१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

तुइन प्रकरणमा भारतलाई कूटनीतिक नोट

फाइल तस्बिर

सरकारले भारतीय सशस्त्र सुरक्षा बल (एसएसबी) का जबानले तुइन काटिदिँदा दार्चुलाका जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको विषयमा भारतलाई कूटनीतिक नोट बुझाएको छ। गत साउन १५ गते एसएसबीले तुइनको तार काटिदिँदा नेपाली युवा धामी नदीमा खसी बेपत्ता भएका थिए। त्यस विषयमा छानबिन गर्न सरकारले गठन गरेको समितिले एसएसबीलाई दोषी देखाउँदै कारबाहीका लागि सिफारिस गरेपछि परराष्ट्र मन्त्रालयले भारतलाई कूटनीतिक नोट पठाएको हो।

‘हामीले यस विषयमा भारतलाई कूटनीतिक नोट पठाइसकेका छौं। भारतीय पक्षले कस्तो प्रतिक्रिया दिन्छ भन्ने पर्खाइमा छौं,’ परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीले भने। भारतीय पक्षबाट आउने प्रतिक्रियाका आधारमा थप प्रक्रिया अघि बढ्ने उनले बताए। भारतीय सुरक्षाकर्मीका कारण नेपाली युवाले ज्यान गुमाउनु परे पनि सरकार लामो समयदेखि मौन बसेको भन्दै चर्काे आलोचना भइरहेको छ। छानबिन समितिले गत मंगलबार प्रतिवेदन बुझाएको थियो। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले दार्चुला घटनालाई विषयान्तरण गर्न चीनसँगको सीमा विवाद अध्ययनका लागि छानबिन समिति गठन गरेको भनेर पनि सरकारको आलोचना भइरहेको छ।

कूटनीतिक मामिलाका जानकारहरूले समेत सरकारले नेपाली युवा धामीको ज्यान लिने गरी भारतीय सुरक्षाकर्मीले गराएको घटनालाई विषयान्तरण गर्न विवाद नै नभएको चीनसँगको सीमासम्बन्धी विषय उठाएको आरोप लगाएका थिए। भारतीय सुरक्षाकर्मीले तुइन काटेको विषयमा भारतको विरोध भएपछि हालै मात्र गृह मन्त्रालयले त्यसको विरोध नगर्न चेतावनीयुक्त विज्ञप्ति जारी गरेको थियो।

सरकारले दार्चुलाको सदरमुकाममाथि अनधिकृत रूपमा भारतीय हेलिकोप्टर उडेको विषयमा पनि कूटनीतिक नोट पठाएको छ। नेपाली युवा भारतीय सुरक्षाकर्मीका कारण महाकालीमा बेपत्ता भएपछि उनको खोजीका लागि महाकाली नदीमाथि ड्रोन उडाउन अनुमति नदिएको भारतले नेपाली भूभागमा अनुमति नै नलिई निरन्तर हेलिकोप्टरको उडान भरेको थियो।

प्रकाशित: २२ भाद्र २०७८ ०३:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App