१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

बलात्कार आरोपमा ९ पक्राउ

पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकाकी एक बालिका असारयता पटकपटक बलात्कृत भएको खुलेको छ। १४ वर्षीया ती बालिकालाई पटकपटक बलात्कार गरेको आरोपमा प्रहरीले नौजनालाई पक्राउ गरेको छ। पछिल्लोपटक ती बालिकालाई यही भदौ १५ गते बेलुका तातोपानी जाने सडकनजिकैको जंगलमा सामूहिक बलात्कार गरिएको प्रहरीको भनाइ छ।  

ती बालिका आफूमाथि सामूहिक बलात्कार भएको भन्दै भदौ १६ गते प्रहरीको सम्पर्कमा पुगेकी थिइन्। प्रहरीले सामूहिक बलात्कार र त्यसअघि बलात्कारमा संलग्न भएको आरोपमा नौजनालाई सोमबार पक्राउ गरिएको जनाएको छ। ‘सामूहिक बलात्कारपछि बालिका आफैं प्रहरीको सम्पर्कमा आएकी हुन्’, जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कनक शाहीले भने, ‘अनुसन्धानका क्रममा सामूहिक र अन्य समयमा बलात्कार गर्ने नौजनालाई पक्राउ गर्न सफल भएका छौं।’

प्रहरीका अनुसार पीडित ती बालिकाका बुवा छैनन्। आमाले अर्को विवाह गरेपछि उनी सहाराविहीन भइन्। सहराविहीन भएपछि मामाघर बस्दै आएकी उनी माइजूसँगको विवादपछि घर छोडेर पञ्चपुरी पुगेकी थिइन्। प्रहरीका अनुसार पञ्चपुरी बजार क्षेत्रका विभिन्न पसलमा काम गर्ने क्रममा असार ५ गते उनी स्थानीय प्रेम शाहीबाट बलात्कृत भइन्। 

शाही बस काउन्टरका कर्मचारी हुन्। त्यसयता शाही र उनका साथीहरूबाट बालिका पटकपटक बलात्कृत भइन्। प्रहरीका अनुसार प्रेमका साथीहरू ओमबहादुर दर्लामी, शोभा भनिने खगेन्द्र शाही, डम्बर वादी, बाबुराम पुरी, गणेश वादीलगायतले ती बालिकालाई बलात्कार गरेका हुन्।  

‘कसैलाई भने मार्ने धम्की दिन्थे,’ ती बालिकाले भनिन्, ‘आफन्त कोही नभएकाले आफूमाथि भएको घटना सुरुमा कसैलाई भन्न सकिनँ।’ पछिल्लोपटक भदौ १५ गते सामूहिक बलात्कार भएपछि हिम्मत बटुलेर उनी न्यायका लागि प्रहरीकहाँ पुगेकी हुन्। ‘सुरुमा बालिकाले आफूमाथि बलात्कार गर्नेको नाम बताउन सकिनन्, देखेपछि चिन्छु भनिन्, प्रहरी निरीक्षक शाहीले भने, ‘त्यसपछि शंकास्पद सबैलाई पक्राउ गरेर ल्यायौं, बालिका पहिचान गर्न सफल भइन्।’ प्रहरीले सामूहिक बलात्कारमा संलग्न ३० वर्षीय तेजबहादुर सार्की, ३४ वर्षीय प्रेम बुढाथोकी र ३५ वर्षीय युवराज शाहीलाई पनि पक्राउ गरेको छ।

सामूहिक बलात्कारमा संलग्नको खोजी गर्नेक्रममा यसअघि पनि बालिकालाई बलात्कार गर्नेलाई समातिएको प्रहरीले जनाएको छ। ‘बालिकाले असार ५ गतेयता फरक–फरक मितिमा आफूमाथि बलात्कार भएको बयान दिएकी छन्,’ प्रहरी निरीक्षक शाहीले भने, ‘ती व्यक्तिहरू पक्राउ परेका छन्।’ पक्राउ परेकामध्ये धेरैजसो बसचालक, सहचालक, बस काउन्टरमा टिकट काट्ने छन्। ‘प्रारम्भिक बयानमा उनीहरूले अपराध स्वीकार गरेका छन्,’ प्रहरी निरीक्षक शाहीले भने, ‘थप अनुसन्धान हुँदैछ।’ प्रहरीका अनुसार बालिकालाई पैसा र खानेकुराको प्रलोभन दिएर बलात्कार गरेको पाइएको छ।  

बलात्कृत बालिका गर्भवती  

आफूमाथि सामूहिक बलात्कार भएको भन्दै इलाका प्रहरी कार्यालय बाबियाचौरको सम्पर्कमा पुगेकी बालिकालाई प्रहरीले एक अधिकारवादी संस्थाको जिम्मामा राखेको छ। उक्त संस्थाले गरेको स्वास्थ्य परीक्षणअनुसार ती बालिका गर्भवती छिन्। प्रहरीले भने बुधबार मात्र स्वास्थ्य परीक्षण गरेको छ। ‘बुधबार बालिकाको स्वास्थ्य परीक्षण गरिएको छ,’ प्रहरी निरीक्षक शाहीले भने, ‘रिपोर्ट आएपछि मात्रै आधिकारिक जानकारी दिन्छौं। हामीले स्वास्थ्य परीक्षण रिपोर्ट नपाउँदासम्म यसबारे केही बताउन मिल्दैन।’

प्रकाशित: २४ भाद्र २०७८ ०५:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App