इतिहासदेखि हालसम्म रोल्पाले बिकासको यात्रा ‘योजना र लक्ष्य बिना’ नै तय गर्ने गरेको आरोप लाग्ने गरेको छ। उहिलेको शक्तिशाली जिल्ला पञ्चायत, गाउँ पञ्चायत अनि त्यस पछिका जिल्ला बिकास समिति, गाउँ बिकास समिति र पछिल्लो समयका नगरपालिका र गाउँपालिकाले दीर्घकालिन योजना र लक्ष्य निर्धारण गर्न नसक्दा जनजिबिकाले अवस्था फेर्न सकेको छैन।
पूर्बी रोल्पाको लुङग्री गाउँपालिकाले अहिलेसम्म दीर्घकालिन योजना त बनाएको छैन नै मास्टर प्लानका बारेमा छलफल समेत गरेको छैन। गाउँपालिका अध्यक्ष दुर्गा बहादुर खड्का भन्छन्, ‘आवधिक योजना बनाउँदै छौ। अब केही समयमा तयार हुन्छ। मास्टर प्लान चाहि बनेको छैन।’ रोल्पा नगरपालिकाले पनि आजसम्म मास्टर प्लानमा रहेर गतिबिधि गर्न सकेको छैन। नगर प्रमुख पूर्ण केसि भन्छन्, ‘भर्खरै तयार भएको छ अब त्यसैमा टेकेर काम गर्छौ।’
त्यसो तर थवाङ गाउँपालिकाले पनि दीर्घकालिन योजना बनाएको छैन। गाउँपलिकाका अध्यक्ष बिरबहादुर घर्तीका अनुसार दीर्घकालिन योजना बनेको छैन। उनी भन्छन्, ‘साना योजना छन् तर मास्टर प्लान बनाएर हिँडेका छैनौ।’ जिल्लामा रहेका एक नगरपालिका ९ स्थानीय तहहरु मध्य कुनैले पनि योजना बनाउँदा विज्ञ राख्ने छलफल गर्ने समेत गर्दैनन्। आफ्नो तहमा भएका युवा जनशक्तिका बारेमा त झन जनप्रतिनिधिहरु कुहिरोका काग जस्तै अन्यौलमा छन्।
जिल्लामा पहिलेदेखि हालसम्म बजेट बनाउने र कार्यान्वयन गर्ने सबैले बिकास भनेको सडक हो भन्ने मात्र बुझेर काम गर्नुको परिणाम सर्वसाधारणले भोगिरहेका छन्। सहरबाट गाडिभरि चाउचाउ, बिस्कुट, कोक, फेन्टा संगै खाद्यान्न भित्रिने रोल्पामा गाडि फर्कदा रित्तै जाने गर्दछन्। रोजगारी खोज्न युवा विदेशीयपछि गाउँ सुनसान जस्तै छन्।
रोल्पामा केही वर्ष यता युवा शक्तिको खडेरी परेको कुरा एक तथ्याङ्कको बिष्लेषणले देखाएको छ। २०६८ को जनगणना अनुसार जिल्लाको जनसंख्या २ लाख २४ हजार ५ सय ६ रहेको छ। जस मध्य करिब ९० हजार बालबालिका विद्यालय जाने गर्दछन्। करिब ३० हजार रोल्पाली वैदेशिक रोजगारीका लागि बाहिर गएका छन्। ४३ हजार घरधुरी मध्य कम्तीमा एक घरमा एक वृद्धवृद्धाको कल्पना गर्दा पनि ४३ हजार उत्पादनशिल काममा लाग्न सक्ने अबस्थामा छैनन्।
यसैगरि भारत र उपत्यका तिरका ईट्टाभट्टामा करिब १५ हजार मजदुरीका लागि पुगेका छन्। उता विदेश गएका मध्य करिब ५ हजारका श्रीमतीहरु बच्चा पढाउन भन्दै सहर पसेका छन्। भने अध्ययन वा अन्य व्यवसायका लागि पनि करिब ५ हजार जिल्ला बाहिर छन्। जनप्रतिनिधि, राजनीतिकर्मी, युवा क्लब, नागरिक समाज, पत्रकार, आमा समुह, योजनाका उपभोक्ता समिति सदस्य र उत्पादनशिल क्षेत्रमा बाँकी करिब ३५ हजार जनशक्ति जिल्लामा छ।
‘यो करिब ३५ हजार जनशक्ति पनि पूर्ण रुपमा उत्पादनमा लागेको छैन। कतिपय घर कुर्नु पर्ने अथवा भनौ सामान्य दैनिकी चलाउनेमा निर्भर छ। स्थानीय सरकार लक्ष्य बिनाको यात्रामा छन्।’ पत्रकार खेम बुढा भन्छन्। ‘हिजो दर्जनौको संख्यामा पालिने गाईबस्तु घटेर प्रति परिवार एक दुईवटामा झरेका छन्। जमिन बाझो बस्न थालेको छ। एक प्रकारले हेर्ने हो भने सबै जिल्ला रेमिट्यान्सले नै धानेको छ। प्लान बिनाको बिकासे योजना र जिल्लामा उत्पादनशिल क्षेत्रमा लगानि नलगाउनु दुःखद हो।’
रोजगारीको कारण देखाउँदै युवा जनशक्ति जिल्लामा रहन नसक्नु एकातिर समस्या देखिन्छ भने अर्को तिर वार्षिक करोडौ खर्चमा डोजरले सडक खनिरहेको छ। जिल्लामा रहेका एक सय बढी डोजरले सडक खन्दै गर्दा ढिकमाथि बसेर हेर्नेहरुको पनि ठूलै तातिदेखिन्छ। जो उत्पादनशिल काम छोडेर दिनभर त्यतै डोजर हेर्न भुलिरहेको हुन्छ। भौतिक बिकासमा मात्र ध्यान दिएको हिजो र आजको सरकारले सामाजिक र मानवीय बिकासमा ध्यान दिन सकिरहेको छैन।
रोल्पाको कुल क्षेत्रफल १ लाख ७५ हजार ९ सय २८ हेक्टर मध्य ४० हजार ९ सय २७ हेक्टर खेती योग्य जमिन छ। कृषि कार्यालयका अनुसार करिब ३१ हजार ४ सय ९६ हेक्टरमा पूर्ण तथा आंशिक खेतीपाती गरिन्छ। विदेश, ईट्टाभट्टा र कालापार गएकालाई रोल्पा ल्याउने वातावरण तयार गर्ने समय आईसकेको छ। प्रत्यक स्थानीय तहले स्वरोजगार मुलक क्षेत्रमा ध्यान दिनु पर्छ। बाख्रा फर्म, कृषि फर्म वा अन्य केही तिर लगानि लगाउनुको बिकल्प छैन। कलेजलाई स्तरीय बनाउने। अस्पताल सुधार गर्ने। रोल्पालीका लागि मात्र नभएर बाहिरबाट पनि रोल्पा आउने वातावरण बनाउनु पर्छ।
स्थानीय भन्छन्, ‘सडक भएर के गर्नु। गाडि भरि चाउचाउ बिस्कुट गाउँ भित्रिन्छन् अनि फर्कदा रित्तै। अब गाउँबाट उत्पादन बाहिर निकासी गर्ने गरि उत्पादनमा ध्यान दिईएन भने रोल्पामा भेटिने वृद्धवृद्धा र स्कुले बालबालिका मात्र हुन्।’ जिल्लाका स्थानीय तहहरु लक्ष्य बिनाको यात्रामा अगाडि बढीरहँदा जिल्लाको भविष्यका बारेमा गहन छलफल हुने गरेको छैन। यहाँ युवा जनशक्ति घट्दै गर्दा त्यसलाई कसरी रोक्ने भन्ने चिन्ताले जनप्रतिनिधिलाई छुन सकेको छैन।
प्रकाशित: २१ भाद्र २०७८ १४:०८ सोमबार