खोटाङको हलेसी बजारबाट २९ हजारभन्दा बढीको म्याद नाघेका खाद्य सामग्री जफत गरेर नष्ट गरिएको छ। हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा रहेको हलेसीबजारका खाद्य तथा किराना पसलबाट २९ हजार ४९० रुपैयाँ मूल्यको म्याद नाघेका खाद्य सामग्री जफत गरेर नष्ट गरिएको हो।
जिल्ला प्रशासन कार्यालय खोटाङ, घरेलु तथा साना उद्योग कार्यालय, हलेसी तुवाचुङ नगरपालिका र ईलाका प्रहरी कार्यालय हलेसीको संयुक्त टोलीले शुक्रबार गरेको अनुगमनका क्रममा म्याद नाघेका बिस्कुट, चाउचाउ, पेप्सी, दाल, आँटा, पापड, ग्लुकोज, मसला, कुरमुरे, मसला लगायतका सामग्री जफत गरेको हो। जफत गरिएका अखाद्य सामग्री इलाका प्रहरी कार्यालयको परिषरमा नष्ट गरिएको छ।
कोभिड–१९ को महामारीका बीचमा हुनसक्ने कालोबजारी, मूल्यवृद्धि, कृत्रिम अभाव लगायतका विषयलाई लक्षित गर्दै अनुगमन गरिएको प्रशासनले जनाएको छ।
अनुगमन टोलीले व्यवसायीलाई म्याद नाघेका खाद्यबस्तु बिक्री वितरण नगर्न, दर्ता नगरिएका पसललाई तत्काल दर्ता गरेर मात्र व्यावसाय सञ्चालन गर्न अनुरोध गरेको छ। संक्रमणको महामारीका बेला सर्वसाधारणलाई ठगिनबाट जोगाउनका लागि बजार अनुगमन गरिएको जनाइएको छ। सहायक प्रमुख जिल्ला अधिकारी विकल श्रेष्ठ, उद्योग अधिकृत भेषराज खत्री, नगरपालिकाका अधिकृत रविकिरण आचार्य, प्रहरी निरीक्षक प्रमोद कार्की लगायतको टोलीले बजार अनुगमन गरेको हो।
यसबीचमा जिल्लाकै केन्द्र दिक्तेलबजारमा भने बजार अनुगमन गरिएको छैन।
प्रकाशित: ५ भाद्र २०७८ ०५:०३ शनिबार