१ मंसिर २०८३ मंगलबार
image/svg+xml
समाज

सर्लाहीमा कार र अटो ठोक्किँदा ६ जना घाइते

सर्लाहीको पर्सा गाउँपालिका-१ शीतलपुरस्थित सडकखण्डमा कार र अटो एक-आपसमा ठोक्किँदा अटो चालकसहित ६ जना घाइते भएका छन्। घाइतेमध्ये ७ वर्षीय बालकसहित दुई जनाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ।

मंगलबार बिहान १०:२० बजे महोत्तरीको सम्सीबाट शीतलपुरतर्फ जाँदै गरेको बा २१ च ३०१५ नम्बरको कार फर्काउने क्रममा सोही दिशाबाट आउँदै गरेको ज १ ह ३७४५ नम्बरको अटोसँग ठोक्किएर दुर्घटना भएको हो।

दुर्घटनालगत्तै घाइतेहरूलाई उपचारका लागि महोत्तरीको रघुनाथपुरस्थित आरबी अस्पताल लगिएको थियो। तीमध्ये महोत्तरीको सम्सी गाउँपालिका-७ का ६० वर्षीय राजकिशोर साह र सर्लाहीको मलंगवा नगरपालिका-१२ गमरियाकी २८ वर्षीया रेनु देवी साहका ७ वर्षीय छोरा मुरारी साहको अवस्था गम्भीर रहेकाले काठमाडौं रिफर गरिएको छ।

यस्तै, दुर्घटनामा अटो चालक महोत्तरीको सोनमा गाउँपालिका-५ का ३५ वर्षीय रविन्द्र यादव, सर्लाहीको कौडेना गाउँपालिका-६ सकरौलका २१ वर्षीय जसविन्द्र मुखिया र मलंगवा नगरपालिका-७ मुसैलीकी १६ वर्षीया अम्बिका यादव घाइते भएका छन्।

बालक मुरारीकी आमा २८ वर्षीया रेनु देवी साहलाई सामान्य चोट लागेको र उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

प्रहरीले कार चालक महोत्तरीको सोनमा गाउँपालिका-३ रघुनाथपुरका ५१ वर्षीय मनोज कुमार साहलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित: १ मंसिर २०८३ १५:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App