडान गरेको हो।नगरका करिब ३५ सवारीमा जिपिएस जडान गरिएको सूचना प्रविधि अधिकृत उज्ज्वल सुवेदीले बताए।

गाडीमा एनसेलको सिमकार्डसहित जिपिएस ट्र्याकर राखिएको छ। त्यसमा इन्टरनेट जडान गरिएपछि गाडीको रेकर्ड इन्टरनेटकै माध्यमबाट नगरको कम्प्युटर सिस्टममा आउने व्यवस्था मिलाइएको सुवेदीले बताए। जिपिएसले गाडी गुडिरहेकै देखाउँछ र गुडेको गति पनि बताउँछ। दिनभरमा कुन गाडी कति किलोमिटर गुड्यो, हिजो/अस्ति कुन–कुन लोकेसनमा गाडी पुग्यो भन्ने रेकर्डसमेत हेर्न सकिन्छ।

‘महिनाभरमा गाडी कति किलोमिटर गुड्यो भन्ने रेकर्ड यहींबाट निकाल्न सकिन्छ,’ उनले भने, ‘कति लिटर इन्धनले कति किलोमिटर गुडेको छ भनेर हेर्न पनि सकिन्छ।’  गाडीमा बेला–बेला गर्नुपर्ने मर्मतको जानकारी पनि यो प्रविधिले दिन्छ। समयमै गाडी सर्भिसिङ नगरे अल्राम बजेर सूचना दिने उनले जनाए। ‘जिपिएसको सफ्टवेयरमा युजर नेम र पासवर्ड टाइप गरेपछि मोबाइलमै पनि गाडीको अवस्था हेर्न सकिन्छ,’ सुवेदीले भने, ‘जिपिएसको काम सामान्य प्रविधिमै भएपनि महŒवपूर्ण उपलब्धि हो।’ 

जिपिएस जडान गर्न मूल्य पनि महँगो नभएको नगरले जनाएको छ। एउटा गाडीमा यो प्रणाली जडान गर्न १२ हजार रुपैयाँहाराहारी खर्च भएको सुवेदीले जनाए। ‘एकपटक उपकरण जडान गरेपछि सधैंलाई हुन्छ तर यो सफ्टवेयर हरेक वर्ष नवीकरण चाहिँ गर्नुपर्छ,’ उनले भने, ‘नवीकरणको खर्च धेरै छैन।’

सरकारी सवारी साधन दुरुपयोग निकै चुनौतीपूर्ण भइरहेका बेला जिपिएस प्रणालीले यो अवस्था सुधार्न ठूलो सहयोग पुगेको मेयर राईले बताए। ‘सरकारी सवारी साधन अनावश्यक प्रयोग गर्ने, बेलामा मर्मत नहुने र प्रयोगमा पनि सुरक्षा नअपनाउने प्रवृत्ति अब रोकिने आशा छ,’ उनले भने, ‘गाडीको पाटपुर्जा समयमै मर्मत र सर्भिसिङ गर्न सहयोग गरी सुरक्षा दिनेछ।’

उनले केही समयअघि नगरका ‘एक साथी’ सरकारी गाडी लिएर २ दिनसम्म बेपत्ता भएकोसमेत स्मरण गराए। ‘पहिला नगरकै एउटा ठाउँ जान्छु भनेर हिँडेको मान्छे झापा, विराटनगरतिरसमेत पुगेको थाहा पाइयो,’ उनले विगतका घटना सुनाए, ‘सरकारी सवारी लिएर हिँडेको मान्छे कतै अभर पर्यो भने पनि जिपिएसकै माध्यमबाट पत्ता लगाएर उद्धारसमेत गर्न सकिन्छ।’ नगरका मेयर, उपमेयरदेखि सबैले प्रयोग गर्ने सवारी साधनमा जिपिएस जडान गरिएको सुवेदीले जानकारी दिए।

प्रकाशित: २७ भाद्र २०७८ १३:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App