२३ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

बस दुर्घटनामा दुईको मृत्यु, ४१ घाइते

सुनकोसी गाउँपालिकाको ग्रामीण सडक सुकुटे–ठोकर्पा खण्डमा बुधबार यात्रु बस दुर्घटना हुँदा दुईको मृत्यु भएको छ। दुर्घटनामा ४१ यात्रु घाइते भएका छन्।  

सुनकोसी गाउँपालिका–३ स्थित छाप गाउँमा बा३ख ८०३० नम्बरको बस पल्टिँदा घाइते भएकामध्ये दुईको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मृत्यु हुनेमा ठूलोदुर्लुङ ललितपुरका ४०–४५ वर्षीय राजन बराम छन्। अर्को मृतक २०–२२ वर्षका पुरुषको सनाखत हुन सकेको छैन। दुर्घटनाका घाइते उनीहरुको काभ्रेको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी दक्षकुमार बस्नेतले बताए।  

उनका अनुसार घाइतेमध्ये १८ को जिल्लाकै खाडिचौरस्थित सिन्धु सदाबहार, २२ को धुलिखेल र एकको मध्यपुर ठिमी अस्पताल भक्तपुरमा उपचार भइरहेको छ। घाइतेमध्ये ६ को अवस्था केही जटिल रहेको छ। अरुको सामान्य अवस्थामा उपचार भइरहेको छ।  

सिन्धुपाल्चोकको वाफलबाट काठमाडौँ आउँदै गरेको उक्त बस मध्याह्न साढे ११ बजेतिर ओरालोमा घुुम्ति काट्ने क्रममा अनियन्त्रित भइ खसेको डिएसपी बस्नेतले जानकारी दिए। सडकबाट खसेको बस २०–२५ मिटर बल्ड्याङ खाँदै तल रुखमा पुगेर अड्किएको थियो। ‘चालकले ब्रेक फेल भएपछि अफ्ठेरो घुम्तिमा अनियन्त्रित भइ बस दुर्घटना भएको बताएका छन्। यस विषयमा अनुसन्धान भइरहेको छ,’ बस्नेतले भने। काभ्रे पोखरीचौँरी घर भएका बसका चालक ३५ वर्षीय दीपेन्द्र पाठक प्रहरी नियन्त्रणमा छन्। 

प्रकाशित: ९ भाद्र २०७८ १२:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App