१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

दार्चुलाको आकाशमा बेलाबेलामा भारतीय हेलिकोप्टर

दार्चुलाको आकाशमा देखिएको भारतीय हेलिकोप्टर । तस्बिरः नागरिक

भारतले दार्चुलाको अकाशमा तीन दिनदेखि लगातार हेलिकोप्टर उडाएको छ। बिनाअनुमति भारतीय हेलिकोप्टर बुधबार र बिहीबार दार्चुला सदरमुकाम खलंगाकै आकाशमा भारतीय हेलिकोप्टर उडाइएको थियो भने शुक्रबार महाकालीवारि व्यास गाउँपालिका–२ का आकाशमा भारतीय हेलिकोप्टर उडाइएको छ। 

भारतले सीमावारि दार्चुलाको आकाशमा बिनाअनुमति सधैं पटकपटक हेलिकोप्टर उडाउने गरेको स्थानीय बताउँछन्। नेपाली सेनाको गुरु गोरख गुल्ममाथि पनि भारतीय हेलिकोप्टर उडाइएको थियो। अनुमतिबिना सदरमुकामकै आकाशमा हेलिकोप्टर उडाएपछि दार्चुलाका प्रमुख जिल्ला अधिकारीले पिथौरागढ डिएम प्रशासनलाई बिहीबार लिखित पत्र पठाएर आपत्ति जनाएका थिए।

‘हाम्रो सदरमुकामकै अकाशमा बुधबार र बिहीबार भारतीय हेलिकोप्टर उडेको देखेपछि पिथौरागढ डिएम प्रशासनलाई हाम्रो भूमिमा हेलिकोप्टर नउडाउनु भनेर पत्र पठाएको हुँ,’ दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले भने। गृह मन्त्रालयमा समेत भारतीय हेलिकोप्टर उडेको जानकारी गराएको उनले बताए। अनुमतिबिना नेपाली भूभागमाथि हेलिकोप्टर उडाउन नपाइने उनले बताए। ‘ हेलिकोप्टरमा सदरमुकाममाथि उडाएर के निगरानी गर्न खोजेको हो ? उडाउन नपाउने ठाउँमा हेलिकोप्टर उडाइएको छ,’ प्रजिअ जोशीले भने, ‘अनुमति नमागी हाम्रो भूमिमा हेलिकोप्टर उडाउन पाइँदैन।’

नेपाली सेनाको गुल्मले आपत्ति जनाउँदै तत्काल रोक्ने गरी पहल थाल्न जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाएको थियो। भारतको धार्चुलाबाट भारतीय हेलिकोप्टर नेपाली ‘एयर स्पेस’ नाघेर सुरक्षा निकाय, सरकारी कार्यालय रहेको सदरमुकाममाथि उड्न थालेपछि बुधबार जिल्ला सुरक्षा समितिको बैठक बसेको थियो। बैठकले भारतीय कदमप्रति आपत्ति जनाउँदै यस्तो गतिविधि रोक्न पहल गर्ने निर्णय गरेको थियो। 

बिहीबार दार्चुला प्रशासनले भारतीय जिल्ला अधिकारीलाई पत्र पठाउँदै यो कदम तत्काल रोक्न भनेको हो। हेलिकोप्टर गैरसैनिक भए पनि भारतको कुन निकायले उडाएको भन्ने खुल्न बाँकी रहेको दार्चुला प्रशासनले जनाएको छ। नेपालको बाढी प्रभावित दुहुँ गाउँपालिका क्षेत्रमा नेपाली हेलिकोप्टरमार्फत खाद्य सामग्री ढुवानी गर्नुपर्ने भएकाले दुवै देशबीच समन्वय नभई यसरी भारतीय हेलिकोप्टर नेपाली आकाशमा उडाइँदा दुर्घटनाको समेत जोखिम हुने गर्छ।

प्रजिअ जोशीले बिहीबार पत्र पठाएर आपत्ति जनाएपछि पनि भारतीय हेलिकोप्टर दार्चुलामा आकाशमा उडाउन रोकिएको छैन। शुक्रबार दिउँसो पनि भारतीय हेलिकोप्टर व्यास गाउँपालिका–२ डुम्लिङको आकाशमा उडेको स्थानीयले बताएका छन्। ‘अस्तिदेखि लगातार भारतीय हेलिकोप्टर हाम्रो ठाउँमाथि आकाशमा उड्ने गरेको छ,’ व्यास–२ का अध्यक्ष धिरेन बुढाथोकीले भने। भारतीय हेलिकोप्टर पटकपटक नेपालतर्फ आएर आकाशमा उड्ने गरेको उनले बताए। ‘बेलाबेलामा भारतीय हेलिकोप्टर नेपालतर्फको आकाशमा उडाउने गरिएको छ,’ उनले भने। सैनिक र गैरसैनिक दुवै प्रकारका हेलिकोप्टर बेलाबेलामा नेपालको अकाशमा उडिराख्ने उनले बताए।

भारतीय एसएसबीले तुइन फुकाल्दा महाकाली नदीमा बगेर बेपत्ता भएका व्यास गाउँपालिका–२ का ३३ वर्षीय जयसिंह धामीको खोजीका लागि भारत पक्षले महाकालीको किनारमा समेत ड्रोन उडाउन अनुमति नदिएर असहयोग गरेको थियो। दार्चुला जिल्ला प्रशासनले भारतको पिथौरागढ डिएम प्रशासनलाई जयसिंहको खोजीका लागि ड्रोन उडाउने सहमतिका लागि पत्राचार गरेको थियो तर डिएम प्रशासनले जवाफ फर्काएन। भारतीय पक्षले सहमति नदिएपछि प्रहरी प्रधान कार्यालय नक्सालबाट आएको प्राविधिकद्वय प्रहरी नायब निरीक्षक प्रेम गन्धर्व र गोविन्द परियारको टोलीले नेपाल तर्फको भूभागमा मात्र ड्रोन उडाएर उनको खोजी गरेको थियो। उनी अझै फेला परेका छैनन्। 

तुइन फुकालेर जय सिंह महाकाली नदीमा बगाएको पीडा ताजै रहेका बेला भारतीय हेलिकोप्टर सदरमुकामकै आकाशमा उडाइनुलाई स्थानीयले भारतको हेपाहा प्रवृत्ति भन्दै आक्रोश व्यक्त गरेका छन्। ‘अनुमतिबिना हाम्रो सदरमुकामको अकाशमा भारतले हेलिकोप्टर उडाउनु हेपाहा प्रवृत्ति हो, यस्तो दादागिरी रोकिनुपर्छ,’ महाकाली नगरपालिका–४ का वडा अध्यक्ष पुष्करराज जोशीले भने। जयसिंहको खोजी महाकाली नदीमाथि ड्रोन उडाउन नदिने भारतले अनुमतिबिना सदरमुकाममाथि नै हेलिकोप्टर उडाएर दादागिरी शैली प्रस्तुत गरेको भन्दै स्थानीयले विरोध जनाएका छन्।  

एसएसबीले तुइन फुकालेर जय सिंहलाई नदीमा बगाएको घटनालगत्तै भारतले बिनाअनुमति सदरमुकामको अकाशमा हेलिकोप्टर उडाएको स्थानीयले विरोध जनाएका छन्। सरकारले कूटनीतिक रूपमा गर्नुपर्ने पहल गर्न नसकेको स्थानीयको भनाइ छ। ‘सरकार भारतसँग डराएको जस्तो कमजोर देखिएको छ, कूटनीतिक रूपमा भारतलाई सामान्य चिठी लेख्न पनि सरकारले सकेको देखिएन,’ कैलाली बहुमुखी क्याम्पसका प्राध्यापक डा. हेमराज पन्तले भने, ‘परराष्ट्र नीति एकदम कमजोर देखियो यो सरकारको असफलता हो।’

भारतसँग सामान्य आफ्नो दाबी राख्ने अर्थात् के भएको हो भनेर कूटनीतिक रूपमा पहल गर्न सरकारले सक्नुपर्ने उनको भनाइ छ। एसएसबीले तुइन फुकालेर जयसिंह नदीमा बगाइएको घटना र नेपाली आकाशमा अनुमतिबिना हेलिकोप्टर नउडाउने विषयमा नेपाल सरकारले कूटनीतिक रूपमा भारतसँग कुनै पहल नगरेको स्थानीयको गुनासो छ।

प्रकाशित: १९ भाद्र २०७८ ०१:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App