१३ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

हिलाम्मे सडकका कारण एम्बुलेन्स सेवा प्रभावित

हिलाम्मे सडकमा एम्बुलेन्स नचल्दा विरामीलाई सास्ती

वर्षाका कारण कच्ची सडक हिलाम्मे हुँदा खोटाङमा एम्बुलेन्स सेवा प्रभावित भएको छ। हिउँद याममा सञ्चालन हुने जिल्लाका दर्जनौं सडक वर्षाका कारण अवरुद्व हुँदा एम्बुलेन्स आवत–जावतमा कठिनाइ भएको हो। सडक अवरुद्व हुँदा १० स्थानीय तहमा बिरामी ओसार–पसारमा प्रयोग हुँदै आएको एम्बुलेन्स सेवा प्रभावित भएको हो। वर्षा याममा कच्ची सडकमा विभिन्न स्थानमा पहिरो खस्ने र कतिपय ठाउँ भासिने गरेका कारण एम्बुलेन्स सञ्चालन असहज भएको ऐसेलुखर्क गाउँपालिकाकी उपाध्यक्ष पुष्पकला भुजेलले जानकारी दिइन्। 

‘हाम्रो गाउँपालिकाभित्र एम्बूलेन्स आवत–जावतमा समस्या छैन। हाम्रो गाउँपालिबाट रावाबेँसी गाउँपालिका पार गर्नेक्रममा समस्या छ,’ उपाध्यक्ष भुजेलले भनिन्, ‘केही दिनअघि मात्र हामी दिक्तेलबाट नुनथला कुभिण्डेको बाटो हिँड्दा गाडी हिँड्न नसकेर पुन: बिजुले–लामीडाँडा हुँदै पालिका फर्किएका थियौँ।’ जिल्लामा बनेका दर्जनौं कच्ची सडकमध्ये हाल मध्यपहाडी लोकमार्ग अन्तर्गत दिक्तेल–दोर्पाचिउरीडाँडा र दिक्तेल–जयराम सडक मात्र सञ्चालनमा छन्। मध्यपहाडी लोकमार्गको कालोपत्रे गरिसकिएका खण्डमा मात्र वर्षभरि सवारी साधन सञ्चालन हुने अवस्था बनेको छ। तर, जिल्लाका अन्य सहायक तथा शाखा कच्ची सडकमा ट्याक्टर बाहेक अन्य सवारी साधन गुड्ने अवस्था छैन।  

सडकमा हिलो जमेपछि र कतिपय ठाउँमा पहिरो खस्दा उत्तरी क्षेत्रमा पर्ने ऐसेलुखर्क, केपिलासगढी र रावाबेँसी गाउँपालिकाकामा सञ्चालित एम्बुलेन्स सेवा प्रभावित भएको छ। यस्तै, दक्षिणी क्षेत्रका खोटेहाङ, जन्तेढुंगा, दिप्रुङ चुईचुम्मा, बराहपोखरी र साकेला गाउँपालिकामा सवारी साधनलाई ठेल्दै अप्ठ्यारो बाटो कटाउनुपर्ने वाध्यता छ। मध्यपहाडी लोकमार्गले छोएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र हलेसी तुवाचुङ नगरपालिकाका अन्य शाखा सडकको अवस्था पनि उस्तै नाजुक छ। 

वर्षाका कारण बनेको खाल्डाखुल्डीका कारण एम्बुलेन्सले चाहेको समयमा बिरामीलाई स्वास्थ्य संस्थामा पुर्‍याउन कठिन भइरहेको छ। कतिपय ठाउँमा घण्टौंसम्म एम्बूलेन्स हिलोमा फस्ने गरेको छ। कच्ची बाटो बिग्रेकाले एम्बूलेन्स लगायतका सवारी साधन सञ्चालनमा कठिन भइरहेको रावाबेँसी गाउँपालिकाका अध्यक्ष लिलानाथ निरौलाले बताए। ‘वर्षा याममा कच्ची बाटो बिग्रेर सार्‍है समस्या छ,’ अध्यक्ष निरौलाले भने, ‘बिग्रे/भत्केका बाटो जेसिभिले खोल्दै सञ्चालनमा ल्याउने गरिएको छ। अत्याधिक संकट छ।’ मोटर साईकल समेत हिलोमा गाडिएका तस्बिर सामाजिक सञ्जालमा राखेर स्थानीय तहका जनप्रतिनिधिमाथि आक्रोश पोख्ने गरिएको छ।  

जिल्लाका १० स्थानीय तहमध्ये धेरैजसो स्थानीय तहमा खोटाङ सेवा समाज यूके, भारतीय दुतावास, खोटाङ सेवा समाज दोहा कतार, विभिन्न दाता तथा स्वयं स्थानीय तहले खरिद गरेको एम्बुलेन्स सञ्चालनमा छन्। रावाबेँसी गाउँपालिकामा भने स्वदेश तथा विदेशमा रहेका रावाबेँसी गाउँपालिका–६ हौंचुरका युवा र सोही गाउँपालिकाको संयुक्त लगानीमा खरिद गरिएको एम्बुलेन्स सञ्चालनमा छन्। बराहपोखरी र ऐसेलुखर्क गाउँपालिकाले केही समयअघि मात्र एम्बूलेन्स खरिद गरेको छ। 

खोटाङ सेवा समाज यूकेले २०७३ साल चैत्र २६ गते खोटाङलाई एकैसाथ ७ वटा एम्बूलेन्स हस्तान्तरण गरेको थियो। तर, कच्ची सडकको स्तरोन्नती नहुँदा जिल्लामा उपलव्ध एम्बूलेन्स सञ्चालनमा असहज भइरहेको छ। बिरामीलाई अस्पताल पुर्‍याउने क्रममा हेलिकोप्टर चार्टर गर्नुपर्ने वाध्यताका कारण कुनै समय खोटाङलाई ‘दुई लाख सिरानीमा राख्नुपर्ने’ जिल्लाका रुपमा चिनिन्थ्यो। हाल दर्जन एम्बुलेन्सका कारण अस्पताल पुग्ने सहज वातावरण बनेको एम्बुलेन्स अनुगमन समितिका सचिव टंक थापाले बताए। 

प्रकाशित: १ भाद्र २०७८ ०६:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App