१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

उहिलेका स्वास्थ्यकर्मी, अहिलेका नमुना नर्सरी किसान

जुम्ला पातारासी गाउँपालिका ६ का खड्क बुढा ग्रामिण स्वास्थ्य कार्यकर्ता हुन्।उनले डिल्लीचौर स्वास्थ्यचौकीमा लामो समय काम गरे। डिल्ली चौर स्वास्थ्यचौकीबाटै अवकाश भए। अहिले विभिन्न जातको विरुवा रोपेर नमुना नर्सरी धनी बनेका छन्। उनी यो क्षेत्रको एक नमुना किसान हुन्।  

स्वास्थ्य पेसाबाट आएको व्यक्तिले मेडिकल खोल्नु पर्ने हो। नीजि मेडिकल र अस्पताल तिर जागिर खोज्नु पर्ने हो। तर उनी स्वास्थ्य क्षेत्र चटक्कै छोडेर विरुवा उमार्न तिर लागे। उनी विरुवाको पालनपोषणमै केन्द्रीत छन्। पहिले स्वस्थ मान्छे हुनु पर्नेमा जोड दिन्थ्ये। अहिले स्वस्थ विरुवा उमार्न लागि परेका छन। ‘जो जतिसुकै ठुलो ओहोदामा पुगेपनि अन्तिममा हुनु पर्ने किसान नै हो।’ उनले भने, ‘त्यही भएर समयमै कृषि क्षेत्र अंगालेर व्यवसायीक किसानको परिचय दिनु उचित ठाँने। अहिले यो कार्यप्रति सन्तुष्ट छु। ’

खड्बहादुर ग्रामिण स्वास्थ्य कार्यकर्ता हुदैँ गर्दा पनि बचेको समय स्याउ ओखर र कृषि कर्मतिरै समय विताउन्थे। ‘स्वास्थ्यकर्मीको सानो जागिरले के पुग्थ्यो। खेतिकिसानी तिर लागेपछि परिवार पाल्न सकिएको छ,’उनले भने। अहिले खड्कबहादुरको महादेव फलफुल नर्सरी उद्योग छ।

स्वास्थ्य क्षेत्र र कृषि क्षेत्रलाई संगसंगै अघि बढाउदै आएका खड्क अहिले पातारासी गाउँपालिकाका नमुना नर्सरी उद्यमी हुन। उनको खेतबारीमा स्याउ, ओखर, अंगुर, विभिन्न जातको आरु, नास्पतिको विरुवा उम्रन्छ। २०५६ सालदेखि नर्सरी खेति अंगालेका उनले २०६८ साल देखि मात्र उद्योग दर्ता गरेर व्यवसायीक रुपमा लागेका हुन्। उनी अहिले कृषि क्षेत्रमै जिविकोपार्जन गरीरहेका छन्। उनीसँग अहिले स्याउका ३२ हजार र ओखरका ३ हजार विरुवा छन्। वर्षमा विरुवा बेचेर ८ लाख रुपैयाँ कमाउने गरेको खड्कबहादुर बताउँछन्। बेरोजगार बसेका छोराछोरी, ज्वाइ सबैलाई नर्सरी खेति तिरै लगाएका छन्।

७४ वर्ष पुगिसेकेका खड्क नर्सरी खेतिमा किशोर अवस्थाको जाँगरका साथ काम गर्छन्। उनी दिनरात नभनि काम गर्छन्। विभिन्न जातका विरुवा सँगै खेलिरहेका भेटिन्छन्। उनी विरुवालाई प्राण ठान्छन्। उनको आम्दानीको प्रमुख स्रोत पनि यही हो। ‘जागिरले बर्षदिनको खान,लगाउन पुग्दैनथ्यो। अहिले सहजै तरिकाले लुगा रोटीको व्यवस्थापन गर्न सकिएको छ।’ उनले भने,‘अब कृषि क्षेत्रको प्रवद्र्धनले मात्र समृद्ध नेपाल, सुखी नेपालीको नारा साकार पार्न सक्छ। नत्र त गफ मात्रै त हो।’

उनले विरुवा बेचेर छोरालाई सुव्वा सम्मको जागिरे बनाएका छन्। उनको छोरा अमृत बुढा नेपालगंजमा कार्यरत छन्। १५ जनाको परिवार विरुवा बेचेर धानिरहेको उनको अनुभव छ। उनले उमारेको विरुवा बझाङ, बाजुरा, अछाम, हुम्ला, मुगु, कालिकोट, डोल्पा, रुकुम रोल्पासम्म पुग्छ। किसान नर्सरीबारीमै पुगेर विरुवा लैजान्छन। कृषि ज्ञान केन्द्र, कृषि अनुसन्धान केन्द्र र कृषिसँग काम गर्ने निकायले उनबाट विरुवा लैजान्छन्। गुणस्तरीय विरुवा पाइने भएकोले किसान पनि विरुवा लिन उनको नर्सरीमै पुग्छन्।  

नर्सरीमा स्वस्थकर विरुवा पाइने भएकोले सबै किसानको रोजाई उनले उमारेको विरुवा पर्छ। गत वर्ष ६० हजार विरुवा उनले विक्री गरे। अधिकांस आफ्नै बारीको थियो। केही छिमेकी किसानसँग समन्वय गरेर विरुवा संकलन गरेका थिए। स्याउ प्रतिबोट ७० रुपैयाँ र ओखर प्रतिबोट ७ सय रुपैयाँमा बिक्रि भइरहेको छ। उनको एक छोरा आइटी पढ्छ। अर्को बिबिए र अर्को एक छोरा एकाउन्ट लिएर पढ्दैछ। यही विरुवा बेचेर बच्चाहरुको पठनपाठन गरिरहेको उनले बताए।

घरका बेरोजगार सबैलाई नर्सरीमा विरुवाको रेखदेख र संरक्षणमै खटाएका छन्। कान्छो छोरा आफुसँगै विरुवा उमारी रहेको खड्कबहादुर बताउँछन्। पहिले त्यो क्षेत्रमा उनी एक्लो नर्सरी धनी थिए। उनीबाटै जिल्लाभर विरुवा जान्थ्यो। बाहिर जिल्ला निर्यात पनि उनकै नर्सरीबाट हुन्थ्यो। उनको सिको गर्दै अहिले अन्यले पनि घरघरमा नर्सरी उद्यममा लागेका छन्। नर्सरीबाटै स्थानीय न्युनतम २० हजार देखि ८ लाख रुपैयाँसम्म कमाउदै आएका छन्। यो गाउँले बर्षेनी विरुवा बेचेर करोडौँ भित्र्याउँछन्।

प्रकाशित: २ भाद्र २०७८ ०६:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App